सञ्जालमा उत्तेजना, समाजमा रमिता

बेथितिमाथि प्रश्न उठाउने सञ्चारमाध्यम, संस्था तथा व्यक्तिमाथि आधारहीन आरोप लगाउने र अरूले दोहोर्‍याउने प्रतिस्पर्धा

फाल्गुन १२, २०८१

किशोर दहाल, समर्पण श्री

Excitement in the network, enjoyment in society

काठमाडौँ — केही दिनयता सामाजिक सञ्जालमा लेखक तथा अभियन्तालाई डलर खाएर हिन्दु धर्मविरुद्ध लेखेको जस्ता आरोप लगाउने क्रम बढेको छ । दातृ संस्थासँग लेखकलाई जोडेर ‘राष्ट्रघाती’ र ‘हिन्दु धर्मविरोधी’ जस्ता आक्षेप लगाउने गरिएको छ । 

सामाजिक सञ्जालमा सामूहिक फोटो बनाएर लेखक तथा पत्रकारहरू कनकमणि दीक्षित, नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठक, कृष्ण धरावासी, कुन्द दीक्षित, अमर न्यौपाने, आहुति तथा सीमा आभासलाई गालीगलौज भइरहेको छ । उनीहरूले लेखेका पुस्तकको सूचीलाई पनि यूएसए, नर्वे तथा जर्मनीको कोलममा राखेर वर्गीकरण गरी पैसाकै लागि लेखिएको आरोप लगाइएको छ ।

यस्ता आरोप सुरुवातमा पोस्ट गर्ने वा फैलाउने काममा धार्मिक व्यक्ति, समूह वा तिनका नाममा खोलिएका वा बनाइएका अकाउन्ट, ग्रुप वा पेज सक्रिय देखिन्छन् । उनीहरूको प्रहारमा नयाँ संविधान र यसमार्फत कायम व्यवस्थाका समर्थक वा यसलाई थप जनमुखी बनाउनुपर्ने पक्षमा लेख्दै र बोल्दै आएका लेखक तथा अभियन्ता परेका देखिन्छन् । 

‘नेपाली समाजमा लोकतान्त्रिक आन्दोलनका लागि संघर्ष गरिरहेका नेता रोडमोडल रहेनन् । त्यसकारण दक्षिणपन्थ उचालियो,’ लेखक तथा पत्रकार वाग्लेले कान्तिपुरसँग भने, ‘अर्कोचाहिँ, मानिसको हातमा रहेको मोबाइलले पनि सामाजिक र मानसिक विकार ल्याएको छ । २४ घण्टा मोबाइलमा झुत्तिने, सामाजिक खबरबाट बेखबर रहने लत र कुलतको बीचमा विवेक छुट्टिन गाह्रो भएको छ । छद्म भेषमा नक्कली आईडी बनाएर कसैलाई रिसइबी साध्न र साइबर समूह बनाएर आक्रमण गर्न सजिलो भयो ।’ 

उल्लिखित लेखकहरू सबै हिन्दु धर्म, नेपाली भाषा, संस्कृतिका विरोधी हुन् भन्ने स्थापित गर्न खोजिएको छ । यसबारे कसैले पनि पुस्तकको कुनै अंश वा प्रसंगलाई सप्रमाण राखेर आलोचना गरेको पाइँदैन । एउटाले लगाइदिएको आरोपलाई अर्कोले फैलाउने काम मात्रै भएको छ, जसमा लेखक, कलाकार तथा अभियन्तालाई बदनाम गराउने, हैरानी दिने वा बिथोल्ने अभिप्रायः देखिन्छ ।

विदेशीसँग जोडेर गरिने यस्तो प्रचारलाई ‘षड्यन्त्रको सिद्धान्त’ पत्याउने जमातले सजिलै फैलाउँछ । सम्बन्धितलाई ‘मेन्सन’ गरेर हैरानी दिने प्रवृत्ति पनि छ, जसले गर्दा सामाजिक सञ्जालबाटै स्पष्टीकरण दिनुपर्ने बाध्यतामा लेखक, कलाकार र अभियन्ता पुगेका छन् ।

लेखक धरावासीले सोमबार फेसबुक लाइभमै आएर देश बेच्ने, भाषा, संस्कृति बेच्नेजस्ता आक्षेपको विपक्षमा प्रस्टीकरण दिनुपर्‍यो । ‘त्यो ठीक आक्षेप होइन, आक्षेपभन्दा पहिला लेखकका किताबभित्र पस्नुपर्‍यो, किताबमाथि प्रश्न गर्नुपर्‍यो, लेखक र तिनका फोटामाथि प्रश्न गर्ने होइन,’ उनले भनेका छन् ।

सामाजिक सञ्जालमा लाग्ने आरोपलाई सम्बन्धित पक्षले स्पष्टीकरण दिइरहे पनि आफूलाई सचेत भन्ने ठूलो समूह भने तबसम्म मौन बस्छ, जबसम्म त्यो विषयले आफूलाई छुँदैन । अरूलाई अप्रमाणित तर गम्भीर आरोप लगाइँदा मौन बस्ने समूह नै पालैपालो यस्तै आक्रमणको सिकार बन्दै आएको छ । नागरिक समाज पनि मौन बस्दा आरोप र लाञ्छना लगाउने समूहलाई झनै प्रोत्साहन पुगेको छ । 

कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठमाथि अमेरिकी विकास सहयोग नियोग (यूएसआईडी) को सहयोग लिएर हिन्दुविरोधी घृणाभाव फैलाएको आरोप लगाइएको छ । फेसबुक तथा एक्समा दर्जनौं यस्ता अकाउन्ट सक्रिय छन्, जसमा लेखक, कलाकार तथा अभियन्तालाई विदेशी पैसा लिएर धर्म संस्कृति मास्न सक्रिय भएको अपुष्ट आरोप पोस्ट गरिन्छन् । 

कलाकार आचार्य पनि अनर्गल प्रचार हुँदा डर लाग्ने गरेको बताउँछन् । ‘बुझ्ने व्यक्तिहरूले किन स्पष्टीकरण दिनुपर्‍यो, नबोली बस्नू भन्नुहुन्छ । तर आममान्छेलाई त्यस्तो कुरा पढिरहँदा हो कि क्या हो भन्ने लाग्छ । ५० औं वर्ष लगाएर बनेको छवि बिग्रन्छ कि भन्ने डर हुन्छ । अहिले आएको विषयमा १५/२० दिनसम्म नबोली बसिरहेका थियौं । थामिनसक्नु हुन थालेपछि फेसबुकमा धारणा राख्यौं,’ उनले भने । 

सामाजिक सञ्जालमा सञ्चारमाध्यमको नामै तोकेर आरोप लगाउने क्रम त यसअघि नै बढेको हो । खासगरी रास्वपाका संस्थापक सभापति रवि लामिछानेले सञ्चार गृह, प्रकाशक तथा सम्पादकको नामै तोकेर ‘१२ भाइ’ को ‘ट्याग’ लगाएपछि आलोचना र गाली बेइज्जतीबीच फरक छुट्टिन छोडेको हो । 

यस्तो समूहका अगुवाले जुनसुकै आधारहीन आरोप लगाए पनि समर्थकले त्यसैलाई दोहोर्‍याउने गरेका छन् । समाचार वा अभिव्यक्तिका विषय र त्यहाँ प्रयोग भएका सन्दर्भ विचार नै नगरी देशविरोधी, अमूक धर्मविरोधी, विदेशीजस्ता आरोप लगाउने प्रवृत्ति बढेको छ । अहिले फैलिएको आरोप त्यही प्रवृत्तिको विस्तृत रूप मात्रै भएको देखिन्छ ।

दबाबमा आएका लेखकले एकपछि अर्को गर्दै स्पष्टीकरण दिनुपरेको छ । सेतो धरती, करोडौं कस्तूरी र पानीको घामजस्ता किताबका सर्जक न्यौपानेले फेसबुकमा स्पष्टीकरण दिनुपरेको छ । उनले २०६५ मा जर्मनीबाट तत्कालीन जीटीजेडमार्फत ‘टाउन राइटर रेजिडेन्स प्रोग्राम’ लेखनवृत्तिको परियोजना आएको र त्यसअन्तर्गत भक्तपुरका लागि धरावासी, बुटवलका लागि भीष्म उप्रेती, धरानका लागि सीमा, धनगढीका लागि प्रकाश आङ्दम्बे र नेपालगन्जका लागि आफू छानिएको बताएका छन् । ‘त्यस दुईमहिने लेखनवृत्तिमा हामीले आआफ्नै शैली र शिल्प प्रयोग गरेर स्वतन्त्र किसिमले पाँच किताब लेख्यौं,’ उनले लेखेका छन् ।

न्यौपाने भन्छन्, ‘पहिलो किताब नै लेखनवृत्ति पाएर सम्बन्धित ठाउँको स्थलगत अध्ययन गरी लेख्न पाउनु मेरा लागि महत्त्वपूर्ण अवसर थियो । हामीले सकेसम्म सिर्जनशील भएर लेख्यौं । किनभने, हामी लेख्नका लागि विषय, विधा र सम्पूर्ण तरिकाले स्वतन्त्र थियौं ।’

आफूले लेख्दै नलेखेको लेखको विषयमा भ्रम फैलिएपछि गालीगलौज, अपशब्द प्रयोग र धम्कीपूर्ण म्यासेज पाएको लेखक सुमिनाले बताइन् । ‘सुरुमा त म चुप लागेर बसें, पछि स्पष्टीकरण लेखें’, उनले कान्तिपुरसँग भनिन्, ‘परिवारलाई समेत जोडेर जुन खालका गाली आइरहेका छन्, यसले मानसिक रूपमा धेरै विचलित बनाउँदो रहेछ ।’ 

