काठमाडौँ — सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब, हरेक नेपालीको भागमा ९१ हजार, त्रिविअन्तर्गतका ३८ आंगिक र ३ सय सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु चुनाव सम्पन्नदेखि गाजामा इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या ४१३ पुग्योसम्मका खबर आज चर्चामा रहे ।
००००
गत फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४६.९१ प्रतिशत हो । हाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा करिब ९१ हजार रुपैयाँ बराबर पर्न आउँछ । गत असारमा प्रतिनेपाली ऋण करिब ८३ हजार थियो । गत असारसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।
००००
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ३८ आंगिकसहित करिब ३ सय सम्बन्धनप्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार ६५ प्रतिशत विद्यार्थी मतदानमा सहभागी भएको प्रारम्भिक अनुमान छ । १८ आंगिक क्याम्पसमा भने निर्वाचन हुन सकेका छैनन् । यी क्याम्पसमा तत्काल निर्वाचन गर्न त्रिविले निर्देशन दिएको छ ।
००००
सोमबार राति ११ बजेतिर काठमाडौंको टोखाबाट बरामद २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँ बराबरको डलर र युरो कहाँ र कसरी संकलन भएको थियो भन्ने प्रश्न उब्जिएको छ । सुन किन्नकै लागि पठाउन लागिएको प्रारम्भिक सूचना मिले पनि त्यतिका धेरै रकम कसरी जम्मा गरियो भन्ने प्रश्नको उत्तर नमिलेको प्रहरीका केही अनुसन्धान अधिकारीले बताएका छन् ।
००००
चीनको सिचुआन एयरलाइन्सले मंगलबारदेखि छेङ्दु–पोखरा नियमित व्यावसायिक चार्टर उडान सुरु गरेको छ । सिचुआन प्रान्तको सहयोगमा १ सय २८ चिनियाँ यात्रु लिएर न्यारोबडी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो । उक्त जहाज मंगलबार नै पोखराबाट १ सय २६ नेपाली यात्रु लिएर छेङ्दुका लागि उडेको छ । सुरु भयो छेङ्दु–पोखरा व्यावसायिक चार्टर उडान, १२८ चिनियाँ यात्रु लिएर न्यारोबडी जहाज पोखरा आइपुग्यो ।
००००
इजरायली सेनाले गाजा पट्टीमा गरेको हवाई आक्रमणमा ज्यान गुमाउनेको संख्या ४ सय १३ पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा ५० भन्दा बढी बालबालिका र २८ महिला छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका महानिर्देशक मुनिर अल-बार्शले ६ सय ६० भन्दा बढी घाइते भएको जनाएका छन् ।
