नियम नमान्ने पाँच बैंक राष्ट्र बैंकको कारबाहीमा

वैशाख २१, २०८२

कान्तिपुर संवाददाता

Five banks that do not follow the rules in the action of Rashtra Bank

काठमाडौँ — नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । सो अवधिमा आफ्नो निर्देशनविपरीत काम गरेको भन्दै नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य, कुमारी बैंक, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल बैंक गरी पाँच वटा वाणिज्य बैंकलाई कारबाही गरेको हो ।

कारबाहीमा परेका बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकलाई कर्जालाई सुक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाको जोखिम भार गणना गर्दा नियम पालना नभएको भन्दै कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा भएका कतिपय व्यवस्थाको पूर्ण पालना नगरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएका राष्ट्र बैंकले  जनाएको छ ।

यस्तै, लक्ष्मी सनराइज बैंकले नियमअनुसार निष्क्रिय कर्जालाई वर्गीकरण नगरेको र न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको भन्दै सो बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत बनाएको छ ।

यस्तै, राष्ट्र बैंकको कारबाहीमा पर्ने अर्को बैंक लक्ष्मी सनराइज हो । यस बैंकका सञ्चालक, चुक्ता पुँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको व्यक्ति, कार्यकारी प्रमुख वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा म्यानेजिङ एजेन्ट वा सञ्चालक मनोनीत गर्ने अधिकार पाएको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको उल्लेख्य स्वामित्व वा वित्तीय स्वार्थ भएको कुनै फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न बन्देज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

उक्त बैंकको संस्थापकको सोही बैंकमा कल खाता तथा चालु खाता सञ्चालन हुँदै आइरहेकोमा चालु खातामा विभिन्न मितिमा दैनिक मौज्दात रकम ऋणात्मक रही नियमविपरीत अप्रत्यक्ष रुपमा कर्जा सुविधा उपलब्ध गराएको भन्दै राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिइएको छ ।

रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजनाबीच प्रभावकारी तादात्म्यता गराउन नसकेको भन्दै राष्ट्र बैंकले नेपाल बैंकलाई पनि कारबाही गरेको छ । यस्तै, समयमै कर्जा स्वीकृति तथा नविकरण गराउन नसकेको, उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीबीच आपसी समन्वय गर्न/गराउन नसकेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

यस्तै, सोही बैंकका सञ्चालक समितिका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न रहको भन्दै राष्ट्र बैंकले पाँच लाख रुपैयाँ जरिवाना गरेको छ । यो कारबाहीसँगै अधिकारी बैंकको सञ्चालक पदबाट बर्खास्त भएका छन् ।

यस्तै, तोकिएको उत्पादनशिल (कृषि, ऊर्जा, लघु एवं साना तथा मझौला) क्षेत्रमा न्यूनतम कर्जा प्रवाह नभएको भन्दै राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५ सय ६६ रुपैयाँ जरिवाना गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully