काठमाडौँ — स्पष्टीकरण सोध्नकै लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कात्तिकयता भ्रमण आदेश स्वीकृत नगरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । मन्त्रीले मंगलबार सोधेको स्पष्टीकरण घिसिङले आज बुझाएका हुन् ।
घिसिङले बिहीबार बुझाएको स्पष्टीकरणको बुँदा नम्बर २ मा स्पष्टीकरण सोध्नकै लागि उक्त भ्रमण आदेश स्वीकृत नगरिएको प्रस्तुत स्पष्टीकरणबाट प्रकट भएको उल्लेख गरेका छन् ।
'२०८१ भदौ र असोज महिनाको भ्रमण गर्दाको हकमा मन्त्रीज्युबाट भ्रमण आदेश स्वीकृत भएको तर त्यसपछिका दिन पूर्वजानकारी गराई भ्रमणमा गई फर्केकामा सो अवधिको भ्रमण आदेश स्वीकृतिका लागि विधिवत् पेस भएकामा हालसम्म पूर्वअभ्यास बमोजिम निकासा दिइएको छैन,' घिसिङले बुझाएको पत्रमा उल्लेख छ, 'यसबाट मलाई स्पष्टीकरण सोध्नकै लागि उक्त भ्रमण आदेश स्वीकृत नगरिएको प्रस्तुत स्पष्टीकरणबाट प्रकट भएको छ ।'
घिसिङले ०८१ साउनदेखि फागुन १३ सम्म करिब १४ पटक आन्तरिक र २ पटक भारत भ्रमणमा गएको बताएका छन् । उनले ऊर्जा मन्त्री खड्कासँगै ४ पटक आन्तरिक भ्रमणमा गएको पनि उल्लेख गरेका छन् ।
'माननीय मन्त्रीज्यूसँग २०८१ भदौ १२ मा मध्य भोटेकोशी जलविद्युत् कम्पनीको साइट कार्यालय, २०८१ भदौ २४ मा संखुवासभा, २०८१ असोज १० मा सुस्ता र २०८१ कात्तिक ३ मा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साइट कार्यालय काजमा गएको र सो बाहेक अन्य दिन एक्लै पनि गएको अवस्था छ,' उक्त पत्रमा छ ।
