६६१ उद्यमीले पाउने भए स्टार्टअप कर्जा [सूचीसहित]

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

661 Entrepreneurs Should Get Startup Loans [With List]

काठमाडौँ — चालु आर्थिक वर्षमा तीन प्रतिशत ब्याजदरमा ६६१ जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आइतबार सूचना जारी गर्दै ६६१ उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको हो।

कर्जाका लागि सिफारिस भएका उद्यमीहरूले आगामी ४५ दिनभित्र तोकिएको बैंकको शाखा कार्यालयमा सम्पर्क नगरे परियोजना प्रस्ताव र सिफारिस रकम स्वतः रद्द हुने प्रतिष्ठानले जनाएको छ। कुन उद्यमी कुन बैंकको कुन शाखामा जाने भन्ने सूचना आगामी बिहीबारसम्म प्रकाशन गरिने प्रतिष्ठानद्वारा जारी सूचनामा उल्लेख छ।

चालु आर्थिक वर्षको बजेटमा स्टार्टअप कर्जा प्रवाहका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार विनियोजित बजेटबाट ३ प्रतिशतसम्म प्रतिष्ठानको प्रशासनिक खर्च, कर्जा सुरक्षा (बिमा) का लागि २५ प्रतिशत निक्षेप तथा कर्जा सुरक्षा कोषमा र बाँकी रकम उद्यमीहरूलाई प्रवाह गरिनेछ। ‘प्रतिष्ठानको प्रशासनिक खर्चका लागि ३ करोड, कर्जा सुरक्षाका लागि १९ करोड ४० लाख र बाँकी ७७ करोड ६० लाख रुपैयाँ कर्जा बिना धितो वितरण गरिनेछ,’ मन्त्रालय स्रोतले भन्यो।

प्रतिष्ठानले उद्यमीलाई न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा वितरण गर्नेछ। गत आर्थिक वर्षमा प्रतिष्ठानले १६५ उद्यमीलाई २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। गत वर्ष कर्जा पाएका उद्यमीहरूले १ करोड ८० लाख रुपैयाँ फिर्ता गरिसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गत वर्ष कर्जा पाएका उद्यमीहरूले औसतमा ४ देखि ५ जनालाई रोजगारी दिइरहेका छन्।

व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान/भ्याट दर्ताको सक्कल, उद्यमीको नागरिकताको सक्कल, आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको फोटो, व्यवसायको छाप, परियोजना लिज/भाडामा सञ्चालनमा रहेको भए सम्झौताको प्रतिलिपि तथा व्यवसायको प्रकृति अनुसार अन्य निकायबाट लिनुपर्ने अनुमति पत्र लिएर तोकिएको बैंक शाखामा जानुपर्नेछ।

प्रतिष्ठानले गत भदौ ११ मा कर्जा प्रवाहका लागि परियोजना प्रस्ताव आह्वान गरेको थियो। त्यति बेला अनलाइन र भौतिक रूपमा उपस्थित भई ५ हजार १५८ उद्यमीले प्रस्ताव दर्ता गरेका थिए। तीमध्ये पुस १९ मा १ हजार ३१४ उद्यमी परियोजनाको प्रस्तुतीकरणका लागि छनोट भएको प्रतिष्ठानले जनाएको छ। छनोट भएकामध्ये १,०७३ उद्यमीहरूले पुस अन्तिम सातादेखि चैतको दोस्रो सातासम्म परियोजना प्रस्तुतीकरण गरेका थिए।

छनोट भएका परियोजनाको प्रस्तुतीकरण र बैंकबाट क्रेडिट अप्रेजल भई प्राप्त अंकभारको ५० प्रतिशतभन्दा बढी ल्याउने उद्यमीलाई प्राथमिकताका आधारमा कर्जा प्रवाहका लागि सिफारिस गरिएको प्रतिष्ठानको सूचनामा उल्लेख छ। प्रस्तावकर्ताहरूको व्यवसायको फोटो, भिडियो, वित्तीय विवरण तथा अन्य विवरण प्रस्तुतीकरण र मूल्यांकन समितिको प्रश्नोत्तरलाई समेत आधार मानी प्रतिष्ठानले गठन गरेको मूल्यांकन समितिले मूल्यांकन गरेको हो।

‘प्रस्तुतीकरणमा उपस्थित भएका प्रस्तावकहरूको मूल्यांकन समितिको औसत अंकभार र बैंकबाट क्रेडिट अप्रेजल गरी प्राप्त भएको अंकभार जोडेर कुल अंकभार निकालिएको,’ प्रतिष्ठानद्वारा सूचनामा उल्लेख छ, ‘कुल अंकभारलाई आधार लिई कम्तीमा ५० प्रतिशत अंक प्राप्त गर्ने प्रस्तावकलाई प्राथमिकताको आधारमा अन्तिम छनोट गरिएको हो।’

यी परियोजनाले पाउनेछन्, स्टार्टअप कर्जा 

कान्तिपुर

Link copied successfully