काठमाडौँ — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन र अनुगमन गर्न गठित सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले सोमबार प्रतिवेदन बुझाएको, प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐन विपरीत एमबीबीएसको शुल्क र सिट वृद्धि गर्न निर्देशन दिएको लगायतका खबर आज देशभर चर्चामा रहे । त्यस्तै, पहलगाममा भएको आतंककारी आक्रमणपछि भारत र सुरक्षासम्बन्धी संस्थामाथि झुटा र उक्साहपूर्ण सामग्री प्रसारण गरेको आरोपमा भारत सरकारले पाकिस्तानका १६ युट्युब च्यानलमा रोक लगाएको अन्तर्राष्ट्रिय खबर चर्चामा रहेको छ । आज देश-दुनियाँमा के-के भयो त ?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन र अनुगमन गर्न गठित सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले प्रतिवेदन बुझाएको छ । उपसमिति संयोजक राजेन्द्र लिङ्देनले समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
नयाँ बानेश्वरस्थिति संसद भवनमा सोमबार आयोजित कार्यक्रममा उपसमिति संयोजक लिङ्देनले सार्वजनिक लेखा समितिका सभापति पोखरेललाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै समितिका सभापति पोखरेलले पूर्ण प्रतिवेदनमाथि समितिको आगामी बैठकमा छलफल हुने बताए । उनले समितिको बैठकबाट भएका निर्णय, निर्देशन नै अन्तिम हुने पनि उनको भनाइ थियो ।
000
प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओली अध्यक्षताको बैठकले एमबीबीएस, बीडिएसको सिट र शुल्क वृद्धि गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा ओलीले चिकित्सा शिक्षा ऐन विपरीत एमबीबीएसको शुल्क र सिट वृद्धि गर्न निर्देशन दिएका एक सदस्यले बताए । मापदण्डअनुसार शुल्क र सिट तोक्ने आयोगको नियमित प्रक्रिया हो । तर प्रधानमन्त्रीले सिट र शुल्क पुनरावलकोन गर्न भन्दै शिक्षा सचिव दिपक काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।
अमेरिकी चार्टर विमान ९ दिनदेखि काठमाडौंमा 'ग्राउन्डेड' भएको छ । वैशाख ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको यो जेट विमानलाई नेपाल वायुसेवा निगमको जहाज तान्ने टो–ट्र्याक्टरले ठक्कर दिएको थियो । ग्राउन्डेड भएका कारण विमानले करोडौं रुपैयाँको चार्टर तथा कार्गो उडानको व्यापार गुमाइरहेको छ ।
विमानस्थलमा अलपत्र विमान अमेरिकी कम्पनी गल्फस्ट्रिमको जी–फाइभ विमान हो । यसको स्वामित्व अमेरिकाको निजी चार्टर तथा कार्गो सेवा प्रदायक कम्पनी ग्रिफन एयरको रहेको छ । यो भीआईपी तथा बिजनेस जेटका रूपमा लामो दुरी उडान गर्ने विमान हो ।
000
कृषि बाटो निर्माणमा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोगमा सर्लाहीको धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत र वडा नं ६ का अध्यक्षसहित ९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका प्रशासकीय अधिकृत कृष्णमोहन प्रसाद साह, इन्जिनियर उपेन्द्रप्रसाद साह, नायब सुब्बा मोहम्मद रफिक, सब इन्जिनियर शशिरञ्जन कुमार सिंह, लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू र कोषाध्यक्ष सुरतिया कुमारीविरुद्ध ७ लाख ७९ हजार २०५ रुपैयाँ बिगो कायम गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
000
भारत सरकारले पहलगाममा भएको आतंककारी आक्रमणपछि भारत र सुरक्षासम्बन्धी संस्थामाथि झुटा र उक्साहपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाकिस्तानका १६ युट्युब च्यानलमा रोक लगाएको छ । गृह मन्त्रालयको सिफारिसमा गरिएको यस कदमसँगै सामाजिक सञ्जालमा फैलिएको भ्रमपूर्ण सामग्रीमाथि पनि कारबाही गरिएको छ । पहलगाम घटनालाई लिएर गलत प्रस्तुति दिएको भन्दै बीबीसी भारत कार्यालयलाई सरकारी पक्षबाट औपचारिक पत्र पठाइएको छ ।
