काठमाडौँ — सोमबार कान्तिपुरमा अहिलेकै अवस्थामा स्वास्थ्य बिमा कार्यक्रम चल्न नसक्ने स्वास्थ्यमन्त्री प्रदीप पौडेलको भनाइदेखि विदेशी फिल्ममाथि शतप्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशसम्मका समाचार छापिएका छन् ।
आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि ३७ वटा संशोधन प्रस्ताव परेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरूमा ३७ वटा संशोधन प्रस्ताव आएको जानकारी दिए । संसद्मा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि परेका संशोधनमाथि आजदेखि सुरू भएको छलफलमा प्रतिपक्ष सांसदले असन्तुष्टि जनाएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा अहिलेकै अवस्थामा चल्न नसक्ने हुँदा यसलाई दिगो बनाउनेबारे मन्त्रालयले योजना बनाएको बताएका छन् । सोमबार भरतपुरको सरकारी अस्पतालको क्याथ ल्याबसहितका सेवाको उद्घाटनपछि मन्त्री पौडेलले भने, ‘हामीलाई १० अर्ब रुपैयाँको सिलिङ दिइएको छ । तर यसरी नै बिमा चलाउने हो भने ४० अर्ब रुपैयाँ चाहिन्छ ।’
चालु आर्थिक वर्षमा तीन प्रतिशत ब्याजदरमा ६६१ जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आइतबार सूचना जारी गर्दै ६६१ उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको हो। कर्जाका लागि सिफारिस भएका उद्यमीहरूले आगामी ४५ दिनभित्र तोकिएको बैंकको शाखा कार्यालयमा सम्पर्क नगरे परियोजना प्रस्ताव र सिफारिस रकम स्वतः रद्द हुने प्रतिष्ठानले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका बाहिर बनेका सबै फिल्ममा शतप्रतिशत कर लगाउने आदेश दिएका छन् । अमेरिकी फिल्म निर्माता र स्टुडियोले विदेशमा काम गर्ने प्रवृत्ति बढेकाले हलिउड ‘विनाश’ भइरहेको दाबी गर्दै उनले नयाँ करको घोषणा गरेका हुन् । आक्रामक व्यापार नीतिका कारण ट्रम्प प्रशासनको बढ्दो आलोचना भइरहेका बेला ट्रम्पले नयाँ कर घोषणा गरेका हुन् ।
त्यस्तै नेपाल क्रिकेट संघ(क्यान) ले क्रिकेटर मोहम्मद आदिल अन्सारीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । क्यान प्रवक्ता छुम्बी लामाका अनुसार वैशाख २१ गतेदेखि लागू हुनेगरी उनीमाथि लागेको प्रतिबन्ध फुकुवा गरिएको हो ।
क्यान इन्टेग्रिटी कमिटीको प्रतिवेदनमा आधारमा क्यानले प्रतिबन्ध फुकुवा गरेसँगै आदिलले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् । उनीमाथि २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म आयोजित नेपाल टी(२० लिग प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो ।
