आज देश-दुनियाँमा के-के भयो ?

वैशाख १७, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — रेशम चौधरी ५ घण्टापछि थुनामुक्त, अनाधिकृत पत्र काट्ने सर्वोच्चका अधिकृत महिमानसिंह विष्ट पक्राउ, नेपालको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान, जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणा स्थगितदेखि भारत सैन्य कारबाही गर्ने तयारीमा रहेको पाकिस्तानी मन्त्रीको दाबीसम्मका खबर आज चर्चामा रहे । 

000

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी थुनामुक्त भएका छन् । सर्वोच्च अदालतका शाखा अधिकृतको अनधिकृत पत्रका आधारमा पक्राउ परेलगत्तै उनलाई डिल्लीबजार कारागारमा लगिएको थियो । सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट बुधाबर दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो । रेशम चौधरीलाई पक्राउ गर्नेबारे मुद्दा शाखाका अधिकृत महिमानसिंह विष्टबाट जारी आएको आदेश अनधिकृत रहेको सर्वोच्च अदालतले जनाएको छ ।  

000

चालु आर्थिक वर्ष २०८१र८२ मा नेपालको आर्थिक वृद्धिदर साढे ४ प्रतिशत हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकले उपभोक्ता मूल्यमा ४।६१ प्रतिशत हुने देखाएको हो । यो चालु आर्थिक वर्षका लागि सरकारले तय गरेको आर्थिक वृद्धिदरको लक्ष्यभन्दा कम हो । चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको थियो ।  

000

जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणा स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकीकरण घोषणा कार्यक्रम स्थगित भएको जनमतका अध्यक्ष सीके राउतले जानकारी दिए । 

000

प्रतिपक्षी एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न विषयमा मागपत्र बुझाएको छ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा पार्टीका नेताहरूले प्रधानमन्त्री ओलीलाई मुलुकको आर्थिक, सामाजिकलगायतका क्षेत्रमा सुधारका लागि गर्नुपर्ने कामबारे मागपत्र बुझाएका हुन् ।  

000

भारतले सैन्य कारबाही गर्नसक्ने पाकिस्तानले दाबी गरेको छ । पाकिस्तानका सूचना एवं प्रशारणमन्त्री अताउल्लाह तरारले पाकिस्तानी खुफिया एजेन्सीले यस्तो जानकारी दिएको बताएका छन् । उनले आज बिहान पौने ३ बजेतिर एक भिडियो एक्समा पोष्ट गरेका छन् । 

कान्तिपुर

Link copied successfully