काठमाडौँ — सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च, सुनको भाउ हालसम्मकै उच्च, तराईमा होली उमंगदेखि युक्रेनको नियन्त्रणमा रहेको कुस्र्क क्षेत्र रुसद्वारा पुनः कब्जासम्मका खबर आज चर्चामा रहे ।
000
चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत फागुन मसान्तसम्ममा सरकारले सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख रुपैयाँ आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख रुपैयाँ खर्च भएको छ । अर्थात दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा एक खर्ब ५३ करोड ४७ लाख रुपैयाँ खर्च बढी छ ।
000
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले बढेर एक लाख ७४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । स्थानीय बजारमा बिहीबार सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रुपैयाँ कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले आन्तरिक कारण भन्दा बाह्य कारणले सुनको मूल्य बढेको बताए ।
000
उल्लास र उमंग सञ्चार गर्ने पर्व होली शुक्रबार बिहानैदेखि सदरमुकाम तौलिहवा र आसपासका क्षेत्रमा खेलेर मनाइयो। सानादेखि ठूला सबैले रंग र अबिरको पर्व होली सडक, चोक, गल्ली र घर-घरमा खेलेका थिए। यहाँ बालबालिका, युवादेखि महिला र बुढापाका पनि सडकमा होली खेल्दै रमाइलो गरेका थिए।
000
रुसी सेनाले कुस्र्क क्षेत्रको प्रमुख सहर सुड्झालाई पुनः कब्जा गरेको छ । जुन पहिले युक्रेनको नियन्त्रणमा थियो । रुसी रक्षा मन्त्रालयले उत्तरी समूहका सेनाका एकाइहरूले आफ्नो आक्रामक कारबाहीको क्रममा मेलोभोई, पोडोल र सुड्झाका बस्तीहरू मुक्त कब्जा गरेको बताएको छ । अगस्ट २०२४ मा सीमापार आक्रमण भएदेखि युक्रेनी नियन्त्रणमा रहेको सुड्झा कुस्र्क क्षेत्रमा युक्रेनको सञ्चालनका लागि आपूर्ति सुरक्षित गर्ने महत्त्वपूर्ण स्थान हो ।
000
युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । युगान्डाको इन्टेबे क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनायो । नेपालले १०५ रनको विजयी लक्ष्य १९ दशमलव ३ ओभरमा चार विकटको क्षतिमा पूरा गर्यो । नेपालका लागि सम्झना खड्काले ४७ रन बनाइन् ।
