सगरमाथाकी महारानी

५० को दशकमा पासाङ–पदचिह्न पछ्याउादै लाक्पाले थालेको हिमाल आरोहण–यात्रा यतिबेला ‘विश्वमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने महिला रेकर्ड’ को हाइपले चर्चामा छ

वैशाख २०, २०८२

सुरज कुँवर

The Queen of Everest

विश्वकै अग्लो शिखरमा १० औं पटक झन्डा गाडिसकेकी मकालु संखुवासभाकी लाक्पा शेर्पासँग अनेक कीर्तिमान छन् । पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पापछि नेपाली नारीको साहस विश्वभर प्रदर्शन गर्ने दोस्रो आरोही महिला हुन् उनी । २०५० वैशाख ९ मा ३१ वर्षे पासाङ ल्हामुले सगरमाथाको चुचुरोमा पुगेर हिमाल आरोहणमा नेपाली महिलाका लागि पहिलो पटक ढोका उघारेकी थिइन् । तर, दुर्भाग्य ! शिखर जितेपछि उनको जीवन–यात्रा त्यहीं अन्त्य भयो ।

शिखरमा नेपाली राष्ट्रिय झन्डा गाड्ने वीराङ्गना जीवितै फर्किन नसक्दा मुलुक शोकमा डुबेको थियो । उनको जितपछि विजय र्‍याली आयोजना हुनुपर्ने, तर काठमाडौंमा भएको थियो : शवयात्रा अनि शोकसभा । 

त्यही शोकसभा र शवयात्रामा पासाङको शवमा पुप्पगुच्छा अर्पण गर्ने लाक्पा शेर्पा यतिबेला संसारभरकै मिडिया र अल्पाइन समाजको फोकसमा छिन् । पासाङको बलिदान र उपलब्धिले हिमालमा भारी बोक्ने पेसा अपनाउँदै आएकी लाक्पालाई आरोहणको हौसला दिएको थियो । ५० को दशकमा उनले पासाङ–पदचिह्न पछ्याउँदै थालेको यात्रा यतिबेला ‘विश्वमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने महिला–रेकर्ड’ को हाइपले चर्चामा छ । औपचारिक शिक्षाबाट वञ्चित लाक्पा कहिले बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा पर्छिन् त कहिले अमेरिकी नेता हिलारी क्लिन्टनलाई चकित पार्दै उनको साहसको सम्मानमा शुभकामना सन्देश प्रसारण गराउन बाध्य बनाइदिन्छिन् । 

खुम्बु क्षेत्रकी पासाङको ‘पहिलो नेपाली महिला सगरमाथा आरोही’ को रेकर्डमा मकालुकी लाक्पाले बनाएको अर्को एक ‘पहिलो नेपाली महिलाको रेकर्ड’ धेरै नेपालीले नजरअन्दाज गरेको उपाधिमा पर्छ । त्यो रेकर्ड हो– ‘लाक्पा सगरमाथा आरोहणपछि सफलतापूर्वक फर्किने पहिलो नेपाली महिला आरोही हुन् ।’ अर्थात् ‘पासाङ सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन् भने लाक्पा सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली महिला, तर सफलतापूर्वक फर्किने पहिलो नेपाली महिला’ । लाक्पाले ५ जेठ २०५७ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । आरोहणमा जानुअघि त्यसबेला काठमाडौंमा प्रधानमन्त्री थिए, गिरिजाप्रसाद कोइराला । प्रधानमन्त्री कोइरालाले लाक्पासहित ७ नेपाली महिलाको ‘नेपाली महिला सहस्राब्दी अभियान’ लाई बिदाइ गरेका थिए । तर, त्यो आरोहणमा लाक्पाबाहेक अरू महिला उचाइसम्बन्धी समस्या उत्पन्न भएका कारण चुचुरोमा पुग्न सकेनन् । लाक्पा एक्लैले मात्रै त्यसताका सफलता हात पारेकी थिइन् । त्यसपछि लाक्पाले हिमाल आरोहणमा पछि फर्केर हेर्नुपरेको छैन । उनको शिखरमाथि प्राप्त भएको विजय जीवनको मोड बन्यो । 

