काठमाडौँ — सहकारी ठगीसम्बन्धी मुद्दामा रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई थुनामा पठाउन केहीबेरमा भैरहवा लगिँदै छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार आदेश दिएलगत्तै उनलाई प्रहरीले राति पक्राउ गरेको थियो ।
हवाइमार्गबाट भैरहवा लैजानका लागि उनलाई विमानस्थल लगिएको प्रहरीले बताएको छ ।
रूपेन्देहीका एसपी रञ्जितसिंह राठौरले उनलाई आज र भोलि रूपन्देही प्रहरीको हिरासतमा राखिने बताए । सोमबार उनलाई अदालतमा पेस गरिने छ ।
प्रहरीले शुक्रबार साँझ उनलाई निवासबाटै पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको थियो ।
सुप्रिम सहकारी ठगीको मुद्दामा गत माघ १३ मा रूपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको थियो । सहकारी ठगीमा तत्काल प्राप्त प्रमाणका आधारमा ‘प्रतिवादी (लामिछाने) ले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिएको’ भने पनि धरौटीमा छोड्ने आदेश दिएको थियो ।
उक्त आदेशलाई बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीले थुनामै राख्न आदेश जारी गरेका हुन् ।
सम्बन्धित समाचार :
