यो व्यवस्था परिवर्तन गर्न राजालाई भेटिराख्नु पर्दैन : राजेन्द्र लिङ्देन [अन्तर्वार्ता]

प्रहरीले छाडेलगत्तै लिङ्देनलाई सोध्यौं- राप्रपाले निषेधित क्षेत्रमा किन प्रदर्शन गर्नुपरेको ?

वैशाख ७, २०८२

कान्तिपुर संवाददाता

There is no need to meet the king to change this system: Rajendra Lingden [interview]

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी कडा कारबाहीको चेतावनी दिएको थियो । त्यहीअनुसार आइतबार सडकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्‍यो ।सिंहदबारभित्रै प्रदर्शन गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत पक्राउ परे । उनीहरु सबै साँझ रिहा भए । राजतन्त्र, हिन्दु राज्य पुनस्थापना र संघीयता खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएको राप्रपाले अगामी दिनमा शान्तिपूर्ण आन्दोलन जारी राख्ने अध्यक्ष लिङ्देन बताउँछन् । प्रहरीले छाडेलगत्तै लिङ्देनसँग कान्तिपुरका गंगा बीसीले गरेको संक्षिप्त कुराकानी :

राप्रपाले निषेधित क्षेत्रमा किन प्रदर्शन गर्नुपरेको ?
मुख्य रूपमा आज हामीले निषेधित क्षेत्रमा प्रदर्शन गरी सरकार र विश्व समुदायका आम जनताको ध्यान आकर्षित गर्ने कार्यक्रम बनाएका थियौं । आजको प्रदर्शन ठूलो संख्याभन्दा सन्देशमूलक होस् भन्ने थियो । हामीले निषेधित क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्ने बारम्बार भनिराखेका थियौं । हाम्रो कार्यक्रम सफल भएको छ । कतिपय साथीले निषेधित क्षेत्रमा किन गरेको, अरु क्षेत्रमा गरेको भए हुन्थ्यो भनेका छन् । सरकारको नजिकमै गएर आफ्ना कुरा सुनाऔं भनेर निषेधित क्षेत्रमा गरेको प्रदर्शन सफल भएको छ । हामीलाई साथ र सहयोग भयो ।

तपाईँको माग सरकारले सुनेजस्तो लाग्यो त ?
सरकारले हाम्रो प्रदर्शनबाट केही न केही सन्देश लिएको हुनुपर्छ । यसको छलफल र कुराकानीबाट परिणाम थाहा हुनेछ । आजको प्रदर्शन सफल भएको छ । हाम्रा मुद्दा बाँकी नै छन् । हामीले चैत १५ मा काठमाडौंको तीनकुने क्षेत्रमा भएको प्रदर्शनबाट सिर्जित घटनाको न्यायिक छानबिन हुनुपर्छ । पक्राउ परेका हाम्रा नेता र अन्यको रिहाइ होस् भन्ने कुरा प्राथमिकतामा राखेका थियौं । यसमा सरकारले यसमा विचार गर्नेछ र नागरिक समाजले ध्यान पुर्‍याउनुहुनेछ । हामी हाम्रा कार्यक्रम निरन्तर गरिराख्छौ‌ं ।

तपाईं लगायतका नेतालाई पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार भेट गरेको सार्वजनिक भएको छ । प्रदर्शनको अघिल्लो दिन पूर्वराजालाई किन भेट्नुभएको ? 
यो सरकार र गणतन्त्र यति कमजोर छ कि यसबारे धेरै टिप्पणी गर्न चाहन्नँ । कोही भ्रममा पर्नु पर्दैन । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र अहिले लोकतन्त्रको नाममा जुन लुटतन्त्र भइरहेको छ, राष्ट्रिय प्रजातन्त्र पार्टी त्यसको निरन्तर विरोधमा छ । यो लुकाएको विषय होइन । हामी मिल्ने हो भने अहिले नै यो व्यवस्था परिवर्तन गर्ने पक्षमा छौं । यसका लागि राजालाई भेटिराख्नुपर्ने, यसका लागि छुट्टै षडयन्त्र गरिख्नुपर्ने, परिपञ्च गरिराख्नुपर्ने छैन । हामी घोषित रूपमै लामो समयदेखि यो गणतन्त्रको विरुद्धमा छौं ।

