काठमाडौँ — ताप्लेजुङमा नो केबलकार समूह र प्रहरीबीच झडप, ७ सेल अश्रुग्यास प्रहार, १२ जना घाइते, सात महिनामा ४७ प्रतिशतले बढ्यो निर्यातदेखि हमासद्वारा ४ इजरायली बन्धकको शव हस्तान्तरणसम्मका खबर आज चर्चामा रहे ।
०००
ताप्लेजुङमा 'नो केबलकार समूह' र प्रहरीबीच बिहीबार दिउँसो झडप भएको छ । झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको छ । पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूहले बिहीबार ठूलो फेदीबाट पदयात्रा निकाल्दै केबलकार निर्माणस्थलतर्फ जाँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।
०००
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रुपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको बताएकी छन् । ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे पत्रकारहरुलाई जानकारी गराउँदै यस्तो बताएकी हुन् ।
०००
मुलुकको निर्यात व्यापार ४७ प्रतिशतले बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको व्यापार तथ्यांकअनुसार सात महिनामा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात गरेको हो । यो रकम गत आर्थिक वर्षको सोही अवधिमा ४६.५० प्रतिशतले बढी रहेको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो ७ महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।
०००
प्यालेस्टिनी समूह हमासले विहीबार चार इजरायली बन्धकको शव हस्तान्तरण गरेको छ । हमासले १५ महिनादेखि हमासले गाजा युद्धविराम सम्झौताको एक भागको रूपमा पहिलो पटक इजरायली बन्धकहरूको शव हस्तान्तरण गरेको छ। हमासले १५ महिनाअघि बन्धक बनाएका ८४ वर्षीय ओडेड लिफ्सिट्ज र सिरी विबास र उनका छोराछोरी एरियल र केफिरको शव हस्तान्तरण गरिएको हो । हमासले उनीहरूलाई ७ अक्टुबर २०२३ मा इजरायलबाट बन्धक बनाएर लगेको थियो ।
०००
युन वाडी र मे लुको दुई/दुई गोलको मद्दतले म्यानमारले फोर नेसन्स कपको बिहीबार भएको खेलमा किर्गिस्तानलाई ५–० ले सजिलै पराजित गरेको छ । प्रतियोगितामा म्यानमारको यो लगातार दोस्रो जित हो । यससँगै उसको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । म्यानमारले यसअघि आफ्नो पहिलो खेलमा लेवनानलाई पराजित गरेको थियो । कुल चार टिम सम्मिलित प्रतियोगितामा म्यानमारको ६ अंक भएको छ र लिग तालिकाको शीर्षमा छ ।
