जनमत र नागरिक उन्मुक्तिबीच एकता बुधबार

नयाँ पार्टीको नाम ‘नागरिक जनमत’ रहने, एकतापछि संसद्मा छैटौं ठूलो दल बन्ने

वैशाख १६, २०८२

अर्जुन शाह, गंगा बीसी

Unity between public opinion and civil liberties

काठमाडौं र धनगढी — मधेश र सुदूरपश्चिम प्रदेशसभामा निर्णायक रहेका जनमत र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार एकता घोषणा हुँदै छ । मंगलबार दुई दलले आ–आफ्नो केन्द्रीय कार्यसमिति बैठक गरी पार्टी एकताका लागि औपचारिक निर्णय गरेका हुन् । नयाँ पार्टीको नाम ‘नागरिक जनमत’ रहनेछ । एकतापछि संसद्मा छैटौं ठूलो दल बन्नेछ ।

एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा सीके राउत र संरक्षकमा रेशम चौधरी रहने समझदारी छ । राउत जनमतका अध्यक्ष हुन् भने चौधरी नागरिक उन्मुक्तिका संरक्षक हुन् । नयाँ पार्टीको सहअध्यक्षमा नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ रहने समझदारी भएको छ । ०७७ सालमा जनमत र ०७८ सालमा नागरिक उन्मुक्ति गठन भएका थिए ।

हाल संघीय संसद्‌मा जनमतबाट प्रत्यक्षतर्फ निर्वाचित १ र समानुपातिकतर्फ ५ गरी ६ सांसद छन् । नागरिक उन्मुक्तिका प्रत्यक्षतर्फ निर्वाचित ४ सांसद छन् । एकीकरणपछि दलको सांसद संख्या १० हुनेछ । ०७९ को निर्वाचनमा जनमतले समानुपातिकमा ३ लाख ९४ हजार ६ सय ५५ र नागरिक उन्मुक्तिले २ लाख ७१ हजार सात सय २२ मत ल्याएका थिए । दुवै दलको समानुपातिक मत संख्या जोड्दा ६ लाख ६६ हजार ३ सय ७७ हुनेछ । जुन मत हाल प्रतिनिधिसभामा पाँचौं दल रहेको राप्रपाले प्राप्त गरेको समानुपातिक मत संख्याभन्दा बढी हो । राप्रपाको समानुपातिकतर्फ ५ लाख ८८ हजार ८ सय ४९ मत छ । यस्तै जनता समाजवादी पार्टी नेपालले समानुपातिकतर्फ ४ लाख २१ हजार ३ सय १४ मत प्राप्त गरेको थियो ।

प्रदेशसभातर्फ नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेशसभामा ७, लुम्बिनीमा ४ र मधेश प्रदेशमा एक सांसद छन् । जनमतबाट लुम्बिनीमा ३ र मधेशमा १३ जना सांसद छन् । पार्टी एकीकरणपछि लुम्बिनी प्रदेशसभामा ७ र मधेश प्रदेशमा १४ सांसद हुनेछन् । प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ नागरिक उन्मुक्तिले ३ लाख १९ हजार १ सय ५८ र जनमतले ५ लाख २५ हजार ६ सय ८७ मत ल्याएका थिए । दुवै जोड्दा ८ लाख ४४ हजार ८ सय ४५ मत हुन्छ ।

एकीकरणपछि बन्ने पार्टीले राष्ट्रिय र प्रदेशको राजनीतिमा निर्णायक भूमिका खेल्ने जनमतका अध्यक्ष राउतले बताए । ‘तराई–मधेश र पहाडका सीमान्तकृत समुदायका लागि यो एकता खुसीको कुरा हो’ उनले भने, ‘यसले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास छ । आगामी दिनमा सबै जिल्लामा संगठन विस्तार हुनेछ । यो एकता अघि बढ्ने पहिलो खुट्किलो हो ।’ नागरिक उन्मुक्तिका महासचिव गंगाराम चौधरीले पार्टी एकताले नेता तथा कार्यकर्तामा उत्साह थपेको बताए । ‘संघमा हामी छैटौं दल हुनेछौं । पार्टी एकताले मधेशवासी र थारू मात्र होइनन्, हिमाल, पहाड सबैतिरका साथी उत्साहित छन्,’ उनले भने ।

स्थानीय तहतर्फ नागरिक उन्मुक्तिबाट सुदूरपश्चिममा दुई नगर प्रमुख छन् । कैलालीको टीकापुर नगरपालिका र भजनी नगरपालिकामा नागरिक उन्मुक्तिका प्रमुख छन् । यस्तै कैलालीमै जानकी र जोशीपुर गाउँपालिकाका अध्यक्ष नागरिक उन्मुक्तिबाट छन् । कैलालीकै भजनी नगरपालिकामा उपप्रमुख, जोशीपुर गाउँपालिकामा उपाध्यक्ष नागरिक उन्मुक्तिबाट छन् । कैलालीमा १४ वडाध्यक्ष पनि नागरिक उन्मुक्ति पार्टीले जितेको छ । जनमत पार्टीबाट स्थानीय तहमा मधेश र लुम्बिनीमा विभिन्न पदमा १९ जनप्रतिनिधि छन् ।

०००

एकताले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्नेछ : सीके राउत, अध्यक्ष, जनमत पार्टी

Unity between public opinion and civil liberties

जनमत र नागरिक उन्मुक्तिबीच कसरी एकता हुँदै छ ?

पार्टी अध्यक्षमा म, सहअध्यक्षमा रञ्जिता श्रेष्ठ हुनुहुन्छ । सुरुमा थोरै पदाधिकारी राखेर घोषणा गर्छौं । अरू पदाधिकारी पछि तोक्छौं । केन्द्रीय समितिमा सात सय जनासम्म रहने भनेका छौं । त्यो राख्नैपर्ने भन्ने छैन ।

एकताको मुख्य सन्देश के हो ?

तराई–मधेश र पहाडका सीमान्तकृत समुदायका लागि यो एकता खुसीको कुरा हो । यसले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास छ । आगामी दिनमा सबै जिल्लामा संगठन विस्तार हुन्छ । यो एकता पहिलो खुट्किलो हो ।

विगतमा मधेश र अरू प्रदेशमा पहिचानको मुद्दा बोकेर धेरै पार्टी बने, टुक्रिए । यो एकतापछि फेरि टुटफुटको अवस्था आउने त होइन ?

राजनीतिमा पार्टी एकीकरण हुने र टुक्रिने कुरा स्वाभाविक नै हुन्छ । अहिले एकता गर्दैगर्दा खुसीको कुरा हो । अन्य दलले गरेका गल्तीबाट पाठ सिकेर दीर्घकालीन रूपमा एकता कसरी कायम राख्ने, आफ्नो स्वार्थभन्दा जनताको हितलाई कसरी हेर्ने भनेर अघि बढ्छौं ।

अब बन्ने ‘नागरिक जनमत’ पार्टीको राजनीतिक कार्यदिशा के हुन्छ ?

आर्थिक नीतिमा सामाजिक लोकतन्त्र भनेका छौं । समग्र राजनीतिक विचारधारा नौलो गणतन्त्र हुनेछ । जसमा निर्वाचित कार्यकारी राष्ट्रपतिको परिकल्पना गरेका छौं । विज्ञहरूले मन्त्रालय चलाउने प्रणाली हुनेछ । संवैधानिक निकायका प्रमुखहरू पनि प्रत्यक्ष निर्वाचित हुनेछन् ।

नयाँ पार्टीले नेपालको राजनीतिमा तत्काल र दीर्घकालीन रूपमा कस्तो प्रभाव पार्छ ?

केही प्रदेशमा निर्णायक भूमिकामा हुनेछौं । सरकार गठनमा पनि निर्णायक हुने नै भयौं । राष्ट्रिय राजनीतिमा यसको प्रभाव रहनेछ । अहिले नै ठूलो दल बनिहाल्ने त होइन तर आगामी निर्वाचनमा हामी बलियो शक्ति हुन्छौं ।

तपाईं निर्वाचित सांसद भए पनि मन्त्री हुन नरुचाउनुको कारण के हो ?

नयाँ ढंगले राजनीति अघि बढाउने कोसिस गरिरहेका छौं । राजनीतिमा देखिएको वितृष्णालाई चिर्नु हाम्रो दायित्व हो । मन्त्री नबन्दाखेरि केही सकारात्मक सन्देश दिएको पाएका छौं । पार्टी संगठन नयाँ भएको हुनाले यसमै बढी ध्यान दिने गरेको छु । हामी मन्त्री हुन आत्तिनु पर्दैन, धैर्य राख्नुपर्छ । यो अरूका लागि पनि पाठ हुन सक्छ ।

मधेशमा तपाईंको दलको मुख्यमन्त्री हुनुहुन्छ । के नयाँ सुरुवात गर्नुभएको छ ?

मुख्यमन्त्री शिक्षा र स्वास्थ्य क्षेत्रका निकायको अनुगमनमा सक्रिय भएर लाग्नुभएको छ । प्रदेशलाई अधिकार नदिँदा मुख्यमन्त्रीले धेरै अधिकार प्रयोग गर्न पाउने अवस्था छैन । अनुगमनमा सीमित हुनुपर्ने अवस्था छ । प्रदेश अधिकार सम्पन्न हुँदा प्रभावकारी ढंगले काम गर्न सकिन्छ ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

गंगा

Link copied successfully