काठमाडौँ — सार्वजनिक लेखा समिति बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीले कुलमान घिसिङको विषय उठाउन खोजेपछि विवाद भएको छ । मंगलबारको बैठकमा बीपी राजमार्ग, हुलाकी राजमार्गको विषयमा छलफलका लागि भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र सचिव उपस्थित छन् ।
मन्त्री उपस्थिति हुनेबित्तिकै सभापति ऋषिकेश पोखरेलले बैठकको कारबाही अघि बढाए । लगत्तै माओवादी सांसद अमनलाल मोदीले समसामयिक विषयमा धाराणा राख्न सुरुमै समय माग गरेका थिए । तर, सभापतिले बैठकको एजेन्डामा पालो आएपछि धारणाा राख्न आग्रह गरे ।
तर, मोदीले सार्वजनिक महत्त्वका विषयमा धारणाा राख्न पाउनुपर्ने माग राखे । मंगलबारको बैठकको एजेन्डा फरक रहेको भन्दै पछि बोल्न सत्तारुढ सांसदले आग्रह गरे । त्यसपछि सभापति पोखरेल र माओवादी सांसद मोदीबीच भनाभन भयो । मोदीले सभापति पोखरेलको राजीनामा माग गर्दै आएको विषय राखे । साथै कुलमानको विषय उठाउन लाग्दा सत्तारुढ सांसदले रोके ।
एमालेका तारा लामा तामाङ, कांग्रेसका रामकृष्ण यादव, मञ्जु खाण र मोहन बस्नेतले सभापति पोखरेललाई साथ दिए । एमालेका सांसद गोकुल बास्कोटाले पहिले एजेन्डामा छलफल गरेपछि मात्रै अर्को चरणमा समसामयिक विषयमा धरणाा गर्न आग्रह गरे ।
माओवादी सांसद मोदीलाई रास्वपाका मनिष झा र हरि ढकालले साथ दिए । होहल्ला भएपछि रास्वपा सांसद ढकालले बैठक कसले चलाउने हो भन्दै प्रश्न गरे । एमाले सांसद लामाले ढकालको प्रश्नमा जवाफ दिए, हामी हेर्न मात्र आएको हो ? रास्वपा सांसद ढकाल र झाले आफूहरूले सभापतिलाई सोधेको भन्दै जवाफ नदिन आग्रह गरे ।
