काठमाडौँ — पाकिस्तानले आयोजना गरेको च्याम्पियन्स ट्रफीअन्तर्गत सेमिफाइनलको पहिलो खेलमा पहिले व्याटिङ गरेको अस्ट्रेलियाले भारतसामु २ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दुबईमा भएको खेलमा निर्धारित ५० ओभरको खेल ३ बल बाँकी छँदै अलआउ भएको अस्ट्रेलियाले २ सय ६४ रन बनाएको हो । अस्ट्रेलियाका लागि स्टेभेन स्मिथले ७३, एलेक्स केरीले ६१, ट्राभिस हेडले ३९, मार्नुस लाबुसचेग्नले २९ बनाए ।
भारतका लागि मोहम्मद सामीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै वरुण चक्रवर्ती र रविन्द्र जडेजाले २/२ र हार्दिक पाण्डेय र अक्षर पटेलले १/१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको भारतले ६ ओभरमा १ विकेटको क्षतिमा ३९ रन जोडेको छ । भारतका रोहित शर्मा र विराट कोहली छन् । ११ बल सामना गरेका भारतका सुबमन गिल ८ रन बनाएर आउट भए ।
आईसीसी टुर्नामेन्टको नकआउटमा दुवै टिमको यो नवौंपटकको भेट हो । यसअघिका भिडन्तमा दुवै टिमले ४/४ जित निकालेका छन् ।
सन् २०२३ को एकदिवसीय विश्वकप फाइनलमा दुवै टिमको अन्तिम भेट थियो । जहाँ आयोजक भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले उपाधि जितेको थियो ।
