सुरु भयो छेङ्दु–पोखरा व्यावसायिक चार्टर उडान, १२८ चिनियाँ यात्रु लिएर न्यारोबडी जहाज पोखरा आइपुग्यो

चैत्र ५, २०८१

दीपक परियार

Chengdu-Pokhara commercial charter flight started, narrow body ship with 128 Chinese passengers arrived in Pokhara

पोखरा — चीनको सिचुआन एयरलाइन्सले मंगलबारदेखि छेङ्दु–पोखरा नियमित व्यावसायिक चार्टर उडान सुरु गरेको छ । सिचुआन प्रान्तको सहयोगमा १ सय २८ चिनियाँ यात्रु लिएर न्यारोबडी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो । उक्त जहाज मंगलबार नै पोखराबाट १ सय २६ नेपाली यात्रु लिएर छेङ्दुका लागि उडेको छ । 

चीनबाट आउने टोलीमा सिचुआन प्रान्तका सरकारी अधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी सहभागी छन् । उनीहरुलाई पोखरा विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ, पोखरा महानगर प्रमुख धनराज आचार्य, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतले स्वागत गरे । चिनियाँ पर्यटकलाई विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको थियो । Chengdu-Pokhara commercial charter flight started, narrow body ship with 128 Chinese passengers arrived in Pokhara

स्वागत कार्यक्रममा बोल्दै राजदूत सोङले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा पुगेको तीन महिनापछि पोखरामा पहिलोपल्ट नियमित उडान सुरु हुनु सुखद रहेको बताए । ‘चीनको जुन स्पिड छ, यो नै नेपालको पनि स्पिड हो,’ उनले भने, ‘यसलाई सफल बनाउन यहाँका प्रधानमन्त्री धन्यवादका पात्र हुनुहुन्छ ।’ अन्य देशबाट पनि पोखरामा उडान आकर्षित गर्न विभिन्न हवाई मार्ग छिट्टै खुलाउन नेपाल सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो । उनले नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको र पोखराले पनि भ्रमण वर्ष घोषणा गरेकाले सन् २०२५ विशेष रहेको बताए । Chengdu-Pokhara commercial charter flight started, narrow body ship with 128 Chinese passengers arrived in Pokhara

पोखरा महानगर प्रमुख आचार्यले हाल व्यावसायिक चार्टर उडान भए पनि भविष्यमा हरेक साता नियमित व्यावसायिक उडान हुनेमा आफू विश्वस्त रहेको बताए । उनका अनुसार सिचुआन प्रान्तबाट पर्यटक ल्याउन सिचुआन एयरलाइन्सले १० सातासम्मका तालिका बनाएको छ । छेङ्दुबाट पोखरा आउन १ हजार २ सय ५० चिनियाँ पर्यटक तयारी अवस्थामा छन् । 

पोखराबाट मंगलबारको सहित ३ वटा उडान तालिका बनेको छ । मंगलबार महानगरपालिका, पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद्को पहलमा पोखराबाट गएका नेपाली यात्रु एक सातापछि फर्किनेछन् । पोखरा आएका चिनियाँ यात्रु उक्त जहाजमा छेङ्दु फर्किनेछन् । अर्को साता पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघको पहलमा व्यवसायीको टोली छेङ्दु जानेछ । तेस्रो साता पोखराका सामाजिक संघसंस्था, जनप्रतिनिधि, व्यवसायीको टोली छेङ्दु जानेछ । ‘त्यसपछि पनि नियमित उडान भर्न सिचुआन एयरलाइन्स इच्छुक छ,’ उनले भने । प्राधिकरणका महानिर्देशक अधिकारीले पोखराबाट न्यारोबडी जहाज पूर्ण क्षमतामा आवतजावत गर्न सक्ने प्रमाणित भएको बताए । Chengdu-Pokhara commercial charter flight started, narrow body ship with 128 Chinese passengers arrived in Pokhara

पोखराबाट छेङ्दु जाने टोलीको नेतृत्व महानगर प्रमुख आचार्यले गरेका छन् । उक्त टोलीमा जनप्रतिनिधि, पर्यटन व्यवसायी लगायत छन् । नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एन्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’ का लागि चीन गएको हो । टोलीले छेङ्दु, लुझाउ, लेसानलगायत चिनियाँ सहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक तथा प्रवर्द्धनात्मक कार्यक्रममा सहभागिता जनाउनेछ । छेङ्दु जान एक साताको लागि १ लाख २६ हजार रुपैयाँको प्याकेज बनाइएको छ । पोखरा–छेङ्दु दुईतर्फी जहाज भाडा र चीनमा खाना तथा आवासमा उक्त प्याकेज लागू हुन्छ । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले चीनमा हुने एक साताको सेल्स मिसन अहिलेसम्मकै लामो समयको हुने बताए । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने उनको विश्वास छ । 

नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणि लामिछानेले पोखरा–छेङ्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्ने बताए । हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ र महानगरले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पुर्‍याउँदै नेपालमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ 

२०२३ जनवरी १ मा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि चीन, भुटान र भारतमा गरी १२ वटा चार्टर उडान भएका थिए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully