‘त्यो दिन छिमेकीको शव छेउमा राखेर मकैबारीमा सुत्यौँ ।’
बारपाक,गोरखा — ढुंगाको गाह्रो, ढुंगाकै छाना भएका एकनासका घरहरु भएको बस्ती केहीक्षणमै भग्नावशेषमा परिणत भए । ७२ सालको शक्तिशाली भूकम्पमा परेर बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाए । त्यही भूकम्पले बारपाकका १४ सय घरधुरी भत्कायो । भूकम्पको पीडा भुलेर बारपाकीले घर पुनर्निर्माण गरेका छन् । वडाको नयाँ भवन बनेको छ । विद्यालय, प्रहरी चौकीको पुनर्निर्माण गरिएको छ । उक्त भूकम्पको केन्द्रबिन्दु बारपाकमा निर्माण सुरु भएको भूकम्प स्मृति स्तम्भकाे काम भने अन्तिम चरणमा पुगेको छ ।
२०७२ वैशाख १२ गते शनिबार ११.५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पले गोरखासहित १४ जिल्ला प्रभावित बनेका थिए । भूकम्पमा गोरखामा ४ सय ७२ जनाले ज्यान गुमाए भने एक हजार जना घाइते भए । जिल्लाका अधिकांश सरकारी र निजी संरचनामा पूर्ण वा आंशिक क्षति पुगेको थियो । जिल्लामा भूकम्पले भत्काएका झन्डै ७० हजार निजी आवास पुनर्निर्माण भइसकेका छन् । भूकम्प गएको आज १० वर्ष पुगेको छ । भूकम्पको केन्द्रबिन्दु बारपाकका स्थानीय १० वर्ष अघिको त्यो दिन सम्झँदा समेत आत्तिन्छन् ।
‘भूकम्पले धनी र गरिब छुट्ट्यायो’
२०७२ वैशाख १२, बारपाकी एरेनी घले गहुँको नल गोठमा राख्दै थिइन् । एक्कासि जमिन थर्कियो । ठूलो आवाज कानमा ठोक्कियो । हतारिँदै गोठ बाहिर निक्लिइन् । बाहिर निक्लिँदा भत्किएका घरका धुलोले बारपाक गाउँ ढाकेको थियो ।
ऐरेनी के भयो कसो भयो भन्दै घरमा रहेका श्रीमान् र नातिलाई बोलाउन हतारिइन् । ‘भूइँचालो भनेर मनमा आएन, के भाको होलाजस्तो मात्र लाग्यो,’ उनले भनिन्,‘घर पुग्दा सबै भत्किएको रहेछ, के गरौं कसो गरौं भएको बेला गोठ पुगेको, गोठ पनि भत्किएर भैंसीहरु च्यापिसकेछ ।’
उनी घर–गोठ गर्दा नाति र श्रीमान् उनलाई खोज्दै घरबाहिर भौँतारिइरहेको भेटिन् । ७४ वर्षीया ऐरेनीलाई भूकम्पको त्यो त्रासदी सम्झँदा अझै पनि मन भरङ्ग भएर आउँछ । ‘सबै घर भत्किएपछि गाउँका मान्छे खुल्ला ठाउँ खोज्दै मकैबारीतिर दौड्दै थिएँ, एक जना छिमेकीले भने आफ्नो आमा डोकोमा बोकेर ल्याउँदै रहेछन्, उनको हात छामेर के भयो भनेर बोलाउँछु मान्छे बोल्दैन, पछि पो थाहा भयो उहाँको त सास नै रहेनछ,’ उनले थपिन्,‘त्यो दिन छिमेकीको शव छेउमा राखेर मकैबारीमा सुत्यौँ ।’ घरभित्र रहेको पाँच मुरी मकै र कोदो पनि झिक्न नपाएको उनको स्मृतिमा ताजै छ ।
गोठका थाङ्ना बटुलेर उनले चार रात मकैबारीमा काटिन् । ‘अहिले हावा जोडले चलेर घर थर्कायो भनेपनि त्यही दिनमा जस्तै भूकम्प आयो कि भन्दै मन झसङ्ग बन्छ,’ उनले भनिन्,‘त्यस्तो डरलाग्दो दिन अहिले सम्झनै मन छैन ।’ ढुंगाको छानो, ढुंगाको गाह्रो भएको दुई तले घरभित्र रहेका अन्नपात, लत्ताकपडा सबै पुरिएपछि ऐरेनीका परिवारलाई राहतको भर पर्नुको विकल्प थिएन । ‘राहत पनि टाठाबाठाले पाइहाल्थो, हामी माग्न नजान्ने बल्लतल्ल राहत पायौँ, त्रिपाल पाएपछि भूकम्पको पाँचौँ दिन त्यही त्रिपालको छाना हालेर सुत्ने ठाउँ बनाएर बस्यौँ,’ उनले भनिन् । झन्डै एक वर्ष त्रिपाल र टहरो मकैबारीमा हालेर बिताएकी ऐरनीका परिवारले सरकारले दिएको तीन लाखमा थपेर एक तले घर बनाएकी छन् । तर उनलाई भूकम्पपछि बारपाकले मौलिकता गुमाएकोमा उनलाई चिन्ता छ । भन्छिन्,‘भूकम्पपछि बारपाकमा धनी, गरिब छुट्टिएको छ, पैसा हुनेले बिल्डिङ बनाए, नहुनेको सानो झुप्रो छ ।’ बारपाक गाउँमा अहिले घर देखेर नै धनी र गरिब छुट्याउन सक्ने उनले बताइन् । ‘पहिले एकैनासको घर हुँदा मान्छे को गरिब, को धनी भित्री कुरा थाहा हुन्नथ्यो, अहिले घर देखेर नै छुट्टिन्छ,’ उनले भनिन् ।
भूकम्पमा परिवारका चार जना गुमाएका चेतबहादुर अझै भक्कानिन्छन्
बारपाकका चेतबहादुर गुरुङ, घर छेउमा धन्सार बनाउँदै थिए । ६७ वर्षीया आमा मलमती, २५ वर्षीय बुहारी राममाया धन्सार बनाउने खेतालालाई घरभित्र रोटी बनाउँदै थिए । ६ वर्षकी छोरी पुष्पा र एक वर्षकी छोरी प्रगति (भाइकी छोरी) पिँढीमा खेल्दै थिए । छोरी पुष्पा एक्कासि चिच्याइन् । ‘भूकम्प भनेको थाहा नै थिएन, डाँडै हल्लँदा घर गर्ल्यामगुर्लुम गइहाल्यो, आमाले घर भित्रबाट चित्त, चित्त भनेर बोलाएको सुन्छु,’ उनले थपे,‘घर भत्किएपछि आगो लाग्न थाल्यो, जाने अवस्था नै भएन, चारै जना एउटै घरमा पर्नुभयो ।’
तीन दिनसम्म उनले भत्किएको घरबाट शव निकाल्न समेत सकेनन् । तेस्रो दिन सेनाको सहयोगमा घर पन्छाउँदा आमाको टाउको र देब्रे हात मात्र भेटे । बुहारी राममाया र दुई छोरीको शव टाउकोमा चोट लागेको अवस्थामा तेस्रो दिन नै निकालेको उनले सुनाए । ‘आफ्नै घरले आफ्नै सन्तान च्यापिएर बितेको सम्झँदा मेरो मन कस्तो भयो होला,’ उनले भने,‘शरीरमा भएका लुगाबाहेक भूकम्पले हामीसँग भएका सबै लग्यो, आँखैअघि भएको यो घटनाले त्यो दिन कहिलै नआओस्झैँ लाग्छ ।’
परिवार गुमाउँदाको पीडाले चेतबहादुर अझै छट्पटिन्छन् । ‘त्यो बेला त मेरो होस् हवास उडेको थियो, दाहिने खुट्टामा लगाउने चप्पल देब्रेमा, देब्रेमा लगाउने चप्पल दाहिने खुट्टामा लगाएर पनि हिँडेछु,’ उनले भने । भूकम्पले गाउँ ध्वस्त बनाएको पीडासँगै परिवार गुमाएको असहृय बज्रपात उनलाई भुल्न निकै गाह्रो परेको छ । ‘अहिले भएको भए गाउँभरिका मलामी हुन्थे, मेरो परिवारमा चार जनाको निधन भएको, दुई–तीन जना मलामी भएर चिहानडाँडा शव पुर्याएका हौँ,’ उनले भने । भूकम्पको बेला बारीमा मकै गोड्न गएकी श्रीमती धनमायालाई आमा, बुहारी र छोरी घरभित्र पुरिएको सुनाउँदा श्रीमती भावविह्ल बनेको सम्झना उनलाई हिजैजस्तो लाग्छ । धनमाया दम्पतीका दुई छोरीमध्ये एउटीलाई भूकम्पमा गुमाए । जेठी छोरी मनसरी हिमालय मावि बरापाकमा पढिरहेकी छन् ।
‘त्यस्तो दिन कहिलै नआओस् जस्तो लाग्छ’
६६ वर्षीया बोधमाया घले आँखा राम्रोसँग देख्न सक्दिनन् । भूकम्प जाँदा घरभित्रै सुतिरहेकी थिइन् । घर हल्लिएको केहीबेरमै गाउँभरि हो–हल्ला भएको उनको कानमा ठोक्कियो । आँखा नदेख्ने उनलाई ओछ्यानबाट घर बाहिर पुग्ने आँट थिएन । ढोका र घरको गाह्रो भत्किएको आवाज भने उनले सुनिरहेकी थिइन् । ‘छोरा नुहाउन धारा गएको रहेछ, दौड्दै घरभित्र छिरेर मलाई बाहिर निकाल्यो,’ उनले भनिन्,‘मलाई छोराले आँगनमा निकालेको मात्र के थियो, फेरि भूकम्प आएर म सुतेको घर त भुइँमै धसियो ।’
बोधमायाका तीन छोरा हिमालय माविमा पढ्थे । ‘त्यो दिन शनिबार थियो, नत्र बच्चाहरु सबै स्कुलमा पर्ने रहेछन्,’ उनले भनिन् । घर भत्किएपछि खुल्ला ठाउँ खोज्दै मकैबारीमा पुगेर एक रात खुल्ला आकाशमुनि रात काटेको उनले सुनाइन् । ‘भएका अन्नपात सबै पुरियो, केही निकाल्न सकेनौँ,’ उनले भनिन्,‘तीन छाक त भोक भोकै भयौँ, त्यसपछि राहत आएर सजिलो भयो ।’
भूकम्पको एक वर्ष टहरोको बसाईंमा निकै दु:ख पाएको उनले सुनाइन् । ‘भूकम्पले दु:ख पायौँ, एक वर्ष टहरामा बस्यौँ,’ उनले भनिन्,‘आफ्नो जग्गा जस्तो नहुने रहेछ, कति दिन पाल ओढेर बस्ने भनेर पुरानै घर भएको ठाउँ फर्किएर बस्यौ ।’ सरकारले दिएको तीन लाखमा थप तीन लाख ऋण थपेर एक तले घर बनाएको उनले सुनाइन् । ‘जागिर छैन, पेन्सन आउँदैन, घर त बनाउनुपर्यो, ऋण नै गरेर पनि घर बनाएर बसेका छौँ,’ उनले भनिन् ।
‘घरीघरीका भूकम्पले झनै त्रास थप्यो’
७९ वर्षीय शेरबहादुर घले भूकम्पको बेला छिमेकीको चिल्लीबिल्ली देख्दा शरीर नै जिरिंग हुने बताउँछन् । ‘भूकम्प जाँदा करेसाबारीमा सरसफाइ गर्दै थिए, ड्वाङ/ड्वाङ आवाज आयो,’ उनले भने,‘उब्बिएर हेर्छु घर त एकैचोटी ढलेका छन्, जमिन हल्लिएर मान्छे पनि उब्बिन नसक्ने भएँ, यसो मकैबारीतिर हेर्छु त मान्छे चिच्याउँदै छपक्कै भइसकेका छन् ।’
घरी घरी आएको भूकम्पले झनै त्रास थपेको उनले सुनाए । ‘कोही आमा हरायो भनेका छन्, कोही छोराछोरी हरायो भनेका छन्, रोएका छन्, कराएका छन्,’ उनले भने,‘केटाहरु मान्छे च्यापिएको छ भन्दै घरतिर दौडिएका छन्, यो गाउँमा एउटा सन्नाटा थियो ।’ केही आधा बचेका घरभित्रबाट चामल निकालेर मकैबारीमा पकाएर बाँडीचुँडी खाएको उनलाई अझै सम्झना छ । ‘त्यो दिन सम्झँदा निकै नरमाइलो लाग्छ, त्यो दिन सम्झनै मन लाग्दैन,’ उनले भने ।
‘घर बनाउँदाको ऋण अझै तिर्न सकेको छैन’
देशभर पुनर्निर्माणको सन्देश दिन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पको एक वर्षपछि २०७३ वैशाख १ गते बारपाकका गोपाल विकको घर शिलान्यास गरिन् । उनै गोपालले घर बनाउँदाको ऋण अझै तीर्न सकेका छैनन् ।
‘९ कोठे घर बनाउन अनुदानको तीन लाखमा थपेर बनाउँदा १२ लाख जति लाग्यो,’ उनले भने,‘अझै ६ लाख ऋण घर बनाउँदाको नै छ, ऋण र ब्याज तीर्न सकेको छैन ।’ सरकारले दिएको तीन लाखले घर निर्माणको सामाग्री खरिद गर्न पनि नपुगेको उनले बताए । ‘ग्रील उद्योग सञ्चालन गर्थेँ, त्यो पनि अहिले छाडेको छु,’ उनले भने,‘ घर बनाउनै पर्यो, भूकम्पले ऋण लगाएर गयो ।’
