भ्याटिकन सिटी — पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ । इस्टरका अवसरमा आइतबार सेन्ट पिटर्स स्क्वायरमा उपस्थिति देखाएको एक दिनपछि भ्याटिकनले वक्तव्य जारी गर्दै पोपको निधन भएको जनाएको हो ।
'प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, मैले गहिरो दुःखका साथ हाम्रा पवित्र पिता फ्रान्सिसको निधनको घोषणा गर्नुपरेको छ,' कार्डिनल केभिन फारेलले भ्याटिकनद्वारा जारी वक्तव्यमा उल्लेख छ, 'आज बिहान ७ः३५ बजे (०५:३५ जिएमटी) रोमका बिशप फ्रान्सिस पिताको घरमा फर्किनुभयो । उहाँको सम्पूर्ण जीवन प्रभु र चर्चको सेवामा समर्पित थियो ।'
फ्रान्सिस यसै वर्ष निमोनियाका कारण दुई पटकसम्म गम्भिर विरामी परेका थिए । उनी ३८ दिन अस्पतालमा बिताएर २३ मार्चमा डिस्चार्ज भएका थिए । गम्भीर बिमारीपछि आराम गरिरहेका फ्रान्सिस इस्टरका अवसरमा आइतबार सेन्ट पिटर्स बेसिलिका बालकोनीमा देखा परेर अनुयायीलाई खुशी पारेका थिए ।
आइतबार उनले सेन्ट पिटर्स स्क्वायरमा भीडलाई हात हल्लाउँदै ‘इस्टर’ शुभकामना दिएका थिए । त्यस क्रममा आफ्नो परम्परागत ‘उर्बी एट ओर्बी’ (सहर र विश्वलाई) विचारको स्वतन्त्रता र सहिष्णुताको आह्वान गरेका थिए ।
