काठमाडौँ — डढेलो, सवारीसाधन र कलकारखानाले उत्सर्जन गरेको धूलो, धूवाँ र प्रदूषणका कारण हवाई रुटमा पर्ने आकाश बाक्लो तुवाँलोले ढाक्दा एक सातामा कम्तीमा २ सय २६ वटा आन्तरिक उडान रद्द भएका छन् । काठमाडौं अवतरण हुने क्रममा रहेका अन्तर्राष्ट्रिय उडानका जहाजले पनि सिमराको आकाशमा २ घण्टासम्म ‘होल्ड’ हुनुपरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, चैत १७ आइतबारदेखि २३ सम्म ७ वटा आन्तरिक वायुसेवा कम्पनीका दुईतर्फी गरी २ सय २६ वटा आन्तरिक उडान रद्द भएका हुन् । गौचरस्थित आन्तरिक टर्मिनल कार्यालयका अनुसार एक सातामा दुईतर्फी गरेर बुद्धले ६२, यतीले ५८, श्रीले ४०, समिटले २२, सीताले १६, ताराले १८ र नेपाल वायुसेवा निगमले १० वटा उडान रद्द गरेका छन् । उडान रद्द हुने गन्तव्यमा काठमाडौं, पोखरा, लुक्ला, भैरहवा, भरतपुर, जनकपुर, तुम्लिङटार, ताप्लेजुङ, भोजपुर, फाप्लु, विराटनगर, भद्रपुर मुख्य विमानस्थल हुन् ।
पाइलटहरूका अनुसार पोखराबाट पश्चिम धनगढी, नेपालगन्जको दाँजोमा पूर्व भैरहवा, भरतपुर, काठमाडौं, लुक्ला हुँदै भद्रपुरसम्मको आकाश प्रदूषित तुवाँलोले ढाकिएको छ । ‘काठमाडौंबाट उडेपछि ९ हजार फिटमाथि पुगेपछि मात्रै सफा आकाश देखिन्छ,’ एटीआर विमानका एक क्याप्टेनले भने, ‘त्यसभन्दा मुनि धूवाँ, धूलोको बाक्लो तह जमेको छ । उडिरहेको जहाजले भुइँ सतह हेर्न निकै तल आउनुपर्छ ।’
जहाजहरूको प्रकार तथा गतिका आधारमा उपकरणको सहायताबाट जहाजलाई अवतरण गराउन ककपिटबाट न्यूनतम १६ सय मिटर परसम्म देखिने भिजिबिलिटी आवश्यक पर्छ । गत बिहीबार त काठमाडौं विमानस्थलको भिजिबिलिटी १२ सय मिटरसम्ममा झरेको थियो । जसका कारण पर्यटक राखेर उडिरहेका तीन वटा माउन्टेन फ्लाइट काठमाडौं विमानस्थलमा अवतरण हुन सकेनन् । प्रवक्ता रिन्जी शेर्पाका अनुसार, ती विमान भैरहवा र पोखरा ‘डाइभर्ट’ भए । पछि मौसममा सुधार आएपछि काठमाडौं फर्किए ।
सामान्य अवस्थामा पाइलटले जहाजभित्रबाट आँखाले देख्न सक्ने दूरी (भिजिबिलिटी) ५ हजार मिटर हुँदा भूसतह र जहाजमा उपलब्ध हुने उपकरण र यन्त्रहरूको भर नपर्दा पनि हुन्छ । बाक्लो तुवाँलोका कारण केही दिनयता अधिकांश पाइलटहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हेरेर गर्ने ‘भीएफआर’ उडान गर्न सकिरहेका छैनन् । ५ हजार मिटरभन्दा कम भिजिबिलिटीमा उडान ठप्पै नभए पनि विमानस्थल वरिपरिको दृश्य सफा नहुँदा पाइलटहरूले प्रत्यक्ष आँखाले हेरेर मात्रै उडान गर्न नसकेर जहाज र विमानस्थलको सतहमा भएका उपकरण, नेभिगेसन यन्त्रहरूको सहायतामा आईएफआर प्रणाली अपनाउँदै उडानहरू गर्नुपरेको काठमाडौं विमानस्थलका प्रवक्ता शेर्पाले बताए ।
