प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि विपक्षी दलका शीर्ष नेतासहित १४ जनालाई भेटे
काठमाडौँ — नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली नेतासँग ‘म्याराथन’ गतिमा भेटघाट गरेका छन् । तीनदिने भ्रमणका लागि बुधबार काठमाडौं उत्रिएदेखि नै चौथाइवाले विभिन्न पार्टीका शीर्ष नेतादेखि दोस्रो र तेस्रो पुस्ताका नेतासँग भेटघाटमा जुटेका हुन् ।
दुई दिनमा चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालदेखि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित १४ जनालाई भेटिसकेका छन् । थप नेतासँग शुक्रबार दिनभर भेटघाट सकेर उनी साँझ फर्कने कार्यक्रम छ ।
बिहीबार साँझ चौथाइवालेले प्रधानमन्त्री ओलीसँग बालुवाटारस्थित निवासमा भेटेका हुन् । भेटमा दुई देशबीच आपसी सम्बन्ध र हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चौथाइवालेले माओवादीका अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री नेपाललाई उनीहरूकै निवासमा पुगेर भेटेका हुन् । कांग्रेस नेता शेखर कोइरालासँग याक एण्ड यती होटलमा डिनर र महामन्त्री गगन थापासँग होटल मेरियटमा लन्च बैठक गरेका थिए ।
चौथाइवालेले भेटेको सूचीमा कांग्रेस नेताको पंक्ति ठूलो छ । गृहमन्त्री रमेश लेखक, पार्टीका प्रवक्ता प्रकाशशरण महत, पूर्वपरराष्ट्रमन्त्री एनपी साउद, नेता उदयशमशेर राणालाई भेटेका छन् । माओवादी नेता जनार्दन शर्मा, लोसपा अध्यक्ष महन्थ ठाकुर र जनमत अध्यक्ष सीके राउतसँग पनि उनले बिहीबार भेटेका हुन् । अधिकांश भेटवार्ता चौथाइवालेले आफू बसेको मेरियट होटलमा गरेका छन् ।
कांग्रेस सभापति देउवा थाइल्यान्डको बैंककबाट फर्केलगत्तै चौथाइवालेको नेपाल आगमन र नेताहरूसँग बाक्लो भेटघाटलाई अर्थपूर्ण रूपमा लिइएको छ । उपचारका लागि बैंकक गएका देउवा ६ दिनपछि वैशाख १२ मा स्वदेश फर्केका हुन् । आँखाको शल्यक्रिया र पेटको उपचार सिंगापुरमा गरेका र दुई–तीन वर्षको बीचमा ‘फलोअप’ गर्दै आएका देउवा यस पटक भने त्यहाँ नगई बैंकक गएका थिए । बैंककमा छँदा राजनीतिक भेटघाटसमेत भएको अनुमान भइरहेका बेला भाजपा नेता चौथाइवालेले काठमाडौं ओर्लिनासाथ पहिलो भेट नै देउवा र परराष्ट्रमन्त्री आरजु राणासँग संयुक्त रूपमा गरेका थिए ।
गत वर्षको असार १७ मा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति र त्यसैको जगमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनेदेखि भारतसँगको सम्बन्ध न्यानो हुन सकेको छैन । नेपालमा नयाँ सरकार बन्नासाथ प्रधानमन्त्रीको पहिलो भ्रमण केही अपवादबाहेक भारतबाटै सुरु हुने गर्छ । तर, यस पटक सरकार बनेको साढे नौ महिना बितिसक्दा पनि भारतीय पक्षबाट प्रधानमन्त्री ओलीलाई निम्तो आएको छैन ।
प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन कांग्रेस नेतृत्व र विभिन्न सम्पर्क सूत्रमार्फत भइरहेको प्रयास सफल हुन नसकेपछि पुनः अर्को गठबन्धनको चर्चा भइरहेको छ । चौथाइवालेसँग भेटेका नेताले भने गठबन्धनप्रति चासो राखे पनि समीकरण नै बदल्ने खालको कुनै संकेत नदिएको दाबी गरेका छन् । हालै कश्मीरमा भएको आतंकवादी आक्रमणलाई लिएर नेपालको साथ र समर्थनमा तलमाथि नहोस् भन्ने उनको मुख्य सरोकार रहेको नेताहरूले बताएका छन् ।
कांग्रेस नेता शेखर कोइरालाले नेपालको राजनीतिप्रति चासो राख्नु स्वाभाविक भए पनि मुख्य सरोकार कश्मीरको आतंकवादी घटनाप्रति रहेको बताए । त्यसबाहेक पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता, राजतन्त्र फर्काउने गतिविधि बुझ्ने प्रयाससमेत हुन सक्ने बताए । ‘कश्मीरमा भएको आतंकवादी घटनाकै विषयमा बढी छलफल भयो । नेपालसँग खुला सीमा भएकाले सुरक्षा चुनौती र सावधानीका विषयमा बढी सरोकार प्रकट भयो’ कोइरालाले भने, ‘सत्ता गठबन्धन र सरकार बदल्ने जस्ता चर्चाका विषयमा कुनै कुराकानी भएन ।’
‘कश्मीरमा भएको घटनापछि भारत सरकारको सुरक्षा चासो बढेको छ । त्यही सन्दर्भमा पनि उहाँले कुरा राख्नुभएको थियो । नेपालसँगको खुला सिमानाको आतंकवादीले दुरुपयोग नगरोस् भन्नेतर्फ भारतको चासो उहाँले राख्नुभएको हो,’ कांग्रेस महामन्त्री थापाले भने । जवाफमा थापाले भारतको सुरक्षा चासोप्रति नेपाल सरकार र यहाँका सबै राजनीतिक दल सचेत रहेको बताएका थिए ।
भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय भने गठबन्धनको सरकारलाई भारतले नरुचाए पनि अहिलेको मुख्य सरोकार कश्मीरको आतंकवादी घटना नै हुन सक्ने बताउँछन् । ‘भोलिका दिनमा दुई देशबीचमा तनाव चर्कियो भने खुला सीमाको फाइदा आतंकवादीले उठाउन सक्छ भन्ने चिन्ता भारतलाई छ’ उनले भने, ‘वर्तमान गठबन्धन भारतको रुचिबाट नभएकाले विकल्प खोज्छन् नै, तर अहिले नै त्यो तहको कुराकानी भइसकेको मलाई लाग्दैन । नेताहरूलाई तर्साउने र मनोवैज्ञानिक रूपमा प्रभाव पार्ने कुरा हुन सक्छ ।’
गृहमन्त्री लेखकसँगको भेटमा पनि चौथाइवालेले भारतको सुरक्षा चुनौतीको विषयमा चिन्ता व्यक्त गरेका थिए । कांग्रेस नेता राणासँगको भेटवार्ता भने द्वारिका होटलमा भएको हो । राणाले पुरानै राजनीतिक मित्रता भएका हिसाबले भेटघाट भएको बताए । सबैजसो नेपाली नेतासँगको भेटमा चौथाइवालेले आतंकवादको विरोधमा नेपालले दिएको समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै त्यसको निरन्तरताको अपेक्षा राखेका छन् । गतसाता जम्मु कश्मीरस्थित पहलगाममा पर्यटकमाथि आतंकवादी आक्रमणमा २६ जनाको ज्यान गएको थियो ।
