कामीरिता शेर्पा ३१ औं र लाक्पा शेर्पा ११ औं पटक सगरमाथा चढ्दै

सोलुखुम्बु थामेका कामीरिताले हालसम्म सबैभन्दा धेरै ३० पटक अनि संखुवासभा मकालु जन्मथलो भइ हाल अमेरिकामा बस्दै आएकी ल ले महिलातर्फ सर्वाधिक १० पटक सगरमाथा आरोहण गरिसकेकी छन् ।

वैशाख २१, २०८२

सुरज कुँवर

Kamirita Sherpa climbing Mt. 31st and Lakpa Sherpa 11th time

काठमाडौँ — विश्वभरका हिमाल प्रेमीहरूको ध्यान यतिबेला सोलुखुम्बु थामेका ५५ वर्षीय कामीरिता शेर्पा र संखुवासभा मकालुकी ५१ वर्षीया लाक्पा शेर्पामाथि केन्द्रित छ ।

‘एभरेष्टम्यान’ उपनामले विश्वभर कहलिएका ‘हाई अल्टिच्युड माउन्टेन गाइड’ कामीरिता शेर्पा आफ्नो ३० औं पटकको सगरमाथा आरोहणको विश्व कीर्तिमान तोड्ने लक्ष्यसहित यतिबेला सगरमाथा आधार शिविरमा छन् ।

त्यस्तै ‘पर्वतकी रानी’ उपनामले अलपाइन क्षेत्रमा कहलिएकी हाल अमेरिकामा बस्दै आएकी लाक्पा आफ्नो १० औं पटकको कीर्तिमान तोड्न नेपाल आएकी छन् ।

‘यतिबेला म सगरमाथा आधारशिविरतर्फ उक्लिँदै छु’, लाक्पाले कान्तिपुरसँग भनिन्, ‘यसपटक सगरमाथा आरोहण मेरो ११ औं पटकका लागि हुँदै छ ।’ 

उनी संसारमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने महिला आरोही हुन् । लाक्पा सगरमाथा आरोहणपछि सफलतापूर्वक फर्किने पहिलो नेपाली महिला आरोही हुन् भने पासाङ ल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । तर आरोहण सकेर फर्किने क्रममा पासाङको बाटोमै निधन भएको थियो । लाक्पाले यसअघि आठ पटक उत्तरी मोहोडाबाट र दुई पटक नेपालतर्फको दक्षिणी मोहोडाबाट सगरमाथा आरोहण गरिसकेकी छन् ।

यता नेपालमा बसेर हिमाल आरोहणलाई पेसा बनाउँदै आएका कामीरिता मौसम र स्वास्थ्यले साथ दिए दुई पटक सगरमाथा आरोहण गर्ने सोचमा छन् । तर, यसबारे उनले निर्णय लिइसकेका छैनन् । उनका छोरा लाक्पा तेन्जिङका अनुसार, कामीरिता यसपटकको वसन्तकालीन हिमाल आरोहण सिजनमा ३१ औं पटकका लागि सगरमाथा आरोहण गर्दैछन् ।

काठमाडौंमा रहेको सेभेन समिट ट्रेक्स कम्पनीबाट सगरमाथा आरोहण गर्ने विदेशीहरूको गाइडका रूपमा विश्वकै अग्ला हिमचुचुरो सगरमाथा आरोहण गर्न कामीरिता लुक्लातर्फ लागेको छोरा तेन्जिङले बताए ।

‘बुबा वैशाख ७ गते काठमाडौँबाट लुक्लातर्फ लाग्नु भएको थियो’, तेन्जिङले भने, ‘गत वर्षको जस्तो एकै सिजनमा दुई पटक आरोहण गर्ने/नगर्नेबारे अहिले कुनै योजना छैन । तर यसपालि एकपटकचाहिँ सगरमाथा पक्कै आरोहण गर्नु हुनेछ ।’

कामीरिताले ०८१ वैशाख ३० गते २९ औं पटक अनि दस दिनपछि ०८१ जेठ ९ गते ३० औं पटक सगरमाथा आरोहण गर्दै सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व रेकर्ड कायम गरेका थिए ।

दुई सन्तान र पत्नीसहित काठमाडौँमा बस्दै आएका कामीरिता १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा लागेका थिए । सोलुखुम्बुको थामेका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।

त्यसयता उनी सगरमाथा केटू, मनास्लु, ल्होत्से लगायतका ८ हजार अग्ला हिमाल ४४ पटक उक्लिसकेका छन् । उनले एकै सिजनमा दोहोर्‍याएर पाँच पटक सगरमाथा आरोहण गरिसकेका छन् ।

उनीपछि सर्वाधिक सगरमाथा आरोहण गर्ने अर्का आरोही खुम्बु पाङबोचेका पासाङ दावा (पादावा) शेर्पा छन् । उनले २७ पटकसम्म सगरमाथा आरोहण गरेका छन् ।

सगरमाथामा पहिलोपटक ७२ औं वर्षअघि मानव पाइला पुगेको थियो । हालसम्म कम्तीमा ७ हजार आरोहीले १२ हजार पटक सगरमाथामा सफलता हात पारेका छन् भने कम्तीमा ३ सय ४० जनाले आरोहणका क्रममा ज्यान गुमाइसकेको अनुमान रहेको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully