सरकारले नागरिकको अपेक्षाअनुसार गति लिन सकेन : गगन थापा

वैशाख २, २०८२

न्युज एजेन्सी नेपाल

The government could not move up to the expectations of the citizens: Gagan Thapa

काठमाडौँ — कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनेपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरे पनि त्यसअनुसार काम हुन नसकेको जिकिर गरे। 

महामन्त्री थापाले भने, ‘हामीले के ठानेका थियौँ भने दुई वटा ठूला-ठूला पार्टी मिलेर सरकार बनिसकेपछि संविधानमा पनि केही कुरा बदलाव ल्याउने कुरा तत्काल प्रारम्भ गर्छौँ। खास गरी गभर्नेन्समा व्यापक सुधार गर्छौँ। व्यक्तिगत रूपमा त मैले यस पटक केही भूमिका लिनुपर्छ भन्दै गर्दा म सरकारमा बसेर भूमिका लिन्नँ तर यो सरकार सफल बनाउने, यो सरकारले परिणाम दिने कुराको सन्दर्भमा व्यक्तिगत रूपमा ‘वार फुटिङ’मा काम गर्दछु, व्यक्तिगत रूपमा जोखिम उठाउन, गाली खान तयार छु, किनभने अब काम गर्नुपर्छ। परिणाम दिनुपर्छ, जिम्मा पनि लिनुपर्छ।'

उनले सरकारी कामकारबाहीमा सुधार, सुशासन प्रवर्द्धन लगायतका विषयहरूमा सरकारले जोड दिँदै काम गर्ने अपेक्षा गरे पनि सरकार ट्याक्टरको गतिमा अघि बढिरहेको बताए । महामन्त्री थापाले सरकारले नागरिकको अपेक्षाको गतिअनुसार काम गर्न नसकेको स्वीकार गरे ।

उनले भने, 'विशेष गरी ‘इकोनोमिक फ्रन्ट’मा काम गर्ने हो। त्यस कारणले सुरुको चरणमा जोतिएर गएर काम गरेको पनि हो। उत्साहका साथमा धेरै कुरा बदल्ने भनेर लागेको पनि हो। तर बिस्तारै के लाग्न थालेको छ भने देशलाई ‘कंकर्ड’को स्पिड चाहिएको छ। आज एउटा, भोलि एउटा, पर्सि एउटा, एउटा माहौल बनाउनुपर्नेछ, यहाँ राम्रो भएको छ भनेर। सरकार ट्याक्टरको स्पिडमा छ। मान्छेको अपेक्षाको गतिअनुसार काम हुन सकेको छैन। गति नै पक्रन सकेन।’

महामन्त्री थापाले युद्धस्तरमा काम गर्नुपर्ने भए पनि नेतृत्व तहबाट काम हुन नसकेको आरोप लगाए ।

न्युज एजेन्सी नेपाल

Link copied successfully