आन्दोलन सुरु नहुँदै वादविवादमा राजावादी

राजसंस्था पुनःस्थापनाका लागि जनआन्दोलन गर्न भन्दै राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा गठित समितिमा राखिएका राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपाल अध्यक्ष थापा, नेता केशरबहादुर विष्टको असहमति

चैत्र ५, २०८१

राजेश मिश्र

Royalists in the debate before the movement started

काठमाडौँ — राजसंस्था पुनःस्थापनाको उद्देश्यसहित पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा गठन गरिएको संयुक्त जनआन्दोलन समिति सुरुमै विवादमा परेको छ । राजावादीलाई गोलबद्ध गरेर एकीकृत आन्दोलन हाँक्न समिति बनाइएको दाबी गरिएको छ । तर समितिमा राखिएका कतिपय सदस्यले त्यसप्रति असहमति जनाएका छन् ।

पञ्चायतकालीन नेता तथा राष्ट्रिय पञ्चायतका अध्यक्ष रहिसकेका ८६ वर्षीय पूर्वपञ्च सुवेदीलाई आन्दोलनको नेतृत्व दिइएकामा राजसंस्थाको वकालत र त्यसका लागि जनपरिचालन वर्षौंदेखि गर्दै आएका राजनीतिक दलमा असन्तुष्टि देखिएको हो । सुवेदी पञ्चायतकालभरि चर्चामा रहेका राजनीतिज्ञ हुन् । उनी पटक–पटक मन्त्रीसमेत भएका थिए । 

सुवेदी नेतृत्वको ११ सदस्यीय समितिमा सदस्य राखिएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्टि जाहेर गरेका छन् । राप्रपा र राप्रपा नेपाल राजसंस्था पुनःस्थापनाको मुद्दा उठाउँदै आएका दल हुन् । व्यवसायी दुर्गा प्रसाईं हाबी भएर जनतामा स्थापित राजनीतिक दललाई किनारा लगाउन पूर्वपञ्चलाई आन्दोलनको नेतृत्व दिइएको दुवै दलको बुझाइ छ । 

Royalists in the debate before the movement started

समितिमा सदस्य राखिएका पूर्वमन्त्री केशरबहादुर विष्टले पनि पदमा नबस्ने जनाएका छन् । ‘आन्दोनलप्रति मेरो विमति छैन तर त्यसका लागि कुनै समितिमै बस्नुपर्छ भन्ने होइन,’ कान्तिपुरसँग उनले भने, ‘बैठकमा म पुग्दा समिति बनिसकेको रहेछ । मलाई नराख्नुस् भनेर आएको छु ।’ 

राप्रपा अध्यक्ष लिङ्देनले सुवेदीको नेतृत्वमा समिति बनाउँदा आफूहरूसँग छलफल नगरिएको बताए । ‘संयुक्त जनआन्दोलन समिति घोषणा भएको मैले समाचारबाट थाहा पाएँ । म त्यहाँ उपस्थित छैन,’ कान्तिपुरसँग उनले भने, ‘राजसंस्था मान्नेहरूको बैठक गरौं भन्ने खबर आएपछि प्रतिनिधि पठाएका थियौं । तर हाम्रा प्रतिनिधिसँग पनि सरसल्लाह नगरीकन समिति घोषणा गरिएछ ।’ पार्टीका तर्फबाट उपाध्यक्ष हेमजंग गुरुङ र प्रदीप उदयलाई उक्त बैठकमा पठाइएको थियो । छलफल प्रक्रियामै सामेल नभएको समितिमा बस्न नसकिने लिङ्देनको भनाइ छ । 

राप्रपाले मंगलबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीको आधिकारिक निर्णय त्यहीँबाट हुने एक नेताले बताए । 

सुवेदी नेतृत्वको समितिमा सदस्य रहेकी विश्व हिन्दु महासंघकी अध्यक्ष अस्मिता भण्डारी आन्दोलनको नेतृत्व गर्ने साझा मानिसको खोजी भएको र त्यही क्रममा सुवेदीलाई ल्याइएको बताइन् । ‘उहाँको नेतृत्वमा जान प्रायः सबैको स्वीकारोक्ति देखिएपछि नै समिति घोषणा गरिएको हो,’ उनले भनिन्, ‘यो नै पूर्ण होइन । थप छलफलपछि समितिलाई अझ परिपक्व बनाएर लैजाने कुरा भएको छ ।’ समितिको बैठक बसेर आन्दोलनको कार्यक्रम तय गर्न बाँकी रहेको पनि उनले बताइन् । 

सुवेदीको संयोजकत्वमा गठित जनआन्दोलन निर्देशक समितिको सदस्यमा केशरबहादुर विष्ट, दुर्गा प्रसाईं, पशुपतिशमशेर राणा, कमल थापा, प्रकाशचन्द्र लोहनी, राजेन्द्र लिङ्देन, अस्मिता भण्डारी, रमा सिंह र हरिबहादुर बस्नेत छन् । रवीन्द्र मिश्र समितिको सदस्यसचिव बनाइएका छन् । धवलशमशेर राणालाई आन्दोलन परिचालन समितिको संयोजक तोकिएको छ । डिल्लीबजारस्थित भोजन गृहमा सोमबार अपराह्न भएको पूर्वराजावादीको जमघटमा लिङ्देन र थापा अनुपस्थित थिए । 

संयुक्त जनआन्दोलन पार्टी या समूहको नभई राष्ट्रिय झन्डामा गर्ने निर्णय गरिएको समितिका संयोजक सुवेदीले बताएका छन् । ‘हामी जनताको सर्वोच्चतामा आधारित राजसंस्था चाहन्छौं । शान्ति र अहिंसाका पक्षधर हौं,’ सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो शान्तिप्रियतालाई कमजोरी ठानेर हाम्रा एजेन्डाको अपव्याख्या गर्दै सोका आधारमा ठूला पार्टीहरू प्रतिकारमा उत्रिए, त्यसको मूल्य निकै महँगो पर्न सक्छ ।’ पूर्वराजा ज्ञानेन्द्र शाह गत २५ फागुनमा पोखराबाट काठमाडौं फर्किंदा राजावादी राजनीतिक दल तथा संघसंस्था स्वागतमा उत्रिएका थिए । पूर्वराजाको स्वागतमा उपस्थित भीड देखेपछि राजावादी हौसिएका हुन् ।

000

‘असन्तुष्टि र विवाद कुन पार्टीमा छैन ?’: नवराज सुवेदी

Royalists in the debate before the movement started

धेरै पछाडि तपाईं राजनीतिमा फर्किनुभयो, किन ? 

मुलुकको हालत देखेर । बेहाल छ । देशका लागि केही गर्न सक्छु भनेर सक्रिय हुन खोजेको हुँ । साथीभाइले नेतृत्व लिइदिन भनेपछि मैले लिएको हुँ । उमेर ८६ भए पनि शारीरिक रूपमा म स्वस्थ छु । 

पहिले राप्रपा किन छाड्नुभयो ? 

कारण प्रस्ट छ । सबै समूह, सबै पार्टीलाई जोडेर आन्दोलन गर्न एउटा पार्टीको सदस्य भएर नमिल्ने भयो । त्यही भएर राप्रपाको सदस्यता त्यागेको हुँ । राप्रपाको म संस्थापक हो ।

तपाईंहरू आन्दोलनको तयारीमा हुनुहुन्छ, केका लागि ? 

मुख्य उद्देश्य राजा ल्याउने नै हो । त्यसबाहेक हिन्दु राष्ट्रको स्थापना, संघीयता फाल्ने, भ्रष्टाचारीलाई कारबाही गर्ने र सुशासन कायम गर्ने आन्दोलनका उद्देश्य हुन् । 

कस्तो आन्दोलन गर्दै हुनुहुन्छ ? 

सबै पक्ष अटाऊन्, आन्दोलन सबैको साझा होस् भन्ने उद्देश्यले समिति गठन गरिएको छ । कुनै पार्टी विशेषको नेतृत्वमा होइन, राष्ट्रिय झन्डामा सबै गोलबद्ध भएका छौं । राष्ट्रिय झन्डा बोकेर आन्दोलन हुन्छ । भोलि (मंगलबार) बैठक बसेर आन्दोलनबारे छलफल गर्छौं । चैत १५ देखि आन्दोलनको कार्यक्रम ल्याउँछौं । 

समिति घोषणा भएसँगै असन्तुष्टि बाहिरिएको छ नि ?

असन्तुष्टि कहाँ छैन ? कुन राजनीति दलभित्र छैन ? सबैसँग कुराकानी हुन्छ । उद्देश्य एउटै भएपछि कुरा मिल्छ । 

तपाईंहरूले कुन स्वरूपको राजसंस्था खोज्नुभएको हो ? 

संवैधानिक राजा । त्यसमा द्विविधा छैन । हामी बहुदलीय व्यवस्था र संवैधानिक राजतन्त्रका पक्षधर हौं । २०४७ को संविधानमा भएका व्यवस्था र २०७२ को संविधानमा रहेका राम्रा विषय राखेर नयाँ संविधान बन्नुपर्छ । 

राजालाई फर्काउने मुड जनताको छ त ? 

त्यो त आन्दोलनमा गएपछि थाहा हुन्छ । हामी त जनताको साथ समर्थन पाएरै लागेका हौं ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully