काठमाडौंमा जहाज अवतरण गरेपछि मात्र पाङ्ग्रा जनकपुर विमानस्थलमै छुटेको थाहा भएको थियो, एटीआर र बुद्ध एयरले छानबिन गर्दै
काठमाडौँ — ६३ यात्रु राखेर बुद्ध एयरको एटीआर ‘अल्फा नोभेम्बर होटल’ बिहीबार दिउँसो जनकपुर विमानस्थलबाट उडेर काठमाडौं अवतरण भयो । यात्रुलाई जहाजबाट ओरालेर र्याम्प बसमा राख्दै गर्दा प्राविधिकले एप्रोनमा जहाजको नियमित जाँच ‘वाक–अराउन्ड’ गर्दै थिए । त्यस क्रममा अगाडिको ल्यान्डिङ गियरमा एउटा पाङ्ग्रा देखिएन ।
काठमाडौं विमानस्थलको रेकर्डमा यसअघि यस्तै खाले दुई घटना भए पनि बुद्धका लागि यो पहिलो थियो । ‘हामी एयरपोर्टमै थियौं । एकाएक जनकपुरबाट आएको जहाजको रुटिन इन्स्पेक्सनका क्रममा अगाडिका दुईवटामध्ये एउटा पाङ्ग्रा नै नभएको खबर सुनियो,’ बुद्धका एक क्याप्टेनले भने, ‘त्यसपछि जनकपुरमा लगत्तै गएको अर्को जहाजलाई त्यहाँ पाङ्ग्राको खोजी गर्न कम्पनीकै जहाजका पाइलटलाई भनियो ।’
जनकपुर विमानस्थलको टावरमा तेजबहादुर बुढथापा थिए । ‘म टावरमा रहेर जहाज उडान/अवतरण गराइरहेको थिएँ,’ जनकपुर विमानस्थलका प्रमुखसमेत रहेका उनले भने, ‘साढे ५ बजे उडेको जहाजका क्याप्टेनले एकपटक थ्रेसहोल्ड (धावनमार्गको अन्तिम सेता धर्का कोरिएको बिन्दु) मा चेक गर्नुहोला भने । लगत्तै थ्रेसहोल्ड पुग्दा एउटा पाङ्ग्रा चौरभित्रै भेटियो ।’ पाङ्ग्रा छाड्ने जहाज भने जनकपुरबाट दिउँसो ४ः३९ बजे काठमाडौंका लागि उडेको थियो ।
विमानस्थलले पाङ्ग्रा बुद्ध एयरको जनकपुरस्थित स्टेसनलाई हस्तान्तरण गरेको छ । बुढथापाका अनुसार बुद्धको जहाज काठमाडौंमा सुरक्षित अवतरण भएपछि मात्रै जनकपुरमा पाङ्ग्रा छुटेको थाहा भएको थियो । बुद्धका एक इन्जिनियरका अनुसार, जहाज धावनमार्गको अन्तिम बिन्दुमा पुगेर फन्को लगाउँदा पाङ्ग्रा फुस्केको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यो जहाज जनकपुरको धावनमार्गको मोहत्तरीतर्फ पश्चिममा पर्ने ०९ बिन्दुबाट पूर्वतर्फ उडेर फन्को लगाउँदै काठमाडौं आएको थियो ।
यस घटनाबारे एटीआर र बुद्धले छानबिन सुरु गरेको बुद्धले जनाएको छ । जहाजलाई उडानबाट झिकेर ग्राउन्डेड गरिएको छ । ‘यो घटनामा प्राविधिकको जाँचमा लापरबाही हो/होइन वा उपकरणमा कुनै खराबी हो कि भन्नेबारे अनुसन्धान केन्द्रित हुनेछ,’ ती इन्जिनियरले भने । ७२ यात्रु क्षमताको यो जहाजले बिहीबार जनकपुरअघि भद्रपुर र जनकपुरकै लागि पाँच पटक उडान गरेको थियो । बुद्ध दक्षिण एसियामै सबैभन्दा धेरै एटीआर विमान उडाउनेमध्ये एक हो । योसँग एटीआर कम्पनीका १८ जहाज छन् ।