मैले बारम्बार भनेको छु, आन्दोलन शान्तिपूर्ण हुन्छ । हामी शान्तिपूर्ण ढंगले काठमाडौंमा ५०औं हजार मानिस जम्मा गरेर बालुवाटार, सिंहदरबार घेरौंला, धर्ना बसौंला । तर हामी कुनै पनि प्रकारको विध्वंस, हिंसात्मक गतिविधि गर्दैनौं । हामी हिंसात्मक गतिविधिमा भविष्य पनि देख्दैनौं ।There is no need to meet the king to change this system: Rajendra Lingden [interview]

आगामी आन्दोलनको रूप कस्तो हुन्छ ?
हामी संसद् र सडक दुवैको उपयोग गरिरेका छौं । दुवै फोरमलाई सशक्त रूपले उपयोग गर्छौं ।

सरकारले त राप्रपा संविधान र कानुनभन्दा बाहिरका माग राखेर प्रदर्शनमा आएको भनिरहेको छ नि ?
आन्दोलनको क्रममा कति कुरा सरकारले भनेजस्तो गर्न सकिँदैन । मैले बिहान मात्र भनेँ- यति बाटो मात्र हिँड । यति मात्र बोल । यति नबोल । यति मिटरभन्दा वर नआऊ । तर यी कुरा आन्दोलमा पालना गरिँदैन । आज गरिएन । तर यो क्रममा कुनै पनि अशान्ति हुने, हिंसा हुने काम भएनन् । हामी भद्र अवज्ञाका रूपमा आन्दोलन गर्छौं ।

आज पनि हामीले सिंहदबारमा भद्र अवज्ञाको रुपमा प्रदर्शन गर्‍यौं । भविष्यमा हामी त्यहीअनुसार जानेछौं । जहाँसम्म संविधान उल्लंघनको प्रश्न छ, यो संविधानमा थुप्रै विमति छन् । यसमा थुप्रै व्यवस्था समस्याका कारक छन् । संविधानमा केही यस्ता व्यवस्था छन्, जहाँ संविधानकै आलोचना गर्न पाइन्छ । संविधानविरुद्ध उभिन पाइन्छ । संविधानमा राष्ट्रिय अखण्डता, नेपाली जनतामा रहेको सावैभौमसत्ता विषयबाहेक सबै विषय परिवर्तनीय छ । संविधान, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, निर्वाचन प्रणाली,  नियुक्ति प्रणाली यी सबै मान्दिनँ, परिवर्तन हुनुपर्छ भनेर आवाज उठाउन पाइन्छ । तर संविधानमा रहेका कतिपय विषय मान्दै अघि बढ्ने र कतिपय विषय मान्दैनौं भनेर आन्दोलन गर्ने पाइने व्यवस्था यो संविधानमा छ ।

राप्रपाको आगामी आन्दोलन शान्तिपूर्ण हुन्छ भनेर ग्यारेन्टी गर्न सक्नुहुन्छ त ?
हो । हामी आगामी दिनमा निरन्तर रूपमा जनतालाई जागरुक र सचेत गराउनेछौं । मुलुक अहिलेकै अवस्थामा रहिराख्न सक्दैन र अब धेरै पर्खन सक्ने अवस्था छैन । मुलुकलाई थप बर्बाद हुन नदिन परिवर्तन आवश्यक छ । मुलुकको परिवर्तनका लागि सबैले बलियो दबाब सिर्जना गरी वर्तमान सत्तासीनलाई सच्चिन मौका दिने हो ।बाध्य पार्ने हो । त्यसका लागि शान्तिपूर्ण आन्दोलनका विभिन्न स्वरूप अघि बढाउनेछौं ।

कान्तिपुर

Link copied successfully