दुई जना गम्भीर घाइते
ताप्लेजुङ — ताप्लेजुङमा सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप दुई जना गम्भीर घाइते भएका छन्।
यात्रु लिएर पाथीभरातर्फ जाँदै गरेको मे१ज ३०११ नम्वरको जीप पाथीभरा क्षेत्रको सेवारो चोकमा आज बिहान दुर्घटनामा परेको थियो। बिजुलीको पोलबाट लत्रिएको तारमा जीपले छोएपछि आगलागी भएको र दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए।
उनका अनुसार दुई पुरुष र दुई महिला गरी चारजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । उनीहरू आमा छोरा हुन् । आमाको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि लैजान हेलिकोप्टर झिकाउने प्रयास भइरहेको रावलले जानकारी दिए। उनका १० वर्षीय छोराको पनि उपचार भइरहेको छ।
जीप यात्रु लिएर बिहान करिब ५ बजेतिर सदरमुकाम फुङलिङबाट हिँडेको थियो। दुर्घटनामा परी मृत्यु भएका चार जनाको शव नचिनिने अवस्थामा रहेको स्थानीयले जनाएका छन् । उनीहरुको पहिचान खुलेको छैन।
