सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली भेगमा हिमपात र उच्च पहाडी क्षेत्रमा भारी वर्षा
सुर्खेत, रुकुम पूर्व, बझाङ, काठमाडौं — पश्चिमी वायु प्रणाली सक्रिय हुँदा देशका हिमाली र पहाडी क्षेत्रमा हिमपात तथा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली भेगमा हिमपात र उच्च पहाडी क्षेत्रमा भारी वर्षा भएको हो । बागमती, लुम्बिनी र कोशी प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले बताए ।
लामो समयको खडेरीले अन्न बाली बिग्रन थालेको भन्दै चिन्तित बनेका सुदूरपश्चिम र कर्णालीका किसानलाई शुक्रबारको हिमपात र वर्षाले राहत पुगेको छ । कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा, कालीकोट र जुम्लाका अधिकांश ठाउँमा भारी हिमपात भएको छ भने अन्य पहाडी जिल्लामा गहुँ, जौंलगायत अन्न बालीलाई पुग्ने गरी वर्षा भएको छ ।
हिमपातका कारण शुक्रबार कर्णालीका सबै हिमाली जिल्लामा सुर्खेत र नेपालगन्जबाट हुने हवाई उडान रद्द भयो । हुम्लास्थित सिमकोट विमानस्थलमा झन्डै २ फिट हिउँ जमेको छ । हिमपातका कारण मध्यपहाडी राजमार्ग, गमगढी—नाग्म सडक र सिमकोट—हिल्सालगायत झन्डै एक दर्जन सडकमा यातायात सेवा बन्द भएको छ ।
हिमपातका कारण स्थानीयलाई घरबाहिर निस्कन समस्या भएको हुम्ला सिमकोटका मदन रोकायाले बताए । उनका अनुसार बाक्लो हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिकाबाट सदरमुकाम सिमकोट आउने सबै पैदल मार्ग बन्द भएका छन् ।
५ हजार मिटर उचाइका नारा र न्यालु लेकमा झन्डै ३ फिट हिउँ परेको छ भने हिमपातपछि जनजीवन कष्टकर भए पनि अन्न बाली, तरकारी र फलफूल सप्रिने भन्दै किसान खुसी भएको रोकायाले बताए । हिउँ परेपछि खडेरीले सुक्न लागेका बालीमा राहत पुगेको मुगुस्थित मुर्मागाउँका बिर्खबहादुर रोकायाले बताए ।
‘हिउँ परेपछि हिमाली बस्तीमा सुविकाल आउँछ, हिउँ नपरेको वर्ष अनिकाल हुन्छ,’ उनले भने, ‘ढिलै भए पनि अहिले पुग्ने गरी हिउँ परेको छ, बालीनाली, स्याउ र अरू फलफूलको उत्पादन बढ्ने अपेक्षा छ ।’ हिउँ परेपछि पशुचौपाया चरन र घाँसदाउरा ल्याउन भने समस्या भएको उनले बताए ।
कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा हिमपातले सेताम्मे बनेको छ । रारामा बिहीबार रातिदेखि हिमपात भएको छ । रारामा झन्डै २ फिटसम्म हिउँ परेको रारा राष्ट्रिय निकुञ्जका रेन्जर धर्मजित साउदले बताए ।
सोरु गाउँपालिका–४ रावलबाडाका चन्द्र नेपालीले अहिले परेको हिउँले जेठासी बाली गहुँ, जौंदेखि कात्तिके बाली कोदो, कागुनो, चिनो, पाखेधानसम्मलाई फाइदा पुर्याउने सुनाए । ‘राम्ररी हिउँ परेको वर्ष जिल्लामा खाद्यान्न अभाव कहिल्यै हुँदैन,’ उनले भने, ‘बर्सेनि खाद्य संस्थानको चामल किनेर खानुपर्ने बाध्यता यस वर्ष टर्ने देखियो ।’
हिमपात भएपछि हिमाली जिल्लाका किसानले वरपर जमेको हिउँको डल्लो स्याउका बोट वरपर राख्न थालेको कर्णालीको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए । उनका अनुसार स्याउको बोट आसपासको क्षेत्र सिञ्चित हुने भन्दै हिउँका डल्ला राख्न थालिएको हो । ‘जति धेरै हिउँ पर्यो, उति धेरै स्याउ फल्छ,’ उनले भने, ‘सिँचाइ गर्नुपर्ने झन्झटबाट किसानले मुक्ति पाए, स्याउमा रोगकिराको प्रकोप पनि यस वर्ष कम हुने देखियो ।’
बिहीबार रातिदेखि भएको हिमपातका कारण मध्यपहाडी लोकमार्गअन्तर्गतको रुकुम पूर्व–बागलुङ सडक खण्डको आवागमन अवरुद्ध भएको छ । पातिहाल्ने र आसपासमा हिमपात भइरहेकाले लोकमार्ग बन्द भएको रुकुम पूर्वका डीएसपी माधवराज खरेलले बताए ।
मुगुस्थित गमगढी—नाग्मा सडकअन्तर्गतको सातमोडमा भारी हिमपात भएपछि यातायात बन्द भएको छ । हुम्लाको सिमकोट—हिल्सा सडकका अधिकांश ठाउँमा बाक्लो हिउँ जमेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । सिमकोट विमानस्थलको हिउँ हटाएपछि मात्र हवाई सेवा सुचारु हुने उनले जानकारी दिए ।
बिहीबार रातिदेखि बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा पनि वर्षा र हिमपात भएको छ । वर्षाले जयपृथ्वी राजमार्गको तमैल–जालेबगर सडक खण्डमा पहिरो खस्दा यातायातसमेत अवरुद्ध भएको छ । छबिसपाथीभेराको बालुवाटार र जालेबगर क्षेत्रमा बिहीबार राति खसेको पहिरो शुक्रबार बिहान हटाएर केहीबेर यातायात सञ्चालन भएको थियो । दिउँसो पुनः सोही ठाउँमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको थियो।
सडक डिभिजन कार्यालय र जयपृथ्वी नगरपालिकाको डोजर पहिरो हटाउन प्रयासरत रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी युवराज भण्डारीले बताए । ‘डोजरहरू स्ट्यान्डबाई राखिएको छ । पानी पर्न नरोकिएका कारण पहिरो खस्ने क्रम जारी छ । बेलाबेला खुल्ने र अवरुद्ध हुने भइरहेको छ,’ उनले भने । लामो समय खडेरीको सामना गरिरहेका सुदूरपश्चिमका बझाङ, बाजुरा, डोटी, डडेलधुरा, दार्चुला, बैतडीका कृषक वर्षाले खुसी भएका छन् ।
बझाङका सुर्मा, साइपाल, तलकोट, मस्टा, छबिसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । साइपाल गाउँपालिकाको धुली, काँडालगायत क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ । यस्तै खप्तड राष्ट्रिय निकुञ्जमा पनि बाक्लो हिउँ जमेको छ । निकुञ्ज कार्यालयका गेम स्काउट दिनेश खड्काले बिहीबार साँझबाटै खप्तडमा हिमपात सुरु भएको र कुनै–कुनै ठाउँमा दुई फिट हाराहारी हिउँ जमिसकेको बताए ।
बाजुराको गौमुल, बुढीनन्दा, हिमालीलगायत गाउँपालिकामा हिमपात भएको स्थानीयले बताएका छन् । यस्तै डोटीको गैरा, साउखर्क, डडेलधुराको हगुल्टेमा पनि हिमपात भएको स्थानीयले जानकारी दिएका छन् । ‘पानी नपर्दा हिउँदे बाली खेतमै सुक्न लागिसकेको थियो । ढिलै भए पनि हिउँ पर्दा उम्रेको बोट पलाउँछ कि भन्ने आशा जागेको छ,’ बझाङ साइपालका दीपक बोहराले भने ।
हिमपात र वर्षासँगै बढेको चिसोका कारण जनजीवन पनि प्रभावित भएको छ । दैनिक ज्यालामजदुरी गर्ने, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । निरन्तर वर्षा र हिमपातले तामाङ समुदायको ग्याल्पो ल्होसार पनि प्रभावित भएको छ । वर्षाले गर्दा सबै जना एकै ठाउँमा भेला भएर रमाइलो गर्न नपाएको साइपालकी जानु तामाङले बताइन् ।
मौसमविद् दाहालका अनुसार पछिल्लो २४ घण्टामा कालीकोटमा ६४.४ र बैतडीमा ५३.२ मिलिमिटर वर्षा भएको छ । ५० देखि १०० मिलिमिटर पानी परेकालाई भारी वर्षा मानिन्छ । पश्चिमबाट आउने वायु प्रणाली सक्रिय हुँदा धेरै स्थानमा राम्रोसँग वर्षा भएको महाशाखाकै मौसमविद् सरोज पुडासैनी बताउँछन् । ‘यो प्रणाली पश्चिममा सक्रिय हुने हुँदा पश्चिमी क्षेत्रमा राम्ररी पानी परेको छ,’ उनले भने । हुम्ला, मुगुको रारा क्षेत्र, डोल्पा, जोमसोम, बाजुरा, दार्चुलामा राम्रोसँग हिउँ परेको पुडासैनीले जानकारी दिए । उनका अनुसार हिउँ मापन गर्न विभागको ३ हजार मिटर उचाइभन्दा माथि स्टेसन कम छन् ।
