सूर्यदर्शन ठगी प्रकरण : ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीसँग २० लाख धरौटी माग

जेष्ठ ८, २०८२

नारायण शर्मा

Suryadarshan fraud case: Demand 2 million bail from Dhorpatan Municipality Mayor Dev Kumar Nepali

पोखरा — पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी अभियोगमा जिल्ला अदालत कास्कीले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसँग २० लाख धरौटी मागेको छ ।

जिल्ला अदालत कास्कीका सूचना अधिकारी दामोदर आचार्यका अनुसार न्यायाधीश कृष्णजंग शाहको इजलासले मेयर नेपालीसँग २० लाख धरौटी माग गर्ने आदेश दिएको हो । नेपालीले धरौटी रकम बुझाउन नसकेपछि बागलुङ कारागार पठाइएको छ । अदालतले गत मंगलबार यो फैसला गरेको हो ।

सूर्यदर्शन सहकारीको उपाध्यक्ष रहेका बेला नेपालीको खातामा ७७ लाख ५० हजार नगद कानुनविपरीत गएको छानबिनका क्रममा पाइएको हो । नेपालीले सहकारी ऐनविपरीत लगेको रकम फिर्ता नगरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएर मुद्दा हालेको थियो ।

सूर्यदर्शन सहकारीका तत्कालीन अध्यक्ष जीबी राईसँग आर्थिक विवाद भएपछि नेपालीले पोखराको सूर्यदर्शन सहकारी छोडेका थिए । त्यसपछि मेयर नेपालीले पोखरा र आफ्नो कर्मथलो बागलुङमा छुट्टाछुट्टै इमेज बचत तथा ऋण सहकारी संस्था गठन गरेका थिए ।

उनी ढोरपाटन नगरपालिकामा एमालेबाट मेयर बनेका थिए । नेपालीविरूद्ध इमेज बचत तथा ऋण सहकारी संस्था ठगीको अभियोगमा मुद्दा चलिरहेको छ ।

पोखरा र बागलुङमा गरी दुइटा सहकारीबाट नेपालीले २ अर्ब ठगी गरेर बचतकर्ताको बिचल्ली पारेका छन् । 

छानबिनका क्रममा सहकारी ठगी अभियोग लागेपछि मेयर नेपाली १६ महिना भारतमा लुगेर बसेका थिए । नेपाल प्रहरीले उनलाई गत असोज ११ गते नयाँ दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको हो । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully