काठमाडौँ — इकान्तिपुरमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कांग्रेस महामन्त्री गगन थापाका राजनीतिक भाषण र रेक्टर खड्ग केसीलाई त्रिविको निमित्त उपकुलपतिको जिम्मा दिएका समाचार प्रकाशित भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच प्रतिशत पनि जनमत नभएकाहरूले लोकतान्त्रिक व्यवस्था परिवर्तन गरी सत्ता हत्याउन खोजेको बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजना भएको दक्षिण एसियाली किसान फेडेरेसनको दोस्रो सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त धारणा राखेका हुन् । मुलुकमा प्रतिगमन ल्याउनका लागि त्यस्ता क्रियाकलाप भएको बताउँदै त्यसका लागि मुलुकमा अराजकता ल्याउन खोजिएको ओलीको भनाइ थियो ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनेपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरे पनि त्यसअनुसार काम हुन नसकेको जिकिर गरे।
कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्ग केसीलाई मंगलबार निमित्त उपकुलपतिको जिम्मेवारी दिएका छन् । त्रिवि ऐनमा उपकुलपति रिक्त रहे रेक्टरलाई बढीमा ३ महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिन सकिने व्यवस्था छ ।
चालु आर्थिक वर्षको नौ महिनामा घरजग्गा कारोबारबाट ३३ अर्ब २२ करोड ४८ लाख ७८ हजार रुपैयाँ राजस्व उठेको छ । चालु आर्थिक वर्षमा सबैभन्दा बढी चैतमा राजस्व उठेको भूमि व्यवस्थापन तथा विभागले जनाएको छ ।
ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयमा दिँदै आएको दुई अर्बभन्दा बढी अमेरिकी डलरको संघीय अनुदानमा रोक लगाएको छ । प्रतिष्ठित विश्वविद्यालयले व्हाइट हाउसले पठाएका सर्तहरुलाई अस्वीकार गरेको थियो । त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अनुदानमा रोक लगाएको हो ।
