काठमाडौँ — सरकारले कमजोर र अव्यवस्थित सहरी क्षेत्रको एकीकृत विकास गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले काठमाडौं उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणयुक्त स्थान बनाउन नदी संरक्षण र पर्यावरणीय सुधारको काम गर्ने बताएका छन् ।
'आपतकालिन आवास तथा आवासविहिन परिवारका लागि आवास निर्माण कार्यलाई निरन्तरता दिने,' नीति तथा कार्यक्रममा उल्लेख छ, 'भृकुटीमण्डपलाई अन्तर्रास्ट्रियस्तरको सभा हल, मनोरञ्जन पार्क का रूपमा विकास गरिनेछ ।'
सहरी पूर्वाधारका लागि थप पूँजी परिचालन गर्न नगर विकास कोषलाई पुनर्संरचना गर्दै यसको स्वामित्व संघ, प्रदेश, स्थानीय तह र वित्तिय संस्थाहरूकोबिचमा वितरण गरिने सरकारले जनाएको छ ।
आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अघि बढाउने सरकारले जनाएको छ । संघ प्रदेश र स्थानीय तहको सहकार्यमा स्थानीय तहको केन्द्रलाई राष्ट्रिय र प्रादेशिक तहको सडक सञ्जालसँग जोडी अन्तर आवद्धता कायम गर्ने राष्ट्रपति पौडेलले बताएका छन् ।
उपप्रधान् एवं सहरी विकास मन्त्रालय सम्हालेपछि प्रकाशमान सिंहले काठमाडौं उपत्यकालाई सफा शहरका रूपमा विकास गर्ने, सहरीकरण व्यवस्थित रूपमा अघि बढाउने, उपत्यकाका नदी स्वच्छ बनाउने, पूर्वाधार विकासमा तीन तहको सरकारको समन्वय राम्रो बनाउने लगायतका विषयलाई प्राथमिकतामा राख्दै आएका थिए । ती विषय नीति तथा कार्यक्रममा समावेश भएका हुन् ।
