निगमको ट्र्याक्टरले ठक्कर दिएपछि अमेरिकी चार्टर विमान ९ दिनदेखि काठमाडौंमा 'ग्राउन्डेड'

आधिकारिक कागजात नभएका कारण निष्कासन गरिएका तीन नेपालीलाई लिएर विमान काठमाडौं आएको थियो

वैशाख १५, २०८२

सुरज कुँवर

The American charter plane was 'grounded' in Kathmandu for 9 days after being hit by the corporation's tractor.

काठमाडौँ — अमेरिकी चार्टर विमान ९ दिनदेखि काठमाडौंमा 'ग्राउन्डेड' भएको छ ।

वैशाख ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको यो जेट विमानलाई नेपाल वायुसेवा निगमको जहाज तान्ने टो–ट्र्याक्टरले ठक्कर दिएको थियो । ग्राउन्डेड भएका कारण विमानले करोडौं रुपैयाँको चार्टर तथा कार्गो उडानको व्यापार गुमाइरहेको छ ।

विमानस्थलमा अलपत्र विमान अमेरिकी कम्पनी गल्फस्ट्रिमको जी–फाइभ विमान हो । यसको स्वामित्व अमेरिकाको निजी चार्टर तथा कार्गो सेवा प्रदायक कम्पनी ग्रिफन एयरको रहेको छ । यो भीआईपी तथा बिजनेस जेटका रूपमा लामो दुरी उडान गर्ने विमान हो । 

विमानको इन्जिनमा प्रयोग हुने लुब्रिकेन्ट हाल्न टो–ट्र्याक्टरले सिनामंगलतर्फ रहेको रिभर्स पार्किङ क्षेत्रबाट तानेर पार्किङ–वेमा ल्याउने क्रममा अगाडिको भाग (नोज) मा ठक्कर दिँदा विमान ग्राउन्डेड भएको हो । ‘नेपाल आएको भोलिपल्ट वैशाख ७ गते फर्किने तालिका थियो,’ स्रोतले भन्यो, ‘विमानको ग्राउन्ड ह्यान्डलिङको जिम्मा निगमलाई थियो । इन्जिनमा केही समस्या भएकाले पार्किङ-वेमा ट्र्याक्टरले नोजमा ठक्कर दिएर क्षति पुगेपछि जहाज यतै रोकियो ।’

विमान मर्मतमा संलग्न स्रोतका अनुसार ठक्करबाट नोज र रडार दुवैमा क्षति पुगेको छ । सामान झिकाएर मर्मत निगमले गरिदिनुपर्ने थियो । तर ग्रिफन एयरले नै मर्मतका लागि सामान पठाइदिएको थियो । निगमका प्राविधिकले गरेको मर्मतलाई आधिकारिकता दिनुपर्ने भएकाले सिंगापुरबाट इन्जिनियर आएर जाँचेपछि मात्रै विमान अमेरिका फर्किने भनिएको छ ।

‘कम्तीमा १ करोड हाराहारीको क्षति भएको प्रारम्भिक अनुमान छ,’ स्रोतले भन्यो, ‘यो घटनाका कारण अमेरिकाबाट बुक भएका थुप्रै चार्टर रद्द गर्नुपरेको छ । चालक दलका सदस्यको काठमाडौंमा होटल बसाइ लम्बिएको छ ।'

यसैबीच, नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सेफ्टी विभागले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । उसले टो–ट्र्याक्टरका अपरेटरलाई 'ग्राउन्डेड' गरिदिएको छ । प्राधिकरणले विस्तृत प्रतिवेदन आउन थप एक साता लाग्ने भनिएको छ ।The American charter plane was 'grounded' in Kathmandu for 9 days after being hit by the corporation's tractor.

यो विमानका क्याप्टेन नक्सालको मेरियट होटलमा बसिरहेका थिए । उनको बसाइ लामो हुने भएपछि त्यहाँबाट हिलटनमा सरेका छन् । उनका कोपाइलट तालिममा जानुपर्ने भएकाले शनिबार कतारको जहाजबाट दोहा हुँदै अमेरिका फर्केका छन् । उनको स्थानमा अर्का पाइलट अमेरिकाबाट आज (सोमबार) दिउँसो आउँदै छन् ।उक्त विमानमा आएकी परिचारिका मंगलबार टर्किस एयरको उडानबाट इन्स्तानबुल हुँदै अमेरिका लागेकी छन् ।

आधिकारिक कागजात नभएका कारण निष्कासन गरिएका तीन नेपालीलाई ल्याएर नेपाल आएका अमेरिकी अध्यागमन कार्यालयका ६ कर्मचारी सोमबार नियमित उडानमा काठमाडौंबाट फर्केका थिए ।

यो विमान आधिकारिक कागजात नभएका कारण निष्कासन गरिएका तीन नेपालीलाई लिएर नेपाल आएको थियो । अमेरिकी सरकारअन्तर्गत इमिग्रेसन एन्ड कस्टम इन्फ्रोसमेन्ट अफिसले विमान चार्टर गरेको थियो ।१९ सिट क्षमताको विमान बंगलादेश हुँदै नेपाल आएको थियो । त्यहाँ उसले १० जना कागजातविहीन बंगालीलाई छाडेको थियो ।

यो घटनामा काठमाडौंस्थित अमेरिकी दूतावासले छिटो सत्यतथ्य छानबिन गर्न नेपाल वायुसेवा निगमलाई पत्राचार गरेको निगम स्रोतले बतायो । ‘अमेरिकी दूतावासले यो घटनाको छानबिन प्रक्रिया छिटो सम्पन्न गर्न, आवश्यक मर्मत कार्य यथाशीघ्र सम्पन्न गराउन विमान र चालकदललाई यथाशक्य छिटो फिर्ता पठाउन नेपाल निगमलाई इमेल पठाएको छ,’ स्रोतले भन्यो । विमानको व्यवस्थापन तथा सरकारी पक्षसँग समन्वय सानेपामा रहेको नेपाल एभिएसनले गरिरहेको छ ।

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully