आज देश-दुनियाँमा के-के भयो ?

फाल्गुन १८, २०८१

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — भूमि अध्यादेश फिर्ता नलिएसम्म अरु अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालका अध्यक्ष यादवको भनाइ, नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठीपीडित र प्रहरीबीच झडप हुँदा १२ जना प्रदर्शनकारी नियन्त्रणमादेखि नेपाल पनि विश्वकप खेल्न सक्ने बुफोनको भनाइसम्मका समाचार आज चर्चामा रहे ।  

०००

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संसद् अधिवेशन आह्वान गर्नुपर्ने बेलामा सरकारले महत्वपूर्ण कानुन अध्यादेशमार्फत ल्याउनुका पछाडि सरकारको कुत्सित स्वार्थ तथा मानसिकता देखिएको बताएका छन् । भूमि अध्यादेश फिर्ता नलिएसम्म अन्य पाँचवटा अध्यादेश पनि पारित गर्न नसकिने अध्यक्ष यादवले बताएका छन् ।  

०००

काठमाडौंको नयाँ बानेश्वरमा गुठीपीडित र प्रहरीबीच झडप भएको छ । आइतबार  ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले  गरेको प्रदर्शनमा झडप भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहरा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो । एसपी बोहराका अनुसार झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ । 

०००

इस्लाम धर्मावलम्बीले आजदेखि एक महिने ‘रोजा’(उपवास) सुरु गरेका छन् । इस्लाम परम्परामा रमजान महिनामा दिनभर उपवास गरी मनाइने रोजा आजदेखि सुरु भएको हो । हिजरी (उर्दू) संवत्‌को पात्रोअनुसार रोजना मनाउने परम्परा छ । यसअनुसार हिजो ‘शावान’महिना सकिएर आज रमजान सुरु भएसँगै रोजा उपवास थालिएको हो । रमजान इस्लामिक परम्पराको हिजरी संवत्‌अनुसार नवौं महिना हो । 

०००

इजरायलले गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ । प्यालेस्टिनी समूह हमाससँगको युद्धविरामको पहिलो चरण समाप्त भएकाले मानवीय सहायतामा रोक लगाएको इजरायलले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले युद्धविराम विस्तार गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको जनाएको छ । 

०००

विश्व फुटबलका लिजेन्ड जियानलुगी बुफोनले नेपालले पनि विश्वकप फुटबल खेल्न सक्ने बताएका छन् । केपी ओली कपको फाइनल हेर्न आएका बुफोनले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा मेहनत र लगानी भए नेपाल विश्वकप फुटबलमा पुग्न सक्ने बताएका हुन् । अन्तर्राष्ट्रिय व्यावसायिक फुटबलका लिजेन्ड बुफोनले भने, 'नेपाल पनि विश्वकप खेल्न सक्छ तर त्यसका लागि धेरै मेहनत र लगानी चाहिन्छ ।' 

कान्तिपुर

Link copied successfully