काठमाडौँ — उद्योगीहरुले चौबीसै घण्टा बिजुली आवश्यक पर्ने उद्योगमा सूचना नदिइ नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ गरिरहेको बताएका छन् । नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघ आइतबार पत्रकार सम्मेलन गर्दै चैतयता दैनिक १२ घण्टा वा सो भन्दा बढी लोडसेडिङ भइरहेको जानकारी दिएका हुन् ।
उद्योगीहरुले २०७५ वैशाखमा औद्योगिक क्षेत्रमा लोडसेडिङ अन्त्य भएको घोषणा गरे पनि उद्योगमा ०७५ देखि ०७६, ०७७ , ०७८, २०७९, २०८० र २०८१ फागुनसम्म हरेक महिना क्रमश: २ घण्टा, ४ घण्टा, ६ घण्टा ७, ८, १० घण्टा लोडसेडिङमा रहेको दाबी गरेका छन् ।
‘प्राधिकरण लोडसेडिङ गरेको छु भन्न सक्दैन, भन्दैन । तालिका माग्दा लोडसेडिङ नै छैन भन्ने झुठो र भ्रामक प्रचारबाजीमा लागिरहेका छन्,’ प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘२४ सै घण्टा विद्युत् आवश्यक पर्ने सिमेन्ट, स्टिल र धागो लगायत उद्योगमा घोषित लोडसेडिङ भइरहेको थियो । हरेक वर्ष पुस–माघदेखि जेठको अन्त्यसम्म लोडेसेडिङ गरिएको विषय प्रस्ट छ ।’
उद्योगीहरुले ४ सै घण्टा र उद्योगका लागि आवश्यक पर्ने क्षमतामा दिनुपर्ने माग गरेका छन् । ‘प्राधिकरणले दिउँसो पूरै विद्युत् दिएका छौं, राति काटेका छौं तर लोडसेडिङ होइन भन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा उद्योगहरु आधा समय चलाउने आधा समय बन्द गर्न मिल्दैन । २४ सै घण्टा नचलाउने हो भने उद्योगहरुले काम गर्न छोडछन् ती मेसिनरी कवाडीमा परिणत हुन्छ ।’
