काठमाडौँ — ललिता निवास प्रकरणमा गच्छदारसहितका प्रतिवादीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध अख्तियारको पुनरावेदन, सरकारसँग ५ बुँदे सहमति भएपछि ग्यास उद्योगीको आन्दोलन फिर्तादेखि थापाथलीको सडकमा बग्यो ५ लाख लिटर पानीसम्मका आज कान्तिपुरमा आज प्रकाशित समाचार चर्चामा रहे ।
000
बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतबाट भएको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियारले फैसला बदर गरी माग/मागदाबीअनुसार सजायको माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेको हो ।
000
सरकार र ग्यास उद्योगीबीच ५ बुँदे सहमति भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभा हलमा सचिव गोविन्दबहादुर कार्की, नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरुबीच भएको बैठकमा ग्यास प्रतिसिलिण्डर ढुवानी कमिसन १२ रुपैयाँ बढाउने लगायत ५ बुँदे सहमति भएको हो ।
000
थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो । यसपटक भने समस्या समाधान छिटो गरिएको छ । बबरमहलमा नेपाल विद्युत् प्राधिकरणका कारण पाइप फुटेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।
000
अमेरिकाले मंगलबारदेखि क्यानडा र मेक्सिकोबाट आयात हुने विभिन्न वस्तुमा २५ प्रतिशत आयातकर लागू गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोले गैरकानुनी आप्रवासन र अवैध फेन्टनाइलको तस्करी नरोकेको भन्दै एक आयातकर लगाएका हुन् । क्यानाडेली ऊर्जा उत्पादनमा भने १० प्रतिशत कर लगाइएको छ । त्यस्तै, चीनबाट हुने आयातमा पनि १० प्रतिशत कर थप गरिएको छ । ट्रम्पले दोस्रो कार्यकालमा पहिलोपटक कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्नुभन्दा केही घण्टा अघिदेखि नयाँ कर कार्वान्यनमा ल्याइएको हो ।
000
पाकिस्तानले आयोजना गरेको च्याम्पियन्स ट्रफीअन्तर्गत सेमिफाइनलको पहिलो खेलमा पहिले व्याटिङ गरेको अस्ट्रेलियाले भारतसामु २ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईमा भएको खेलमा निर्धारित ५० ओभरको खेल ३ बल बाँकी छँदै अलआउ भएको अस्ट्रेलियाले २ सय ६४ रन बनाएको हो । अस्ट्रेलियाका लागि स्टेभेन स्मिथले ७३, एलेक्स केरीले ६१, ट्राभिस हेडले ३९, मार्नुस लाबुसचेग्नले २९ बनाए ।
