काठमाडौँ — सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने प्रधानमन्त्री ओलीको भनाइ, सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट बहुमतले पारित, प्रिन्टिङ मेसिनमा समस्या आएपछि रोकियो लाइसेन्स छपाइदेखि चालु आर्थिक वर्षको ९ महिनामा झन्डै १२ खर्ब रेमिट्यान्स भित्रियोसम्मका खबर आज चर्चामा रहे ।
000
प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकार गठनका बेला संविधानको समीक्षा गर्ने प्रतिबद्धता, त्यसका सबल पक्षलाई सुदृढ गर्दै कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्च्याउने प्राथमिकताको स्मरण गर्दै उनेले संविधान संशोधनको प्रतिबद्धता व्यक्त गरेका हुन् ।
000
सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पारित भएको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभाको आइतबारको बैठकलेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
000
यातायात व्यवस्था विभागले अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ बन्द गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै विभागले प्रिन्टिङ मेसिनमा समस्या आएका कारण लाइसेन्स छपाइ कार्य बन्द भएको जानकारी गराएको हो । अध्ययन तथा रोजगारीमा विदेश जाने नेपाली, शान्ति सेना, नेपाल प्रहरी र गैरआवासीय नेपालीका लागि हुँदै आएको लाइसेन्स छपाइ बिहीबारदेखि बन्द भएको जनाइएको छ ।
000
चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) रेमिट्यान्समार्फत ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १० प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले जनाएको छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १७।२ प्रतिशतले बढेको थियो ।
000
बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाएको छ । आतंकवादविरोधी कानुनअन्तर्गत उक्त निर्णय लिइएको सरकारले दाबी गरेको छ । मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले अवामी लिगका सबै गतिविधिमाथि प्रतिबन्ध लगाएको हो । अवामी लिगका नेता कार्यकर्ताहरूलाई सामाजिक सञ्जाललगायतका अनलाइन प्लाटफर्ममा विभिन्न प्रचारप्रसार गर्न प्रतिबन्ध लगाइएको छ ।