लेखक न्यौपाने राजनीतिक संस्कारका कारणले पनि बिनाप्रमाण आक्षेप लगाउने प्रवृत्ति फैलिएको अनुभूति गर्छन् । उनी भन्छन्, ‘घृणा र उत्तेजना फैलाउने प्रवृत्ति बढेको छ, विभिन्न दलका नेताको छाप आममान्छेमा पर्‍यो । आरोप लगाइदिए पुग्छ । कुनै पनि विषय उठ्नासाथ गहिराइमा नपुगी टिप्पणी गर्छौं ।’

लेखक तथा अभियन्ता सञ्जीव उप्रेती नागरिक आन्दोलन अब सडकमा मात्रै नभएर सामाजिक सञ्जालमा पनि सक्रिय हुनुपर्ने बताउँछन् । ‘प्रगतिशील र उदार विचार राख्नेहरूले सामाजिक सञ्जालमा लेख्न थाले भने सामूहिक प्रतिरोध हुन्छ,’ उनी भन्छन्, ‘अहिले जे विषयलाई लिएर आक्रमण भइरहेको छ, त्यसविरुद्ध नबोल्ने हो भने उनीहरूले चाहेको भाष्य नै स्थापित हुन्छ । त्यसैले पनि सामूहिक रूपमा प्रतिरोध गर्न जरुरी छ ।’

साइबर कानुनका जानकार बाबुराम अर्याल भने सामाजिक सञ्जाल तथा सूचना प्रविधिको माध्यम सबैका लागि सजिलो भएकाले पनि विकृति देखिएको बताउँछन् । ‘त्यो सजिलो मोड उद्यमशीलता, अभिव्यक्ति स्वतन्त्रता वा गाली बेइज्जतीमा परिणत भएको छ,’ उनले भने, ‘मानहानि भएको हो भन्ने लागेको अवस्थामा मुलुकी अपराध संहिताको गाली बेइज्जतीसँग सम्बन्धित दफाअनुसार कानुनी उपचार खोज्न सकिन्छ ।’

सामूहिक प्रतिरोध गर्नुपर्छ : सञ्जीव उप्रेती, लेखक तथा नागरिक अभियन्ता

Excitement in the network, enjoyment in society

सामाजिक सञ्जालमा छद्म नामबाट आक्रमण गर्ने क्रम बढेको छ । सामाजिक सञ्जाल असामाजिक बन्दै गएको छ, संसारभरि नै दक्षिणपन्थी भाष्य बलियो भएको छ । दृष्टान्त भारत र अमेरिकालगायत देशमा देखिएका छन् । 

अहिले न्यायको आवाज उठाउने व्यक्ति र संस्थामाथि आक्रमण बढिरहेको छ । उनीहरूलाई डलरवादी भन्ने, आक्षेप लगाउने गरिएको छ । त्यसकारण कतिपय मान्छे यस विषयमा बोल्न सकिरहेका छैनन् । तर चुप हुनु लोकतन्त्रका लागि राम्रो होइन । आफ्नो विचार राख्नुपर्छ । अरूलाई लाञ्छना लगाएर, अरूलाई डिप्रेसनमा पुर्‍याएर बोल्न कोही पनि स्वतन्त्र छैनौं । यसले अर्को व्यक्तिको अधिकार हनन् हुन्छ ।

मलाई पनि सामाजिक सञ्जालमा गाली आइरहेको हुन्छ । सीमान्तकृत समुदायबारे आवाज उठाउँदा गाली आउँछ । म धैर्य गरेरै बस्छु । किनकि कति मान्छेलाई उनीहरूले जे गरिरहेका छन्, त्यही नै सिकाइएको हुन्छ । उनीहरूलाई आलोचनात्मक चेत कहिल्यै सिकाइएन । एक खालका मान्छे अरू कुरा नसोची त्यही विचारधारा लिएर अगाडि बढ्छन् । कति भने प्रायोजित नै हुन्छन् । 

नागरिक आन्दोलन सडकमा मात्र होइन, सामाजिक सञ्जालमा पनि चल्नुपर्छ । हामीले आआफ्नो तवरबाट प्रतिरोध गर्ने हो । प्रगतिशील चेतको मान्छेले सामूहिक रूपमा प्रतिरोध गर्‍यो भने प्रभावकारी हुन्छ । प्रतिरोध गरेन भने गलत मानसिकताले घृणा फैलाइरहेका मानिसले चाहेकै भाष्य स्थापित हुन्छ । त्यसकारण सबैले सामूहिक रूपमा बोलेर प्रतिरोध गर्नुपर्छ ।

किशोर दहाल कान्तिपुरको दैनिकको अप-एड व्युरोका संयोजक हुन् । उनी राजनीतिक इतिहास र संसदीय परम्पराबारे रुचि राख्छन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully