अन्तर्राष्ट्रियस्तरमा द्वन्द्व अन्त्यका लागि बुद्धका सन्देश महत्त्वपूर्ण : प्रधानमन्त्री ओली

वैशाख २९, २०८२

दीपेन्द्र बडुवाल

Buddha's message is important for ending conflict at the international level: Prime Minister Oli

भैरहवा — प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध शिक्षालाई आत्मसात गरेरै अन्तर्राष्ट्रियस्तरमा बढिरहेको द्वन्द्व अन्त्यका लागि नेपालले अनुरोध गरिरहेको बताएका छन् ।

'गत साता भारत–पाकिस्तानबीच तनाव उत्पन्न हुँदा पनि हामीले शान्ति कायम गर्न अनुरोध गर्यौँ,' उनले भने, 'हाम्रो अनुरोधपछि भारत–पाकिस्तानको लडाइँ रोकियो ।' बुद्ध शिक्षाको महत्त्व अहिले पनि व्यक्ति, परिवार र मुलुकका लागि अपरिहार्य रहेको उनले बताए । अहिले विश्वमा आम विध्वंसका हतियार निर्माण गरिनु खतरनाक भएकाले त्यसबाट उन्मुक्तिका लागि पनि विश्व शान्तिको पक्षमा लाग्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले हरेक वर्ष लुम्बिनीमा बुद्ध जयन्ती मनाउँदा हलको अभाव देखेपछि आफूले पहल गरेर ५ हजार जना अट्ने अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण गरेपनि बोलेको कसैले नसुन्ने बनेकोमा आलोचना गरे । अगाडि दर्शकले केही नसुन्ने हल बनेको उनको टिप्पणी थियो । 

२५६९ औं बुद्ध जयन्तीका अवसरमा सोमबार मध्याह्न लुम्बिनीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले २०७३ सालदेखि स्थायी प्रकृतिको हल निर्माण गर्ने आफ्नो प्रयासले मूर्तरुप पाएपनि वक्ताले बोलेको अड्कल गर्नुपर्ने अवस्था अन्त गर्न जोड दिए । एक वर्ष हलमा अतिरिक्त निर्माण गरेर भएपनि बोलेको सुनिने बनाउन लुम्बिनी विकास कोषलाई निर्देशन दिए । 

सोमबार बिहान जहाजबाट रुपन्देही आएका प्रधानमन्त्रीले समारोह अगाडि मायादेवी मन्दिरमा पूजा गरेका थिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययनका साथै चिन्तन–मननको केन्द्र बनाउन प्रतिबद्व रहेको बताए । 'लुम्बिनी गुरुयोजना पूरा गर्न तत्पर छौं,' उनले भने, 'लुम्बिनीका साथै बृहत्तर लुम्बिनी क्षेत्रको विकास योजना लागू गर्न प्रतिबद्ध छौं ।' लुम्बिनीप्रति स्थानीयको अपनत्व भाव वृद्धि गरेर अगाडि बढ्न भूमिका खेल्ने उनले बताए । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध दर्शनको महत्त्व दिन प्रतिदिन बढिरहेको बताए । 'आजको दिनमा बुद्ध शिक्षालाई अझ व्यापक बनाउन जरुरी छ,' उनले भने । लुम्बिनी विश्वको आस्थाको केन्द्र भएपनि यहाँ पर्यटक ल्याउनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । 'पर्यटनमन्त्री र प्रधानमन्त्रीले विमानस्थल चलाउन भूमिका खेलिदिनु पर्‍यो,' उनले भने, 'लुम्बिनी आउन चाहने बुद्धका अनुयायीलाई कुनै बाधा नपरोस् भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्‍यो ।'

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहरक्याल लामाले पवित्र दिनको स्मरण गर्दै बुद्धका सन्देशलाई विश्वभर फेलाउन प्रयास गरिरहेको बताए । अहिले विश्वमा भइरहेका हत्या, हिंसाको अन्त्यको सन्देश दिन बुद्धजयन्ती मनाउने गरिएको उनको भनाइ थियो । आगामी वर्ष बुद्ध जयन्तीलाई अझै व्यापक बनाउन सरकारसित उनले माग गरे ।

मूल समारोहमा सहभागी संयुक्त राष्ट्रसंघका अवासीय प्रतिनिधि, नेपालका लागि चीन, भारत र थाइल्यान्डका राजदूतले शुभकामना प्रदान गरेका थिए । उनीहरूले वर्तमान विश्वमा शान्ति कायम गर्न बुद्धका सन्देशको महत्त्व रहेको बताए । साथै वर्षौंदेखि लुम्बिनीको विकासका लागि गरिरहेको सहकार्य कायम राख्ने बताए । युद्धले विध्वंसमात्र निम्ताउने भएकाले अन्तर्राष्ट्रियस्तरमा बढिरहेको अस्थिरताप्रति चिन्ता व्यक्त गरेका थिए । 

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा बुद्धजयन्ती मनाउने गरिएको छ । यस वर्ष लुम्बिनी विकास कोषले तीन दिन विभिन्न कार्यक्रम आयोजना गरेर बुद्ध जयन्ती मनाइरहेको छ । बुद्ध जयन्तीको पूर्वसन्ध्यामा आइतबार साँझ मायादेवी मन्दिरमा दीप प्रज्वलन गरिनुकासाथै परित्राण पाठ गरिएको थियाे । उक्त कार्यक्रममा लुम्बिनीमा रहेका विभिन्न विहारले पूजापाठ र ध्यान गरेका थिए ।

दीपेन्द्र

Link copied successfully