ताप्लेजुङ दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

वैशाख ८, २०८२

आनन्द गौतम

Taplejung accident update: Identities of the four deceased

ताप्लेजुङ — ताप्लेजुङमा सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जीप दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा चालक ताप्लेजुङको फुङलिङ नगरपालिका-१० का ४२ वर्षीय दुर्गा भट्टराई, यात्रुहरू ललितपुर महानगरपालिका-१० की १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका-१५ का ७० वर्षीय विनोद पौडेल र उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल रहेका छन्। अहिले मृतकको शव उठाएर जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ।

दुर्घटनामा परी ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य गम्भीर घाइते भएकी छन् भने उनको छोरा १० वर्षीय भबिमय आचार्य पनि घाइते छन्। उनी बोल्न सक्ने अवस्थामा छन्। 

सोमबार बिहानै यात्रु लिएर पाथीभरातर्फ जाँदै गरेको मे१ज ३०११ नम्वरको जीप पाथीभरा क्षेत्रको सेवारो चोकमा बिजुलीको पोलबाट लत्रिएको तारमा छोएपछि आगलागी र दुर्घटनामा परेको थियो । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully