बारको निर्वाचन आज, बिहान ८ बजेदेखि मतदान

चैत्र २३, २०८१

कान्तिपुर संवाददाता

Bar Election Today, Voting from 8 am

काठमाडौँ — नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आज मतदान हुँदैछ। बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने छ।  यसपटक बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ।

तर मुलत: बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

मिश्र र श्रेष्ठ अलग-अलग प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। दुवैले न्यायालयको सुधारका लागि आ–आफ्नो प्रतिबद्धता अघि सारेका छन्। 

अध्यक्षका लागि स्वतन्त्र तीन जनाको उम्मेदवारी परेको छ । बारको अध्यक्षका लागि अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे  र अधिवक्ता आषिश पौडेलले पनि उम्मेदवारी दिएका छन्। बारको २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ५७ जना उम्मेदवार मैदानमा छन्। 

मिश्रको समूहबाट महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला उम्मेदवार छन् भने श्रेष्ठको समूहबाट अधिवक्ता यज्ञमणि न्यौपाने उम्मेदवार छन्। प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदात नौ हजार ९५७ रहेका छन् । काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेका छन् । काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालतको परिसरमा रहेको छ । यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully