कोशी र गण्डकीका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

फाल्गुन १०, २०८१

कान्तिपुर संवाददाता

Chance of rain with thunder at some places of Koshi and Gandaki

काठमाडौँ — हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण आज कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली, सुदुरपश्चिमलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको र यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

कान्तिपुर

Link copied successfully