आज देश-दुनियाँमा के-के भयो ?

वैशाख ८, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको खबरले आज विश्वभरको ध्यान तानेको छ । इस्टरका अवसरमा आइतबार सेन्ट पिटर्स स्क्वायरमा उपस्थिति देखाएको एक दिनपछि भ्याटिकनले वक्तव्य जारी गर्दै पोपको निधन भएको जनाएको छ । यता देशमा भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएको खबर चर्चाको विषय बनेको छ ।

२० दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलन र संसदीय समितिमा जारी विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलको पृष्ठभूमिमा शिक्षामन्त्री विद्या भट्टराईले सोमबार अपराह्न राजीनामा दिएपछि शिक्षामन्त्री र प्रधानमन्त्रीबीचको चिसोपनालाई इंगित गरेको छ । संसद्‍को शिक्षा, स्वास्थ्य समितिमा विद्यालय शिक्षा विधेयकका पेचिला दफा टुंगो लाग्न सकिरहेको छैनन् । शिक्षामन्त्रीको राजीनामाले यो प्रक्रिया नै थप पेचिलो बन्ने निश्चित छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले कान्तिपुरलाई जानकारी दिए । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौंकेन्द्रित प्रदर्शन जारी राखेका छन् । शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष ननिस्किएको अवस्थामा शिक्षामन्त्रीको राजीनामा आएको हो ।

सडकमा लत्रिएको बिजुलीको तारमा छोएर तापलेजुङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप दुई जना गम्भीर घाइते भएका छन्। यात्रु लिएर पाथीभरातर्फ जाँदै गरेको मे१ज ३०११ नम्वरको जीप पाथीभरा क्षेत्रको सेवारो चोकमा आज बिहान दुर्घटनामा परेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई आह्वान गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए ।

गभर्नर नियुक्ति विवादबारे सर्वोच्च अदालतमा परेको रिट दोस्रो दिन पनि हेर्न नभ्याइने भएको छ । न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा परेको मुद्दा हेर्न नभ्याइने मा परेको हो । सरकारले गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रोकीपाउन ‘प्रतिषेध मिश्रित परमादेश’ माग गरी शुक्रबार पूरक रिट पेस गरेका थिए ।

पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ । इस्टरका अवसरमा आइतबार सेन्ट पिटर्स स्क्वायरमा उपस्थिति देखाएको एक दिनपछि भ्याटिकनले वक्तव्य जारी गर्दै पोपको निधन भएको जनाएको हो ।

कान्तिपुर

Link copied successfully