काठमाडौँ — सत्तारुढ जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री अशोककुमार राईले निजामती सेवामा दलगत ट्रेड युनियन राख्न नहुने बताएका छन् । खरदारले सहसचिवलाई सचिव बनाउने भनी नेताहरूको घर-घरमा लिने गरेको विकृत दृश्य देखेको उल्लेख गर्दै राईले आधिकारिक ट्रेड युनियन मात्रै राख्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन् ।
राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा सांसद राईले उक्त धारणा राखेका हुन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा उनले दलगत ट्रेड युनियन राख्न नहुने बताएका हुन् ।
राजनीतिक दलगत ट्रेड युनियनमा रहेकाहरू काम नगर्ने तर शक्तिको दुरुपयोग गर्ने गरेको राईको भनाइ थियो । 'ट्रेड युनियनको मामिलामा हेर्नुपर्छ । एउटा खरदारले सहसचिवलाई सचिव बनाउन डोर्याएर हिँडेको मेरै आँखाले देखेको छु । नेताहरूको घरघरमा डोर्याउँदै हिँडेको देखेको छु,' उनले भने, 'एउटा आधिकारिक ट्रेड युनियन राख्नुपर्छ ।'
विधेयकमा भने अधिकांश सांसदको धारणा विपरीत ट्रेड युनियनका नेताहरूको दबाबमा दिलेन्द्रप्रसाद बडू संयोजकत्वको उपसमितिले विद्यमान अवस्थामा रहेको ट्रेड युनियनलाई नै कायम राख्नुपर्ने व्यवस्था यथावत राखेका छन् । सांसदहरूले भने राज्यसञ्चालक कर्मचारीको राजनीतिक दलको भ्रातृ संस्थाजस्तो ट्रेड युनियन बनाउन नहुने बताउँदै आएका छन् ।
