काठमाडौँ — ज्ञानेन्द्रलाई पार्टी सभापति बनाउन राप्रपालाई कांग्रेस सभापति देउवाको सुझाव, सिरहामा दलितमाथि ज्यादती घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षमाथि ५ दिन म्याद थपदेखि भ्रष्टाचार आरोपमा टर्कीएका राष्ट्रपतिका प्रमुख प्रतिद्वन्द्वी एकरेम इमामोग्लु पक्राउसम्मका खबर आज चर्चामा रहे ।
000
सिरहामा महायज्ञका नाममा दलितमाथि ज्यादती भएको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवमाथि अदालतबाट ५ दिनको म्याद थप भएको छ । सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार, आइतबार सिरहा जिल्ला अदालतले जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरमा उनीहरूमाथि अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको म्याद दिएको हो । उनीहरू शुक्रबार साँझ पक्राउ परेका थिए ।
000
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिमा आउन सुझाव दिएका छन् । कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको एक कार्यक्रममा आइतबार सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई आफूले राम्रोसँग चिनेको उल्लेख गर्दै उनी संवैधानिक राजा बन्नलायक नभएको बताएका हुन् । पछिल्लो समय राप्रपा हिन्दुराष्ट्र र राजतन्त्र स्थापनाका लागि भन्दै प्रदर्शन गरिरहेको छ । त्यही सन्दर्भमा देउवाले राप्रपालाई सुझाव दिँदै भने, 'उनी संवैधानिक राजा हुन लायक मान्छे होइनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् । राप्रपा पनि पछुताउँछ । बरु राप्रपाले पार्टीको सभापति बनाए हुन्छ ।'
000
टर्कीएको इस्तानबुल सहरका मेयर एकरेम इमामोग्लुलाई आइतबार एक अदालतले पक्राउ गर्न र भ्रष्टाचारको आरोपसम्बन्धी मुद्दाको टुंगो नलागेसम्म जेलमा राख्न आदेश दिएको छ । राष्ट्रपति रेसेप तैयप इर्दोगानका प्रमुख विरोधी तथा विपक्षी रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इमामोग्लुले आगामी राष्ट्रपतीय चुनावमा इर्दोगानलाई चुनौती दिने तयारी गरेका थिए ।
000
उद्योगीहरुले चौबीसै घण्टा बिजुली आवश्यक पर्ने उद्योगमा सूचना नदिइ नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ गरिरहेको बताएका छन् । नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघ आइतबार पत्रकार सम्मेलन गर्दै चैतयता दैनिक १२ घण्टा वा सो भन्दा बढी लोडसेडिङ भइरहेको जानकारी दिएका हुन् ।
000
प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार भएको खेलमा आर्मी, एपीएफ र सुदुरपश्चिम विजयी भएका छन् । आर्मीले लुम्बिनीलाई १३१ रनको फराकिलो अन्तरले हराउँदै उपाधितर्फ अग्रसर देखिएको हो भने एपीएफले गण्डकीलाई ३१ रनले हराएको हो र सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले पराजित गरेको हो ।
प्रधानमन्त्री कप क्रिकेट : आर्मीसँग लुम्बिनी १३१ रनले पराजित
प्रधानमन्त्री कप : आशिफ शेखको अर्धशतकमा एपीएफको पाँचौं जित
प्रधानमन्त्री कपमा सुदूरपश्चिमका किरणले बनाए कीर्तिमानी दुई शतक
