महायज्ञका नाममा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्षसहित तीनै जना फरार

चैत्र ७, २०८१

विनय आजाद

Atrocities on Dalits in the name of Maha Yagya: All three absconded with the chairman of the rural municipality

सिरहा — सिरहाको औरही गाउँपालिका-५ स्थित औरहीमा महायज्ञ गर्ने नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्षसहित तीनै जना फरार भएका छन् । अध्यक्ष शिवजी यादव, आयोजक बगरंगी बाबा र पूर्ववडाध्यक्ष दिलीप यादव फरार भएका हुन् ।

घटना सार्वजनिक भएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी प्रमुख रमेश पण्डित बिहीबार दिउँसो घटनास्थल र गाउँपालिका कार्यालयमा गएका थिए । तर, उनीहरु नभेटिएको र सम्पर्कविहीन बनेको पण्डितले बताए ।

उनीहरु तीनै जनालाई सम्पर्कमा ल्याइदिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदित्यनारायण कर्णलाई आग्रह गरिएको पण्डितले जनाएका छन् । 'हामी घटनाबारे जानकारी लिन गएका थियौं,' उनले भने, 'तर, उनीहरु सबै भागेका रहेछन् ।'

गाउँपालिका अध्यक्ष यादवसहित तीनै जनाले यही चैत १७ देखि हुने महायज्ञका नाममा ३० वर्षदेखि बसोबास गर्दै आएका स्थानीय दीपक मल्लिकको घर गाउँपालिकाको डोजर लगाएर भत्काइदिएका थिए ।

अछूत भन्दै त्यहाँबाट हटाइएका मल्लिक परिवार अहिले गाउँकै एकान्तमा रहेको सामुदायिक विद्यालयको जग्गामा अस्थायी टहरा बनाएर बसिरहेका छन् ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully