काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान) ले क्रिकेटर मोहम्मद आदिल अन्सारीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । क्यान प्रवक्ता छुम्बी लामाका अनुसार वैशाख २१ गतेदेखि लागू हुनेगरी उनीमाथि लागेको प्रतिबन्ध फुकुवा गरिएको हो ।
क्यान इन्टेग्रिटी कमिटीको प्रतिवेदनमा आधारमा क्यानले प्रतिबन्ध फुकुवा गरेसँगै आदिलले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
उनीमाथि २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म आयोजित नेपाल टी-२० लिग प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो । त्यसपछि एन्टी-करप्सन कोडबमोजिम उनीमाथि प्रतिबन्ध लगाइएको थियो ।
तर २०८० चैतमा जिल्ला अदालत काठमाडौंले आदिल र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित ५ जनालाई सफाइ दिएको थियो । उनीहरूमाथि स्पट फिक्सिङ गरेको पर्याप्त प्रमाण र दाबी नपुगेको भन्दै अदालतले सफाइ दिएको हो ।
