कामीरिता शेर्पा ३०औं पटक सगरमाथा चुचुरोमा 

जेष्ठ ९, २०८१

सुरज कुँवर

Kamirita Sherpa summits Mt. Everest for the 30th time

काठमाडौँ — विश्वप्रख्यात आरोही कामीरिता शेर्पाले ३०औं पटक सगरमाथाको चुचुरोमा पाइला राख्न सफल भएका छन् । उनी बुधबार बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथा चुचुरोमा पुगेका हुन् । 

शेर्पा सोमबार बिहान आधारशिविरबाट उकालो लागेका थिए । सगरमाथामा सफल आरोहण भएको ७१ वर्षको इतिहासमा कामीरिता सबैभन्दा धेरै पटक आरोहण गर्ने संसारकै एक्ला आरोही हुन् । अघिल्लो आइतबार (वैशाख ३० गते) उनले २९ औं पटक सगरमाथामा सफल आरोहण गरेका थिए । 

आधारशिविरमा रहेको फोर्टिन पिक्स एक्सपिडिसनका संस्थापक सीईओ टासी लाक्पा शेर्पासँग वाकिटकीमा कुरा गर्दै कामीरिताले आफू ३०औं पटक चुचुरोमा पुग्न सफल भएको बताएका छन् । यो आरोहण सफल भएसँगै कामीरिता संसारकै सर्वाधिक अग्लो हिमचुचुरो सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमानी आरोही भएका छन् । 

विश्वभर ‘एभरेस्ट म्यान’ नामले पनि कहलिएका कामीरिताले गत वर्षको वसन्तकालीन याममा आफैंले बनाएको २८ औं पटकको सगरमाथा आरोहणको रेकर्ड ब्रेक गर्दै वैशाख ३० गते बिहान नेपाली समयअनुसार ७:२५ बजे सगरमाथा शिखरमा २९ औं पटक सफल आरोहण गरेर आधारशिविर फर्केका थिए । 

Kamirita Sherpa summits Mt. Everest for the 30th timeसमुन्द्री सतहबाट झन्डै ५४ सय मिटर उचाइमा रहेको  सगरमाथाको आधारशिविरमा ८ दिन विश्राम गरेर ५४ वर्षीय कामीरिता पुन यसै सिजनमा दोस्रो पटकका लागि सोमबार सगरमाथा चुचुरोतर्फ लागेका थिए ।

विक्रम संवत २०३९ (१२ वर्षको उमेर) देखि हिमाल आरोहण क्षेत्रमा काम गर्दै आएका सोलुखुम्बुको थामेका कामीरिताले पहिलो पटक २०५१ सालको वसन्तकालीन याममा सगरमाथा आरोहण गरेका थिए । यसअघि उनले ५ वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरिसकेका छन् । एकै सिजनमा दुई पटकको आरोहणअन्तर्गत यो उनको छैंटौं आरोहण हो । 

कामीरिता शेर्पा सगरमाथामा रेकर्ड ब्रेक गर्ने होडमा नभई आफ्नो पेसा नै हिमाल आरोहणसँग जोडिएकाले ‘चढ्दा चढ्दै रेकर्ड’ कायम हुन गएको बताउँछन् । सगरमाथासहित अरु ८ हजार अग्ला हिमालमा उनी ४४ पटक पुगिसकेका छन् ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully