इस्लाम धर्मावलम्बीको एकमहिने रोजा आजदेखि सुरु

फाल्गुन १८, २०८१

रासस

One-month fast of Islam begins today

महोत्तरी — इस्लाम धर्मावलम्बीले आजदेखि एक महिने ‘रोजा’(उपवास) सुरु गरेका छन् । इस्लाम परम्परामा रमजान महिनामा दिनभर उपवास गरी मनाइने रोजा आजदेखि सुरु भएको हो ।

हिजरी (उर्दू) संवत्‌को पात्रोअनुसार रोजना मनाउने परम्परा छ । यसअनुसार हिजो ‘शावान’महिना सकिएर आज रमजान सुरु भएसँगै रोजा उपवास थालिएको हो । रमजान इस्लामिक परम्पराको हिजरी संवत्‌अनुसार नवौं महिना हो । 

यस महिनामा गरिने व्रत, उपवास (रोजा) अत्यन्त पूण्यदायक हुने इस्लाम मान्यता छ । बाल, वृद्ध, अशक्त बिरामीबाहेक सबै मुसलमानले ब्रह्मचर्यमा रही रोजा गर्नुपर्ने मान्यता छ । सूर्योदयको एकघडी अगाडिदेखि सूर्यास्तको एक घडीपछिसम्म अन्न, पानी केही नखाई दिनहुँ नमाज पढेर यो व्रत गरिन्छ । एकमहिने रोजा सम्पन्न भएसँगै हिजरी संवत्‌को ‘सव्वाल’महिना सुरु हुने र त्यसै दिन ईद–उल–फित्र पर्व मनाउने इस्लाम परम्परा छ । 

‘शावान’महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल ‘तराबी’नमाज (विशेष प्रार्थना) गरेर भोलिपल्टदेखि रमजान सुरु हुने इस्लाम परम्परा रहेको रामगोपालपुर–२ महनपुरका इस्लाम धर्मका जानकार मोहम्मद कादीर हुसैनले बताए ।

नेपाल र भारतका अधिकांश ठाउँमा ‘बुखारे शरिफ’को निर्णयअनुसार आज रोजा सुरु भएको जलेश्वरस्थित दारुल उलुम कादरिय रसिदिया मदर्साले जनाएको छ । रमजान महिना इस्लाम परम्परामा अत्यन्त पवित्र मानिन्छ । मजान महिनामा पवित्र धर्मग्रन्थ ‘कुरान’पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ । 

रासस

Link copied successfully