काठमाडौं विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, ‘भिजिबिलिटी’ घटेका कारण आन्तरिकबाहेक अन्तर्राष्ट्रिय उडानको तालिकामा पनि असर परेको छ । समयमै जहाज उडान तथा अवतरण गराउन सकिएकौ छैन । कम्तीमा आधा घण्टादेखि २ घण्टासम्म अन्तर्राष्ट्रिय उडानहरू सिमरामाथिको आकाशमा होल्डमा परिरहेका छन् । ‘यो फोहोर सफा गर्न कि त ठूलो हावाहुरी चल्नुपर्छ कि पानी पर्नुपर्छ,’ महाप्रबन्धक निरौलाले भने, ‘अहिलेको अनुमानअनुसार फोहोर बढ्ने र लम्बिने प्रक्षेपण रहेको छ ।’
मुख्य पर्यटकीय सिजनमै उडानहरू रद्द हुँदा आर्थिक क्षतिसँगै नेपालको पर्यटन क्षेत्रका बारेमा विश्वभर नराम्रो सन्देश गइरहेको भन्दै वायु सञ्चालकहरू चिन्ता व्यक्त गर्छन् । पर्यटकीय सिजनमा वायुसेवा अपरेटरहरूले पोखरा, जोमसोम र लुक्ला क्षेत्रका उडानबाट ‘डलरफेयर’ मा आम्दानी गर्ने गरेका छन् । तर, यही बेला उडानहरू रद्द हुँदा वायुसेवा कम्पनीहरूले हिमाली तथा पहाडी जिल्लाका पर्यटकीय गन्तव्यमा औसत प्रतिउडान ९ लाख र ‘ट्रंक रुट’ (सुगम रुट) को प्रतिउडानमा ११ लाख रुपैयाँ बराबरको आम्दानी गुमिरहेको वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले बताए ।
अघिल्ला वर्षमा प्रदूषणयुक्त तुवाँलोका कारण पहिले पहाडी तथा हिमाली भेगका विमानस्थलमा मात्रै प्रभावित हुँदा उडान रद्द हुन्थे । तर यस पटक ‘ट्रंक रुट’ उडानहरू पनि रद्द भइरहेका छन् । ‘अघिल्ला वर्षमा प्रदूषण मिसिएको तुवाँलोका कारण उडानहरू रद्द नभएका होइनन् तर यस पटक प्रदूषणका कारण लगालग उडानमा असर पार्यो,’ कार्कीले भने, ‘साताव्यापी असर यसअघि भोगेको अनुभव छैन । तुवाँलो लागिहाले पनि पानी परिहाल्थ्यो । तर यो पटक वायुसेवा कम्पनीहरूलाई प्रत्यक्ष मार पर्यो । विदेशमा पनि राम्रो सन्देश गएको छैन ।’
प्रदूषणकै कारण उडान प्रभावित हुँदा करोडौं आम्दानी गुमाउनुपरेको भन्दै वायुसेवा सञ्चालक संघका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई शनिबार भेट गरी नेपालले कार्बन उत्सर्जनबापत धनी राष्ट्रबाट प्राप्त गर्ने क्षतिपूर्ति रकम उपलब्ध गराउन माग गरेका थिए । ‘आकाशमा पनि ककपिटमा पाइलट तथा यात्रुहरूको आँखा पोल्ने गरेको समस्या देखिएको भनेका छन्,’ समिट एयरका प्रबन्ध निर्देशकसमेत रहेका संघका अध्यक्ष कार्कीले भने, ‘सिजनकै मुखमा देखापरेको प्रदूषणले हामीलाई नसोचेको घाटा पुर्यायो । सगरमाथालगायतका क्षेत्रमा जानुपर्ने पर्यटकहरू उडान नहुँदा अलपत्र परेका छन् । विकसित मुलुकले कार्बन व्यापारमा प्रदान गर्ने क्षतिपूर्ति हामीलाई दिलाउन माग राखेका छौं ।’
