सिंहदरबारभित्र राप्रपाको प्रदर्शन

वैशाख ८, २०८२

विवेक पोख्रेल

RP's demonstration inside the Singha Darbar

काठमाडौँ — राप्रपा शीर्ष नेताले आइतबार सिंहदरबारभित्र प्रदर्शन गरेका छन्। निषेधित क्षेत्र तोड्ने र सामूहिक गिरफ्तारी दिने उद्देश्यसहित राप्रपाले काठमाडौंमा प्रदर्शन आयोजना गरेको थियो। त्यस क्रममा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले सिंहदरबारभित्र प्लेकार्डसहित राजतन्त्रको पक्षमा नाराबाजी गरेका हुन्।

पार्टीको संसदीय दलको कार्यालयबाट निस्कने क्रममा नेताहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रहरीले अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर अर्याल र किरण दुवाललाई निषेधित क्षेत्र तोडेको भन्दै नियन्त्रणमा लिएको थियो । उनीहरू आइतबार साँझ नै रिहा भइसकेका छन् । 

सिंहदरबारबाट फुत्किएर प्रदर्शनस्थल पुगेका राप्रपा सांसद दीपकबहादुर सिंहले सहभागीलाई सम्बोधन गर्दै सिंहदरबारमा निषेधित क्षेत्र तोडेर देखाएको बताएका थिए । राप्रपाका सांसद एवम् उपाध्यक्ष विक्रम पाण्डेले शान्तिपूर्ण जुलुसमा धरपकड हुनु अन्याय भएको धारणा राखे । ‘जनताले परिवर्तन खोजेका छन्, हाम्रो आन्दोलनको स्वरूप क्रमिक रूपमा अघि बढ्छ,’ पाण्डेले भने, ‘शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको छ ।’

राप्रपाले सिंहदरबार परिसरबाट आफ्ना नेतालाई पक्राउ गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको जनाएको छ । आकस्मिक बैठक बस्दै राप्रपाले सरकारको यस किसिमको रवैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्रको भएको बताएको छ ।

‘स्वतन्त्रतापूर्वक हिँड्डुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार कुण्ठित भएको छ,’ राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाले आगमी दिनमा थप सशक्त ढंगबाट विरोध र प्रतिवाद गर्नेछ ।’

यसैबीच राप्रपा महामन्त्री तथा सांसद धवलशमशेर राणालाई हाजिरी जमानीमा छाडिएको छ । चैत १५ मा तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि राणा पक्राउ परेका थिए । गिजाको क्यान्सरका बिरामी राणालाई थप उपचारको आवश्यकताका आधारमा सरकारी वकिलको सहमतिमा छाडिएको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

राणाले भारतको मुम्बईमा उपचार गराउँदै आएका थिए । गिजामा सानो डल्लो देखिएको र यहाँका चिकित्सकले जाँच गर्दा पुनः क्यान्सरको सम्भावना हुन सक्ने अनुमानपछि थप उपचारका लागि उनलाई छाडिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले राणाविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । 

‘हामी मिल्ने हो भने व्यवस्था अहिले नै परिवर्तन हुन्छ’

RP's demonstration inside the Singha Darbar

राजेन्द्र लिङ्देन, राप्रपा अध्यक्ष 

निषेधित क्षेत्रमा किन प्रदर्शन गर्नुभयो ?

हामीले मुख्य रूपमा निषेधित क्षेत्रमा प्रदर्शन गरी सरकार, आमजनता र विश्व समुदायको ध्यानाकृष्ट गर्ने कार्यक्रम बनाएका थियौं । हामीले निषेधित क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्ने बारम्बार भनिराखेका थियौं । सरकारको नजिकै गएर आफ्नो कुरा सुनाउने हाम्रो उद्देश्य थियो । आजको प्रदर्शन संख्याका हिसाबले भन्दा पनि सन्देशमूलक होस् भन्ने थियो । कार्यक्रम सफल भएको छ । 

माग सरकारले सुन्यो त ?

सरकारले हाम्रो प्रदर्शनबाट केही न केही सन्देश लिएको हुनुपर्छ । छलफल र कुराकानीबाट यसको परिणाम थाहा हुनेछ । हाम्रा मुद्दा बाँकी नै छन् । हाम्रा मुद्दासहित चैत १५ मा काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनाको न्यायिक छानबिन हुनुपर्छ । पक्राउ परेका हाम्रा नेता र अन्यको रिहाइ होस् भन्ने माग पनि प्राथमिकतामा राखेका थियौं । यसमा नागरिक समाजले ध्यान पुर्‍याउनेछ । हामी हाम्रा कार्यक्रम निरन्तर गरिराख्छौं ।

तपाईंहरू पूर्वराजालाई शनिबार भेटेपछि सरकारले विज्ञप्ति जारी गरेर कानुनविपरीत गए कडा कारबाही गर्ने चेतावनी दियो, पूर्वराजालाई किन भेट्नुभयो ? 

यो सरकार र गणतन्त्र यति कमजोर छ कि यसबारे धेरै टिप्पणी गर्न चाहन्नँ । यसमा कोही भ्रममा पर्नु पर्दैन । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र अहिले लोकतन्त्रको नाममा लुटतन्त्र भइरहेको छ, त्यसको निरन्तर विरोधमा राप्रपा छ । यो लुकाएको विषय होइन । हामी मिल्ने हो भने अहिले नै यो व्यवस्था परिवर्तन हुन सक्छ । यसका लागि राजालाई भेटिराख्न, छुट्टै षड्यन्त्र गरिराख्न जरुरी छैन ।

हामी घोषित रूपमै लामो समयदेखि गणतन्त्रको विरुद्धमा छौं । मैले बारम्बार भनेको छु, आन्दोलन शान्तिपूर्ण हुन्छ । हामी शान्तिपूर्ण ढंगले काठमाडौंमा ५० औं हजार मानिस जम्मा गरेर बालुवाटार, सिंहदरबार घेरौंला, धर्ना बसौंला । तर हामी कुनै पनि प्रकारको हिंसात्मक गतिविधि गर्दैनौं ।

आगामी आन्दोलनको रूप के हुन्छ ?

संसद् र सडक दुबै ‘फोरम’ लाई सशक्त रूपले उपयोग गर्छौं ।

राप्रपाले संविधान बाहिरका माग राखेर प्रदर्शन गरेको आरोप छ नि ?

आन्दोलनका क्रममा सबै कुरा सरकारले भनेजस्तो गर्न सकिँदैन । मैले बिहान मात्र भनें– यति बाटो मात्र हिँड, यति मात्र बोल, यति नबोल, यति मिटरभन्दा वर नआऊ । तर आन्दोलनमा पालना गरिँदैन । तर यस क्रममा अशान्ति, हिंसा हुने काम गर्दैनौं । हामी भद्र अवज्ञाका रूपमा आन्दोलन गर्छौं ।

आज सिंहदबारमा भद्र अवज्ञाका रूपमा प्रदर्शन गर्‍यौं । जहाँसम्म संविधान उल्लंघनको प्रश्न छ, संविधानमा हाम्रा थुप्रै विमति छन् । यसका थुप्रै व्यवस्था समस्याका कारक छन् । संविधानमा केही यस्ता व्यवस्था छन्, जहाँ संविधानकै आलोचना गर्न पाइन्छ, संविधानविरुद्ध उभिन पाइन्छ । संविधानमा राष्ट्रिय अखण्डता, जनतामा रहेको सार्वभौमसत्ता बाहेक सबै विषय परिवर्तनीय छ । 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully