६ दशकदेखिको तिक्तता बिर्सिएर ज्ञानेन्द्रले सुवेदीलाई बनाए सारथि

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Forgetting the bitterness of 6 decades, Gyanendra made Subedi Sarathi

काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्रले आफ्नो राजनीतिक पुनरागमनको सारथि ८६ वर्षीय पूर्वपञ्च नवराज सुवेदीलाई बनाएका छन् । पञ्चायतका अन्तिम दिनमा राष्ट्रिय पञ्चायतका अध्यक्ष रहेका सुवेदी महेन्द्रका पाला २०२५ सालतिर पनि गृहराज्यमन्त्री र उद्योग वाणिज्यमन्त्री थिए । वाणिज्यमन्त्री हुँदा गैरव्यावसायिक स्वार्थ पूरा गर्न नसक्दा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रसँग उनको सम्बन्ध बिग्रिएको थियो । 

स्विट्जरल्याण्डको विश्वविख्यात घडी ओमेगाले त्यही बेला नेपालमा उद्योग खोल्न खोजेको तर ज्ञानेन्द्रले आधा सेयर खोजेपछि ओमेगाको आगमन रोकिएको खुलासा पनि सुवेदीले यसअघि गरिसकेका छन् । यस्तै कारणले उनीहरूबीच बिग्रिएको सम्बन्ध अहिले नाटकीय रूपमा सुध्रिएको छ । तर सुवेदीले आत्मकथा ‘इतिहासको एक कालखण्ड’ किताबमा लेखेको संस्मरण भने जीवन्त छ । किताबको पृष्ठ ११ र १२ मा सुवेदीले यस्तो लेखेका छन् ः

‘२०२५ सालको सुरुमा म गृहराज्यमन्त्री नै थिएँ । मलाई गर्दनको हाड खिइने रोग (स्पोन्डोलाइटिस्) ले समात्यो । निकै दुःख पाएँ । सरकारबाट उपचार गर्न दिल्ली पठाइबक्स्यो । अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा भर्ना भएँ । श्रीमती मीरा र म दुई जना थियौं । राजदूतावासबाट राम्रै हेरचाह भएको थियो तर अपर्झट प्रधानमन्त्री सूर्यबहादुरजीको राजीनामा आयो । मन्त्रिपरिषद् विघटन भयो । आफू पनि मन्त्रीबाट हटें । अर्को मन्त्रिपरिषद् बन्न करिब एक हप्ता ढिलो भयो । राजदूतावासबाट पनि हेरचाह हुन छोड्यो । पाँच/छ दिनपछि श्री गेहेन्द्रबहादुर राजभण्डारीको फोन आयो । उहाँको भनाइ थियो, ‘नवराजजीलाई सोध्नु भन्ने हुकुम भएको छ, तपाईं व्यापार गर्ने कि नगर्ने ?’ मैले बुझें– सरकारबाट उद्योग वाणिज्यमन्त्री बक्सन लाग्यो । जे निगाहा हुन्छ मलाई मन्जुर छ भनी जवाफ दिएँ । कीर्तिनिधि विष्टको प्रधानमन्त्रित्वमा भोलिपल्ट मन्त्रिमण्डल बन्यो । म उद्योग वाणिज्यमन्त्री भएँ । 

Forgetting the bitterness of 6 decades, Gyanendra made Subedi Sarathi

दिल्लीबाट फर्कन करिब तीन हप्ता लाग्यो । काठमाडौं पुगेको भोलिपल्टै श्री ५ बाट बेलुका दर्शनभेट बक्स्यो । सरकारबाट हुकुम भयो, ‘नवराज, तिमीलाई इमानदारीसँग काम गर्छौं भन्ने विश्वासमा यो मन्त्रालय दिएँ । लामो समय तिमीले यसै मन्त्रालयमा काम गर्नुपर्छ । मेरो परिवारको दबाब आउन सक्छ । डर नमानी काम गर । तिमीलाई अप्ठ्यारो परे मलाई खबर गर्नू । तिमीले नै भारतसँग व्यापार तथा पारवहनसन्धि गर्नुपर्छ ।’ हुन पनि यो मन्त्रालयमा करिब तीन वर्षभन्दा बढी मैले काम गरें । कसैको दबाबमा पनि आइनँ । मलाई कुनै दिन पनि प्रधानमन्त्रीले यो गरिदे भन्नुभएन । कीर्तिबाबुसँग काम गर्न साह्रै सजिलो थियो । कुनै कुरा सोधेमा पनि आफैं निर्णय गर्नुस्, मसरहको साथी म के भनु भन्नुहुन्थ्यो । 

श्री ५ अधिराजकुमार हिमालय, वसुन्धरा र श्री ५ अधिराजकुमारी हेलेन तीनै जना व्यापारमा हुँदा उहाँहरूबाट भने बराबर दबाब आउँथ्यो । पछि श्री ५ अधिराजकुमार ज्ञानेन्द्र पनि थप होइबक्स्यो । राजा केही पनि नदे भन्ने तर उहाँहरूलाई पूर्ण सहुलियत चाहिने । यस्तो विषम परिस्थितिमा मैले काम गर्नुपर्‍यो । एक दिन साँझ श्री ५ बाट बोलाइबक्स्यो । त्यहाँ प्रधानमन्त्री पनि हुनुहुँदो रहेछ । कुरा चल्दै गयो । राजाबाट हुकुम भयो, ‘मेरा भाइ–छोराहरूलाई व्यापार गर्नु छ, सबै यिनलाई दिए जनताका छोराहरूले के गर्ने ? मैले एक–एक उद्योग गर भनेर दिएकै छु । अब अरू दिनुपर्दैन । कीर्तिनिधि, नवराजलाई बढी ‘प्रेसर’ (दबाब) भयो, तिमीले भन्दिनू ।’ यो कुरा प्रधानमन्त्रीले भन्नुभयो कि भएन थाहा पाइनँ तर त्यसपछि मलाई दबाब आएन । तर उहाँहरू पार्टीहरूमा भेट हुँदा पनि मसँग बोल्नुहुन्नथ्यो । श्री ५ ज्ञानेन्द्रसँग मेरो सम्बन्ध सुरुदेखि नै राम्रो भएन । पछि श्री ५ होइबक्सँदा पनि मसँग राम्रो व्यवहार हुन सकेन । यसका मुख्य दुई कारण छन्– प्रथमतः २०३८ सालमा सूर्यबहादुरजीको विरोधमा प्रधानमन्त्रीको उम्मेदवार नहुनु र दोस्रोमा ओमेगा (घडी) कारखाना थियो । ओमेगा वाचले नेपालमा एक कारखाना खोल्न पाऊँ भनी प्रस्ताव पठायो । कुरा राम्रो थियो । अतः विश्व बैंकको वार्षिक साधारणसभाको मिटिङबाट फर्कंदा जेनेभा गई ओमेगा फ्याक्ट्री हेर्नु र कुरा पनि गर्नु भन्ने श्री ५ महेन्द्रबाट निर्देशन बक्स्यो । 

वासिङ्टनबाट फर्कंदा म, भेषबहादुरजी र डा. पुष्करनाथ पन्त हामी तीन जनाले ओमेगा फ्याक्ट्री पनि हेर्‍यौं र नेपालमा फ्याक्ट्री खोल्नेबारे कुरा पनि गर्‍यौं । उनीहरूको एउटै मात्र सर्त हामी सरकार या प्राइभेट कसैसँग पनि साझेदारीमा काम गर्दैनौं भन्ने थियो । यो सर्त मन्जुर हुन्छ भने एक वर्षभित्र फ्याक्ट्री चालु गर्छौं भन्ने उनीहरूको भनाइ थियो । हामीहरूले ओमेगा जस्तो कम्पनी आउँछ भने किन नदिने भनी मन्जुर दियौं । तर, काठमाडौं आएपछि श्री ५ अधिराजकुमार ज्ञानेन्द्रलाई त्यसमा आधा सेयर (अंश) चाहियो जुन कुरा मैले ठाडै इन्कार गरें । यसैकारण नेपालमा ओमेगा पनि आउन सकेन । ज्ञानेन्द्र सरकार पनि मसँग रिसाइबक्स्यो । जे होस्, दरबारमा प्रधानमन्त्री र मेरोबीचमा सरकारबाट बक्सेको निर्देशनले मलाई काम गर्न सजिलो भयो ।’

सम्बन्धित समाचार :

कान्तिपुर

Link copied successfully