हालैका दिन लाक्पा काठमाडौं सहरमा एकाएक ओर्लिएको खबर सञ्जालमा देखियो । ‘आज म र सन्नी बौद्धमा छौं,’ चैत अन्तिमताका फेसबुकमा लाक्पाले लेखिन्, ‘यस वर्ष उसले सगरमाथा आधार शिविरमा मेरा हाइकिङ साथी बन्न चाहेकामा म निकै उत्साहित छु । धेरै धन्यवाद । चाँडै थप अपडेटहरू आउनेछ ।’ 

अमेरिकाको वेस्ट हार्टफोर्ड कनेटिकटबाट जेठी छोरी सन्नी डिजमारेस्कु (शेर्पा) का साथ काठमाडौं ओर्लिएकी लाक्पा यस पटक तीन वर्षअघिको आफ्नो १० औं पटकको विश्व कीर्तिमान ब्रेक गर्न काठमाडौं ओर्लिएकी हुन् । अबको केही दिनमा उनी सगरमाथा आरोहणका लागि आधार शिविर उक्लिँदै छिन् । 

यस पटक उनको ११ औं पटकको सगरमाथा आरोहणको साक्षी जेठी छोरी सन्नी हुँदै छिन् । यसअघि ०७९ वैशाखको १० औं पटकको आरोहणमा साक्षी जसरी कान्छी छोरी साइनी बनेकी थिइन् । यसपटक कान्छी छोरी उतै अमेरिका छाडेर लाक्पा सगरमाथा आरोहणका लागि निस्किएकी हुन् । 

...

५१ वर्षअघि लाक्पा मकालुको हिमाली गाउँ टासीमा जन्मिएकी थिइन् । उनले विद्यालयको औपचारिक तथा अनौपचारिक शिक्षा पाइनन् । ७ जना दिदीबैनी ४ जना दाजुभाइ गरी ११ मध्ये पाँचौं स्थानमा पर्ने लाक्पाको बाल्यकाल चित्राले बेरेको २ घण्टा परको स्कुलभन्दा बढी चौरी गोठा, भेडीखर्कमै बितेको थियो । त्यसताका उनले स्कुल देख्ने अवसर पाएकी थिइन् । तर पढ्नलाई होइन । भाइहरूलाई स्कुलसम्म पुर्‍याउने काम मात्रै । 

उनी सानै छँदा मकालु र खुम्बुका शेर्पा पुरुष हिमाल आरोहण सिजनमा विदेशीसँगै उनको गाउँको बाटो हुँदै उकालो लाग्थे । उनी रुचि मानेर टोलाइरहन्थिन् । विश्वकै पाँचौं अग्लो हिमाल मकालुको फेदीमा उनको गाउँ थियो । ‘त्यो ८ हजार ४ सय ८५ मिटर उचाइको हिमालको पछाडि के होला ? कस्ता मानिसहरू बस्छन् होला ?,’ बाल्यकालमा उनी यस्तैखाले जिज्ञासाले भरिएकी हुन्थिन् । 

तर, पुरुषहरूसँगै त्यहाँ जान मकालु हिमालभन्दा अग्लो सामाजिक पर्खाल उनका लागि लगाइएको थियो । गरिबीका कारण उनी कहिलेकाहीँ खाली खुट्टा केही घण्टाका लागि भरिया भई उकालो लाग्दा उनकी आमा ‘हिमालमा जानु हुँदैन है, हिमचितुवाले खाइदिन्छ । हिमालमा जानेसँग कसैले पनि बिहे गर्दैन’ भन्थिन रे π 

गाउँ छाडेर पर्यटकसँग उनले पहिलो पटक ११ वर्षको उमेरमा भारी बाकेर पर्यटन क्षेत्रमा भरियाका रूपमा डेब्यु गरेकी थिइन । त्यसपछि उनले भारी बोक्दै मकालु मात्रै होइन सगरमाथा र अन्य साना ७ हजार अग्ला हिमालको फेदीसम्मको यात्रा गरेकी थिइन् ।

...

१८–१९ वर्षको उमेरमा उनी २०५० साल ताका संखुवासभाबाट हिँडेर धरान हुँदै नाइट बस चढेर काठमाडौं आइसकेकी थिइन् । उनको डेरा ठमेल पछाडि ठहिटीमा थियो । त्यसबेला उनी हिमाल आरोहणमा भारी बोक्ने, बासस्थानमा पदयात्रीका लागि ‘किचेन हेल्पर’ का रूपमा काम गर्थिन् । त्यसैबेला सगरमाथा आरोहणका क्रममा निधन भएकी पासाङ ल्हामु शेर्पाको शव २१ औं दिनमा काठमाडौं आइपुगेको थियो । 

हिमाललाई पेसा बनाउनेको भीड शव राखिएको स्थलमा लाग्यो । त्यही भीडमा थिइन् लाक्पा । उनले पासाङको शवछेउ एक वृद्ध महिला छोरी गुमाउनुपरेको वियोगमा छाती पिट्दै बिलौना गररिहेको देखिन् । ‘त्यही दिन हो मैले पासाङ दिदीको अधुरो सपना पूरा गर्ने वाचा मनमनै गरेको,’ हालै थापाथलीमा भिडियो अन्तर्वार्ताका क्रममा लाक्पाले भनिन्, ‘अनि मैले भरियाबाट आरोहीका रूपमा आफ्नो बाटो बिस्तारै बदलेँ । पासाङ दिदीको सपना पूरा गर्न ।’

पासाङको निधन भएको ६ वर्षपछि ०५७ सालमा लाक्पाले सगरमाथा आरोहण गरिन् । अनि बनाइन् सगरमाथा आरोहण सफलतापूर्वक सकेर फर्किने पहिलो नेपाली महिलाको रेकर्ड । 

त्यसबेला उनको काठमाडौंमा भेट भयो, रोमानियन पर्वतारोही जर्ज डिजमारेस्कुसँग । २०५९ सालमा उनीसँग बिहे गरेर लाक्पा अमेरिकाको कनेक्टिकट पुगिन् । दुई वर्षअघि उनले ‘न्युयोर्क टाइम्स’ सँग बताएअनुसार, रोमानियन आरोही जर्जसँग १० वर्षको सहयात्रालाई सन् २०१२ मा टुंग्याइसकेकी छन् । अचेल उनले आफूलाई ‘सिंगल मदर’ का रूपमा चिनाउँदै आएकी छन् ।

अमेरिकामा उनले होलफुड्सको भान्सामा भाँडा माझ्ने कामदेखि सुपरमार्केटसम्म काम गर्नुपरेको संघर्षबारे ‘न्युयोर्क टाइम्स’ ले बेलिबिस्तारमा उतारेको छ । अचेल उनी आफ्ना दुई छोरीसहित विश्वभरका युवतीलाई हिमाल आरोहणमा आकर्षित गर्ने अभियानमा छिन् । 

लक्पाले सगरमाथा चुचुरोमा ८ पटक तिब्बततर्फको उत्तरी मोहडाबाट र दुईपटक नेपालतर्फको दक्षिणी मोहडाबाट उपाधि हात पारिसकेकी छन् । सगरमाथा आरोहणलाई उनले अझै ब्रेक दिने/नदिने निर्णय लिइसकेकी छैनन् । ‘कलाकारले फिल्म खेलेजस्तै मलाई पनि सगरमाथा आरोहण त्यस्तै सजिलो लाग्छ,’ लाक्पाले भनिन्, ‘मेरो लागि सगरमाथा आरोहण भर्‍याङ उक्लिनुसरह हो । गाह्रो लाग्दैन ।’ लक्पाले सगरमाथा आरोहण गर्दा भोग्नुपरेका चुनौती ज्यादै चर्चित छन् । जस्तो– तेस्रो पटक उनी सगरमाथा आरोहणमा रहेकै बेला ८ महिनाकी जेठी छोरीलाई अमेरिका छाडेर आएकी थिइन् । त्यसबेला यो विषय ज्यादै चर्चित बनेको थियो । 

हरेक आरोहणमा ‘महिला कमजोर हुँदैनन्’ भन्ने सन्देश दिने लाक्पाले छैटौं पटकको आरोहणका बेला २ महिनाको गर्भ बोकेर सगरमाथा आरोहण गरेकी थिइन् । ‘त्यसबेला मेरी कान्छी छोरी साइनी पेटमा २ महिनाकी थिई,’ उनले भनिन्, ‘मेरो त्यो अभियानमा महिलाहरू पुरुषसरहै मिहिनेत र परिश्रम गर्न सक्छन् भन्ने सन्देश विश्वलाई दिनु थियो ।’ 

अहिले लाक्पाले अमेरिकामा स्टोरको कामबाट बिदा लिइसकेको बताइन् । उनले अचेल महिलालाई पर्वत तथा हिमाल आरोहणमा तालिम दिलाउने पेसा अमेरिकामा अपनाएकी छन् । ‘सबैको सपना हुन्छ,’ उनले आफ्नो साइटमा लेखेकी छन्, ‘म आफ्नी छोरीहरूलाई देखाउन चाहन्छु– बहादुर हुनलाई कस्तो देखिन्छ...हार नमान्नुलाई कस्तो लाग्छ ! भन ‘हो’ यही हो मेरो शक्ति । मलाई लाग्छ, यो मेरो वरदान हो ।’ 

सानो छँदा लाक्पा अग्लो कदकी टमबोयखाले ‘पुरुष’ को जस्तो ज्यान भएको हृष्टपुष्ट तथा तगडा थिइन् रे ! समाजले उनलाई गृहणी बनाउन खोजिरहेको थियो, तर उनी त्यो अग्लो पहाडबाट बाहिर निस्किन अनेकन जुक्ति लगाइरहेकी थिइन् । 

उनी केटाहरूको दाँजोमा बढी तौलको भारी बोक्न सक्थिन् । तर, उनलाई महिला भएकैले काम दिइन्थेन । भारी बोक्न उनले अनेकौं जुक्ति लगाउनुपरेको थियो । कहिले केटाहरूको जस्तो छोटो कपाल बनाउने, कहिले क्याप–टोपी लगाएर हिँड्ने ! यी सबै कथा समेटेर उनीमाथि बायोपिक बनेको छ । दुई पटक ओस्कर मनोनयनमा परेकी ब्रिटिस फिल्म मेकर/निर्देशक लुसी वाकरले लक्पालाई ६ वर्ष पछ्याउँदै दुई वर्षअघि ‘नेटफ्लिक्स’ का लागि बनाएको ‘माउन्टेन क्विन’ मा उनको जीवनयात्रा र संघर्षको अँध्यारो पाटोलाई गहिरोसँग उजागर गरिएको छ । उक्त सिनेमाले लक्पाको साहसलाई मात्रै होइन, नेपाली महिलाबारे विश्वभर प्रचार गरेको उनले ठानेकी छन् । 

The Queen of Everest

तर, अहिलेको पुस्ता गुगलमा भर परेकामा उनको चित्त बुझेको छैन । ‘हाम्रो पालाको जीवन धेरै अर्गानिक थियो,’ उनले भनिन्, ‘हामी हिमाल यात्रामा खुबै रमाइलो गर्थ्यो । अहिले जस्तो फेसबुक, टिकटक थिएन । अहिलेका बच्चाहरू त गुगल भए, जे पनि गुगलकै भर पर्छन् । युट्युब हेरेर खाना पकाउँछन् । हाम्रा दिन सम्झिँदा मलाई निकै रमाइलो लाग्छ । अमेरिकामा हुँदा मेरो मन नेपालमै हुन्छ । नेपाल आइरहन मन लाग्छ । नेपाली दाजुभाइ–दिदीबैनीहरू भेटिरहुँ लाग्छ । हिमालमा पुगिरहुँ, उक्लिरहुँजस्तो भइरहन्छ,’ सगरमाथामा ११ औं पटकका लागि उक्लिनुअघि उनले काठमाडौंमा आफ्ना कुरा बिट मारिन् । 

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully