आज देश-दुनियाँमा के-के भयो ?

वैशाख २१, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — १६ घण्टापछि एकतर्फी खुल्यो दाउन्ने सडकखण्ड, केआईआईटीमा विद्यार्थी पठाउन बन्द गराउन सांसदहरूको माग, नियम मिच्ने पाँच बैंक राष्ट्र बैंकको कारबाहीमादेखि इजरायली विमानस्थलमा क्षेप्यास्त्र प्रहारसम्मका खबर आज चर्चामा रहे । 

 ०००

आइतबार बिहान २ बजेदेखि अवरुद्ध  महेन्द्र राजमार्गअन्तर्गत दाउन्ने सडक १६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको  छ । जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार आज दिउँसो घाम लागेका कारण हिलाम्मे राजमार्गमा ग्राभेल राखेर राजमार्ग एकातर्फी सञ्चालनमा ल्याएको हो । आइतबार बिहान २ बजेबाट दाउन्ने र आसपासको क्षेत्रमा वर्षा भएपछि यातायात अवरुद्ध भएको थियो । 

०००

राष्ट्रिय सभाका सदस्यहरूले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने माग गरेका छन् । साथै त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’  दिन नहुनेमा उनीहरूले जोड दिएका छन् । राष्ट्रिय सभाको आजको बैठकको आकस्मिक समयमा उनीहरूले केआईआईटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।  

०००

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । सो अवधिमा आफ्नो निर्देशनविपरीत काम गरेको भन्दै नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य, कुमारी बैंक, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल बैंक गरी पाँच वटा वाणिज्य बैंकलाई कारबाही गरेको हो । कारबाहीमा परेका बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकलाई कर्जालाई सुक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाको जोखिम भार गणना गर्दा नियम पालना नभएको भन्दै कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।  

०००

पहलगाम आक्रमणपछि बढ्दो भारत पाकिस्तान तनावका बीच अब पाकिस्तानले इन्डियन प्रिमियर लिगको प्रशारण बन्द गरेको छ । शुक्रबार साँझदेखि नै पाकिस्तानमा आईपीएल प्रशारण बन्द हुनेछ । पहलगाम आक्रमणपछि दुवै देशले एक अर्काविरुद्ध ठोस कदम उठाएका छन् । 

०००

यमनबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र आइतबार इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खसेको इजरायली अधिकारीहरूले बताएका छन् । इजरायली सेनाले तेल अभिवबाहिर बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । यमनस्थित हुथी विद्रोहीले शृंखलाबद्ध रूपमा इजरायली भूमिलाई लक्षित गरी आक्रमण गर्दै आएको भए पनि पछिल्लो क्षेप्यास्त्र आक्रमणको जिम्मेवारी भने कसैले लिएको छैन ।  

कान्तिपुर

Link copied successfully