रेशम चौधरी पक्राउदेखि थुनामुक्तसम्मका ५ घन्टा

वैशाख १७, २०८२

कान्तिपुर संवाददाता

5 hours from Resham Chaudhary's arrest to his release

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी बुधबार पक्राउ परेपछि घटनाक्रमहरु यसरी छिटो छिटो विकास भए कि उनलाई किन पक्राउ गरिएको हो ?, कुन अभियोग लगाइएको हो ? भन्नेसम्मका अलमलहरु सार्वजनिक भए । प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पुर्‍याइसक्दा पनि सर्वोच्च अदालत प्रशासन उनको पक्राउको कारणबारे अलमलमै थियो ।

जबकी त्यतिबेलासम्म परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपिलराज बोहोराले सर्वोच्चको पत्रपछि उनलाई पक्राउ गरेको र यसबारे विस्तृतमा सर्वोच्चमै बुझ्न भन्दै पत्रकारहरुलाई 'कोट' दिइसकेका थिए ।

बितेको पाँच घन्टामा के–के भयो ? 

सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट आज दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो । सादा पोसाकमा खटिएका सुरक्षाकर्मीले उनलाई प्रज्ञा भवनमै पुगेर पक्राउ गरेका थिए ।

सर्वोच्चको आदेश कार्यान्वयन गर्न भन्दै चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा लगिएको प्रहरीले बताएको थियो । प्रहरी अधिकारीहरुले राष्ट्रपतिले दिएको आममाफी सर्वोच्चले उल्ट्याएको बताएका थिए ।

२०७२ भदौमा टीकापुरमा भएको घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

चौधरी पक्राउ परेपछि जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणा स्थगित भयाे ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक चौधरी पक्राउ परेपछि एकीकरण घोषणा कार्यक्रम स्थगित भएको जनमतका अध्यक्ष सीके राउतले बताए ।

तर चौधरी पक्राउको अन्तर्य एकैछिनमा उद्घाटित भयो । सर्वोच्च अदालतको प्रशासनले नै इजलासबाट आएको फैसला शैलीमा पत्र लेखेर प्रहरीलाई दिएपछि  चौधरी पक्राउ परेको खुल्यो । सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै अनाधिकृत रुपमा उल्ट्याइदिएका तथ्य खुल्यो ।

अनाधिकृत रुपमा चौधरी पक्राउ गर्न पत्र काट्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लियाे ।  विष्टलाई काठमाडौं प्रहरी परिसरको टोलीले सर्वोच्चबाट पक्राउ गरेर लगिएको छ ।

एकैछिनमा मुद्दा शाखाका अधिकृत महिमानसिंह विष्टबाट जारी आएको आदेश अनधिकृत रहेको सर्वोच्च अदालतले जनायो । सर्वोच्च अदालतले उक्त पत्र काट्ने शाखा अधिकृत सिंहलाई कानुन बमोजिमको कारबाही प्रकिया सुरु भएको विज्ञप्ति नै जारी गर्‍यो ।

विष्टलाई पक्राउ परेको केहीबेरमै चौधरी डिल्लीबजार कारागारबाट छुटेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully